विराटनगर । अमेरिकाले गैरकानुनी रूपमा बसोबास गरिरहेका ७५ जना नेपाली नागरिकलाई एकैपटक स्वदेश फिर्ता (डिपोर्ट) गरेको छ। शुक्रबार एक चार्टर्ड विमानमार्फत ६ महिलासहित ७५ जना नेपालीलाई काठमाडौँ ल्याइएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरका अनुसार अमेरिकी सरकारले आफ्नै विमानमार्फत उनीहरूलाई डिपोर्ट गरेर नेपाल पठाएको हो। अमेरिकामा बस्नका लागि आवश्यक कानुनी आधार र कागजात नभएकाहरूलाई त्यहाँको सरकारले डिपोर्ट गर्दै आएको छ।
डोनाल्ड ट्रम्पले दोस्रो पटक अमेरिकी राष्ट्रपतिको शपथ लिएसँगै आप्रवासीहरूमाथि कडा नीति अख्तियार गरिएको छ। ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता मात्रै ४६३ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ। यसअघि गत भदौ १९ गते पनि अमेरिकाले ३७ जना नेपालीलाई यसैगरी चार्टर्ड विमानबाटै डिपोर्ट गरेको थियो। त्यस्तै, २०८२ जेठ २५ गते पनि एकैसाथ ३७ जना नेपाली स्वदेश फर्काइएका थिए।
विमानस्थलमा आइपुगेका नेपालीहरूलाई प्रक्रिया पुर्याएर नेपाल प्रहरीको जिम्मा लगाइएको छ। उनीहरूलाई थप सोधपुछ र अनुसन्धानका लागि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा लगिएको छ।
ब्यूरोका अनुसार डिपोर्ट भएर आएकाहरूमध्ये कोही मानव तस्करको ठगीमा परेका भए उनीहरूलाई उजुरी दर्ता गर्न आह्वान गरिएको छ। केही व्यक्तिहरूले मानव तस्करविरुद्ध उजुरीसमेत दिएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।