लोड हुँदैछ...

मेनु

एक महिने लामो स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै

एक महिने लामो स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको हिन्दू धर्मावलम्बीको कठिन एवं श्रद्धाको पर्व ‘स्वस्थानी व्रत’ आज माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गरिँदैछ । एक महिनासम्म घरघरमा स्वस्थानी कथा वाचन गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजाआजा गरेका बर्तालुहरूले आज विशेष विधिअनुसार व्रत साङ्गे गर्न लागेका हुन् । स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने क्रम पनि आजैदेखि अन्त्य गरिँदैछ ।

विधिपूर्वक एकमहिने व्रत गरेका बर्तालुले आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी र १०८ अक्षताका साथै विभिन्न थरीका फलफूल, धुप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाई आफ्नो कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिने परम्परा छ । यसरी चढाइएका प्रसादमध्ये सबैबाट आठ(आठ वटा रोटी र फलफूल पतिलाई, पति नभए छोरालाई, छोरा पनि नभए मित छोरालाई दिने र ती पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि रहेको छ ।

पूजा सकिएपछि बर्तालुले फलाहार गरी रातभर जाग्राम बस्ने र जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने र सुनाउने गर्दछन् । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानकी देवी भन्ने बुझिन्छ । उत्तरायणपछिको समय ध्यान, योग र साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि गरिन्छ । सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी र चार हातमा क्रमशः नीलकमल, खड्ग, ढाल र वरदमुद्रा लिएकी देवीलाई स्वस्थानीका रूपमा पूजा गरिन्छ ।

धार्मिक विश्वासअनुसार विधिपूर्वक यो व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुने, रोगव्याध निको हुने र पति वा पत्नीका रूपमा इच्छाएको व्यक्ति प्राप्त हुने जनश्रुति छ । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको र गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रत विधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । सोही व्रतकै प्रभावले गोमाका छोरा नवराज लावण्य देश ९हालको साँखु क्षेत्र० को राजा भएको इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिनुभयो ।

उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिँदैछ । यहाँ करिब १६२ महिला र १५ पुरुषले एक महिनासम्म कठोर व्रत गरेका छन् । आज मध्याह्नकालपछि विधिपूर्वक पूजा लगाई रात्रिमा जाग्राम बसी भोलिपल्ट बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा।डा। देवमणि भट्टराईले बताउनुभयो । आजको दिनलाई नेवार समुदायले भने ‘सि पुन्हि’ का रूपमा मनाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।