लोड हुँदैछ...

मेनु

परीक्षामा जफत गरिएका १ करोड बढी मूल्यका मोबाइल र स्मार्टवाच सिरहामा नष्ट

परीक्षामा जफत गरिएका १ करोड बढी मूल्यका मोबाइल र स्मार्टवाच सिरहामा नष्ट

सिरहा । सिरहामा परीक्षा मर्यादा विपरीत प्रयोग गरिएको अभियोगमा जफत गरिएका १ करोड रुपैयाँभन्दा बढी मूल्यका मोबाइल फोन र स्मार्टवाचहरू नष्ट गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ सिरहाको प्राङ्गणमा स्थानीय जनप्रतिनिधि, शिक्षा समितिका पदाधिकारी र सञ्चारकर्मीहरूको रोहबरमा ती सामग्रीहरू नष्ट गरिएको हो ।

नष्ट गरिएका उपकरणहरूमा ७ वटा आईफोन, ४ सय ८९ वटा एन्ड्रोइड फोन र ५ वटा स्मार्टवाच रहेका छन् । ती सामग्रीहरूको बजार मूल्य अनुमानित १ करोड रुपैयाँभन्दा बढी रहेको कार्यालयले जनाएको छ ।

मधेस प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग भएको पाइएमा नष्ट गर्ने घोषणा गरेकी थिइन् । सोही निर्देशन र परीक्षा सञ्चालन निर्देशिका विपरीत मोबाइल प्रयोग भएको ठहर गर्दै समन्वय समितिले ती सामग्री नष्ट गर्ने निर्णय गरेको हो । उपकरण व्यवस्थापनका लागि शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा जिल्ला प्रशासन, प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि सम्मिलित ५ सदस्यीय उपसमिति गठन गरिएको थियो ।
प्रहरीले जफत गरिएका अधिकांश मोबाइल फोनहरू पानी भरिएको ड्रममा २४ घण्टासम्म डुबाएर नष्ट गरेको छ । ‘वाटरप्रुफ’ सेटहरूलाई भने पहिले ढुङ्गा वा औजारले फुटाएर मात्र पानीमा हालिएको थियो । प्राविधिक रूपमा ती सेटहरू पुनः प्रयोग गर्न नमिल्ने सुनिश्चित गरेर मात्र यो प्रक्रिया अपनाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार पालले यो निर्णय प्रहरीको एकल नभई समन्वय समितिको सामूहिक निर्णय भएको स्पष्ट पारेका छन् । यस्तै, जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेलले जफत गरिएका मोबाइल लिलाम गर्दा भविष्यमा सुरक्षा चुनौती (डाटा चोरी वा दुरुपयोग) आउन सक्ने भएकाले नष्ट गर्नु नै उपयुक्त विकल्प भएको दाबी गरे ।

प्रहरीले मोबाइल नष्ट गरेको भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भने यो कदमको तीव्र आलोचना भएको छ । धेरैजसो प्रयोगकर्ताले अभिभावकले दुःख गरेर किनिदिएको महँगो मोबाइल नष्ट गर्नुको सट्टा जरिवाना तिराएर फिर्ता दिनुपर्ने धारणा राखेका छन् । मानवीय संवेदनाको ख्याल नगरिएको र सरकारी स्तरबाटै सम्पत्तिको क्षति गरिएको भन्दै यो कदमलाई उग्र संज्ञा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।