लोड हुँदैछ...

मेनु

देशभरका विद्यालयमा शनिबार र आइतबार दुई दिन बिदा दिन सरकारको अर्को निर्देशन

देशभरका विद्यालयमा शनिबार र आइतबार दुई दिन बिदा दिन सरकारको अर्को निर्देशन

विराटनगर । नेपाल सरकारले देशभरका विद्यालयहरूमा हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा एकरूपता ल्याउन सबै स्थानीय तहलाई निर्देशन दिएको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै गाउँपालिका र नगरपालिकालाई सोमबार पत्राचार गर्दै विद्यालय सञ्चालनमा एकरूपता कायम गर्न अनुरोध गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयको निर्णय र विशेष अनुरोधका आधारमा संघीय मामिला मन्त्रालयले स्थानीय तहहरूलाई यस्तो परिपत्र गरेको हो।

सरकारको निर्णय अनुसार २०८२ साल चैत २३ गतेदेखि नै सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार दुई दिन बिदा दिने व्यवस्था लागू भइसकेको छ। तर, विद्यालयहरूको हकमा केही अन्योल देखिएकाले देशभरका सम्पूर्ण विद्यालयमा यो व्यवस्था अनिवार्य रूपमा लागू गराई सार्वजनिक बिदामा एकरूपता कायम गर्न शिक्षा मन्त्रालयले समन्वयका लागि पत्राचार गरेको थियो। शिक्षा मन्त्रालयको सोही पत्रलाई आधार मान्दै संघीय मामिला मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई पत्र पठाएर विद्यालयहरूमा दुई दिने बिदाको निर्णय कार्यान्वयन गर्न भनेको छ।

यस व्यवस्थासँगै अब देशभरका विद्यालयहरूमा सरकारी कार्यालय सरह नै हप्ताको दुई दिन सार्वजनिक बिदा हुने भएको छ। विद्यालय सञ्चालन र बिदाको विषयमा स्थानीय तहहरूले आफ्नै ढंगले निर्णय गर्दा आउन सक्ने विसंगतिलाई हटाउन र राष्ट्रिय नीति अनुसार नै शैक्षिक संस्थाहरूलाई पनि अगाडि बढाउन यो कदम चालिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गरी यो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक सहजीकरण गर्न समेत निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।