लोड हुँदैछ...

मेनु

‘नेपालले भारतको भूमि मिचेको प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ती, रेकर्डबाट हटाउन माग

‘नेपालले भारतको भूमि मिचेको प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ती, रेकर्डबाट हटाउन माग

विराटनगर। । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले प्रतिनिधिसभामा दिएको ‘नेपालले पनि भारतको केही भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्तिप्रति गम्भीर प्रश्न उठेको छ ।

सांसदहरूले उक्त अभिव्यक्तिमाथि प्रश्न उठाउँदै संसदको रेकर्डबाट हटाउन माग गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले नेपाल–भारत सीमा, विशेषगरी लिम्पियाधुरा–लिपुलेक क्षेत्रको विषयमा सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भारतले मात्र नभई नेपालले पनि केही स्थानमा भारतको भूमि मिचेको जानकारी आफूले प्रधानमन्त्री भएपछि पाएको बताएका थिए।

प्रधानमन्त्री शाहले भनेका थिए, “यो विषय कूटनीतिक रूपमा टेबल टक गरेर समाधान गर्नुपर्ने विषय हो। मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। हामीले पनि मिचेका छौँ, उहाँहरूले पनि मिच्नुभएको छ। साथीका रूपमा बसेर समाधान गर्ने सोच राखेका छौँ।”

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले राष्ट्रिय अखण्डता र सार्वभौमसत्तासँग जोडिएको विषयमा प्रधानमन्त्रीले अत्यन्त गम्भीर अभिव्यक्ति दिएको भन्दै त्यसलाई संसदको रेकर्डबाट हटाउन माग गरेका छन्। सांसद मल्लले राष्ट्रिय सीमासम्बन्धी विषय संविधानले समेत अपरिवर्तनीय मानेको उल्लेख गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुकको राष्ट्रिय हितमा प्रश्न उठाएको बताए।

कुनै पनि देशका सरकार प्रमुखले आफ्नो देशले अर्को देशको भूमि मिचेको कुरा संसदको रोष्ट्रमबाट सार्वजनिक रूपमा भन्नु गम्भीर विषय भएको मल्लको टिप्पणी छ ।“राष्ट्रिय अखण्डताको विषयमा आँच आउने खालको अभिव्यक्ति प्रधानमन्त्रीबाट आएको छ। यस्तो गम्भीर विषयलाई सामान्य रूपमा प्रस्तुत गर्न मिल्दैन। संसदले यसलाई सच्याउनुपर्छ र उक्त अभिव्यक्ति रेकर्डबाट हटाइनुपर्छ,” उनले भने।

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ। कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीले तथ्यका आधारमा बोलेका हुन् भने नेपालले भारतको कुन भूभाग मिचेको हो भन्नेबारे संसदलाई जानकारी गराउनुपर्ने बताइन्।

“प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको छ भन्नुभएको छ। त्यो कहाँ हो रु संसदलाई जानकारी गराउनुपर्‍यो। यदि तथ्यसहितको कुरा हो भने प्रमाण प्रस्तुत गर्नुपर्छ, होइन भने उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाइनुपर्छ,” थापाले भनिन्।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई लिएर नेपाल र भारतबीच लामो समयदेखि सीमा विवाद रहँदै आएको छ। यही विषयमा उठेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति अहिले संसदभित्र मात्र होइन, राजनीतिक वृत्तमा समेत बहसको विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।