विराटनगर । ओखलढुङ्गा जिल्लाको स्वास्थ्य सेवाको मेरुदण्ड मानिने जिल्ला अस्पताल रुम्जाटार अहिले उपचार भन्दा बढी बेथिति र आर्थिक अनियमितताको केन्द्र बनेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टेकराज भट्टराईले पदीय दुरुपयोग गर्दै आफ्नै नातेदारलाई नियमविपरीत जागिर खुवाउँदा अस्पतालको आन्तरिक ढुकुटी रित्तिएको मात्र छैन, विशेषज्ञ सेवा समेत ठप्प हुन पुगेको छ ।
घटनाको सुरुवात गत साउनबाट भएको हो । अस्पतालमा शल्यक्रिया सेवा सुरु गर्ने बहानामा कुनै विज्ञापन नगरी र प्रतिस्पर्धा नै नगराई नवौँ तहको दरबन्दी नै नभएको ठाउँमा एमडिजिपी डाक्टर सञ्जय पोखरेललाई नियुक्त गरियो ।
सरकारी नियम अनुसार नवौँ तहका चिकित्सकको मासिक तलब ५२ हजार ४७० रुपैयाँ र सत प्रतिशत प्रोत्साहन भत्ता (इनसेन्टिभ)गरी कुल १ लाख ४ हजार ९ सय ४० रुपैयाँ मात्र हुन्छ । तर, अध्यक्ष भट्टराईले आफ्ना नातेदार पोखरेललाई अस्पतालको आन्तरिक कोषबाट मासिक ३ लाख ५० हजार रुपैयाँ तलब दिने गरी ठाडो सम्झौता गरे । अस्पताल विकास समितिले चिकित्सक राख्दा अनिवार्य १५ दिने सार्वजनिक सूचना र अन्तर्वार्ता गर्नुपर्ने कानुनी व्यवस्थालाई पूर्णतः बेवास्ता गरिएको पाइएको छ ।
रुम्जाटार अस्पतालको वार्षिक आन्तरिक आम्दानी करिब ४० देखि ४२ लाख रुपैयाँको हाराहारीमा छ । विडम्बना के छ भने, एकजना चिकित्सकलाई वार्षिक ४२ लाख रुपैयाँ नै तलब खुवाउने सम्झौता गरियो । अस्पतालको टिकट, ल्याब र भर्नाबाट संकलन हुने सम्पूर्ण रकम एकै व्यक्तिको खल्तीमा जाने भएपछि अस्पतालको दैनिक प्रशासनिक खर्च चलाउन समेत संकट पैदा भएको थियो ।
तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रवि कुमार यादवले यो नियुक्ति प्रक्रिया सुरुदेखि नै त्रुटिपूर्ण रहेको र अस्पतालले यो व्ययभार धान्न नसक्ने चेतावनी दिएका थिए । तर, अध्यक्ष भट्टराईले डा. पोखरेललाई आफ्नो आफन्त भन्दै जुनसुकै हालतमा राख्न दबाब दिएको डा। यादवको आरोप छ । डा. पोखरेलले अध्यक्ष भट्टराईलाई ‘भिनाजु’ भन्दै सम्बोधन गर्ने गरेका थिए ।
डा. यादवका अनुसार, कोष तथा लेखा नियन्त्रण कार्यालयको बैठकमा अध्यक्ष भट्टराईले नियमविपरीतको भुक्तानी नगरे मेसुको ‘घाँटी काट्ने’ र ‘बरु जेल जाने’ सम्मको धम्की दिएपछि त्रसित भएर तीन महिनाको तलब भुक्तानी गरिएको थियो ।
अस्पतालकी वर्तमान निमित्त मेसु डा. अमृता श्रेष्ठका अनुसार डा.पोखरेलको हाजिरीमा समेत ठूलो कैफियत पाइएको छ । उनी दशैँ–तिहारको बिदामा बसेको र प्रदेशको परीक्षा दिन गएको समयमा पनि अस्पतालमै उपस्थित रहेको भन्दै हाजिरी ढड्डामा कीर्ते गरिएको छ । हाल ५ महिना १० दिनको तलब बाँकी रहेको भन्दै डा.पोखरेलले श्रम अदालतमा मुद्दा हालेका छन् ।
यो व्यक्तिगत स्वार्थको ठूलो मूल्य ओखलढुङ्गाका सर्वसाधारणले चुकाउनु परेको छ । डा. पोखरेलले अस्पताल छाडेपछि विगत ४ महिनादेखि शल्यक्रिया सेवा पूर्ण रूपमा ठप्प छ । करोडौँका शल्यक्रिया उपकरणहरू प्रयोगविहीन भएर खिया लाग्ने अवस्थामा पुगेका छन् । जटिल सुत्केरी वा एपेन्डिसाइटिसका बिरामीले अहिले पनि लाखौँ खर्चेर हेलिकप्टर वा एम्बुलेन्समा काठमाडौँ धाउनुपर्ने बाध्यता छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टेकराज भट्टराईले डाक्टरसँगको आफ्नो नाता स्वीकार गरेका छन् । ‘डाक्टरका ससुरा मेरा जेठान हुन्,’उनले भने । उनले तत्कालीन मन्त्रालयकी सचिव राधिका थपलियाको मौखिक सहमतिको आधारमा नियुक्ति गरिएको दाबी गरे पनि कानुनी प्रक्रिया किन मिचियो भन्नेमा कुनै स्पष्ट जवाफ दिएनन् । भट्टराई हाल जिल्ला समन्वय समितिका प्रमुख समेत हुन् ।
यसअघि प्रदेश सरकारले सोही पदमा विज्ञापन खुलाउँदा डा.पोखरेलले नाम निकालेर नियुक्ति पत्र बुझे पनि उनी अस्पतालमा हाजिर हुन गएनन् र बाटोबाटै अन्यत्र जागिर खान गएका थिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।