एजेन्सी । रूसले राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारी निवासमा युक्रेनले ड्रोन हमला गरेको आरोप लगाएको छ।
रूसी विदेशमन्त्री सर्गेई लाभरोभले रूसको उत्तरपश्चिम नोभगोरोड क्षेत्रमा रहेको पुटिनको सरकारी निवासलाई लक्ष्य गरेर युक्रेनले ड्रोन हमला गरेको आरोप लगाएका हुन्। विदेशमन्त्री लाभरोभले राष्ट्रपति पुटिनको निवासलाई लक्ष्य गरेर आइतबार राति रातभरि ९१ वटा ड्रोन हमला गरेको आरोप लगाएका छन्।
यही घटनालाई लिएर रूसले शान्ति वार्तामा आफ्नो अडान पुनरावलोकन गर्ने चेतावनीसमेत दिएको भनेर बिबिसीले लेखेको छ। विदेशमन्त्री लाभरोभले टेलिग्राम च्यानलमार्फत विज्ञप्ती जारी गरी पुटिनको निवासतर्फ आएको भनिएको सबै ड्रोन रूसी हवाई प्रतिरक्षा प्रणालीबाट खसालेको दाबी गरेका छन्। आक्रमणबाट मानवीय र भौतिक क्षति नभएको पनि उनले बताएका छन्।
विदेशमन्त्री लाभरोभले युक्रेनलाई ‘राज्य आतंकवाद’को नीति अपनाएको आरोप लगाउँदै रुसको वार्तास्थितिमा पुनरावलोकन हुने चेतावनी दिएका छन्। त्यसका बाबजुद, अमेरिकासँगको वार्ता प्रक्रिया भने नछोडिने उनले बताएका छन्।
ड्रोन हमला हुँदा पुटिन कहाँ थिए भन्ने विषयमा भन्ने खुलेको छैन। घटनाबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत चासो देखाएका छन्। सोमबार इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग भेटवार्तापछि पत्रकारहरूले पुटिनको घरलाई लक्ष्य गरेर युक्रेनले ड्रोन हमला गरेको आरोपबारे सोधेका थिए।
जबाफमा ट्रम्पले त्यसको सूचना आफूले पनि प्राप्त गरेको बताएका छन्। ट्रम्पले पुटिन आफैले फोन गरेर आक्रमणबारे जानकारी दिएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
‘तपाईंहरूलाई थाहा छ मलाई कसले दियो जानकारी ? पुटिनले। उहाँले फोन गरेर आफू आक्रमणमा परेको बताउनुभयो,’ ट्रम्पले पत्रकारहरूसँग भने । उनले त्यसरी आक्रमण गर्नु राम्रो नहुने बताए।
‘यो त्यस्ता गतिविधि गर्ने यो समय उचित होइन। मैले यो कुरा राष्ट्रपति पुटिनबाटै थाहा पाएँ। त्यो सुनेर म साह्रै रिसाएँ पनि,’ ट्रम्पले पत्रकारहरूसँग भने। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रूसी आरोपको खण्डन गरेका छन् । उनले यसलाई शान्ति वार्ता भाँड्न र युक्रेनमाथि आक्रमण जारी राख्न क्रेमलिनले रूसले बहान बनाएको आरोप लगाएका छन्।
‘अहिले विश्व चुप लागेर बस्नु हुँदैन। दिगो शान्ति स्थापना गर्ने प्रयासलाई रुसले कमजोर पार्न दिनु हुँदैन,’ उनले भनेका छन्। यो घटनाक्रम अमेरिका र युक्रेनबीच फ्लोरिडामा भएको उच्चस्तरीय वार्तापछि सार्वजनिक भएको हो।
फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच युद्ध अन्त्यका लागि संशोधित शान्ति योजनाबारे छलफल भएको थियो। वार्तापछि जेलेन्स्कीले सन् २०२६ भित्र युद्ध अन्त्य हुने सम्भावना रहेको बताए पनि अमेरिकी सहयोगबिना युक्रेनले युद्ध जित्न नसक्ने स्पष्ट पारेका थिए।
अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजसँगको अन्तर्वार्तामा जेलेन्स्कीले राष्ट्रपति ट्रम्प रुसमाथि कडा आर्थिक तथा प्रतिबन्धात्मक कदम चाल्न तयार देखिएको उल्लेख गर्दै यसले शान्ति प्रक्रिया छिटो अघि बढ्न सक्ने बताए। तर, उनले पुटिनमाथि आफूलाई कुनै विश्वास नरहेको र रुस शान्तिका लागि इच्छुक नदेखिएको पनि दोहोर्याए। जेलेन्स्कीका अनुसार अमेरिकाले युक्रेनलाई १५ वर्षका लागि सुरक्षा ग्यारेन्टीको प्रस्ताव गरेको छ। यस विषयमा करिब ९५ प्रतिशत सहमति भइसकेको छ।
तर, भू–भागसम्बन्धी विषय र रुसको नियन्त्रणमा रहेको जापोरिज्झिया परमाणु ऊर्जा केन्द्रको भविष्य अझै समाधान हुन बाँकी रहेको उनले बताए। डोनबास क्षेत्रको विषयमा पनि खास प्रगति देखिएको छैन। हाल रुसले दोनेत्स्क क्षेत्रको करिब ७५ प्रतिशत र छिमेकी लुहान्स्क क्षेत्रको झन्डै ९९ प्रतिशत भूभाग नियन्त्रणमा लिएको छ। यी दुई क्षेत्रलाई संयुक्त रूपमा डोनबास भनिन्छ, जसलाई रुस पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिन चाहन्छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।