काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल तीन दिने औपचारिक भ्रमणका लागि आज ९शुक्रबार० भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्दैछन् । भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले भारतीय विदेशमन्त्री जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । सो अवसरमा नेपाल र भारतबीचको व्यापार, लगानी, पूर्वाधार विकास, कनेक्टिभिटी, ऊर्जा व्यापार र जनस्तरको सम्बन्धलगायत पारस्परिक हितका विविध विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले यस भ्रमणलाई दुई देशबीच हुँदै आएको नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको निरन्तरताका रूपमा लिएको छ । यस भ्रमणबाट नेपाल र भारतबीचको बहुआयामिक र दीर्घकालीन सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
परराष्ट्रमन्त्री खनाल जेठ २४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
यसैबीच, सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको भ्रमण पूरा गरी आजै स्वदेश फर्कँदैछन् । केही दिनदेखि भारतमा रहेका लामिछानेले त्यहाँ उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए । रास्वपा सभापति लामिछाने नेतृत्वको टोली स्वदेश फर्कने दिन नै परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जानुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।