लोड हुँदैछ...

मेनु

सिड्नीको हनुक्का उत्सवमा गोलीबारी हुँदा १५ जनाको मृत्यु

सिड्नीको हनुक्का उत्सवमा गोलीबारी हुँदा १५ जनाको मृत्यु

काठमाडौंं । अस्ट्रेलियाको सिड्नीस्थित बन्डी बीचमा आयोजित यहुदीहरूको पर्व ‘हनुक्का’ उत्सवलाई लक्षित गरी भएको गोलीबारीमा एक बालिकासहित १५ जनाको मृत्यु भएको छ। आइतबार भएको यो बीभत्स घटनापछि इजरायली नेतृत्वले अस्ट्रेलिया सरकारको कडा आलोचना गर्दै त्यहाँ यहुदी विरोधी भावना (एन्टिसेमिटिजम) नियन्त्रण गर्न असफल भएको आरोप लगाएको छ।

सिड्नीको प्रसिद्ध बोन्डी समुद्र तटमा हनुक्काको पहिलो रातको अवसरमा ‘हनुक्का बाय द सी’ कार्यक्रम आयोजना गरिएको थियो। सोही कार्यक्रममा अन्धाधुन्ध गोली प्रहार हुँदा १० वर्षीया बालिकासहित १५ जनाको ज्यान गएको न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले पुष्टि गरेका छन्।

घटनास्थलमा खटिएका प्रहरीसहित ४२ जनालाई घाइते अवस्थामा अस्पताल लगिएको छ। प्रहरी आयुक्त माल लान्योनका अनुसार आक्रमणमा ५० वर्षीय बाबु र २४ वर्षीय छोराको संलग्नता देखिएको छ। प्रहरीको जवाफी कारबाहीमा ५० वर्षीय बाबुको मृत्यु भएको छ भने २४ वर्षीय छोरा गम्भीर घाइते अवस्थामा छन्।

प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीसँग हतियारको लाइसेन्स थियो र उनको नाममा ६ वटा हतियार दर्ता थिए। घटनास्थलबाट थप ६ वटा हतियार बरामद गरिएको छ। साथै, दुईवटा सक्रिय विस्फोटक उपकरण (बम) फेला परेकोमा प्रहरीले त्यसलाई सुरक्षित रूपमा निष्क्रिय पारेको छ। आक्रमणको यकिन उद्देश्य भने अझै खुल्न सकेको छैन।

घटनापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अस्ट्रेलियाली सरकारको कडा आलोचना गरेका छन्। उनले क्यानबेराले लामो समयदेखि यहुदी विरोधी भावनालाई बढ्न दिएको आरोप लगाए। नेतान्याहुले अस्ट्रेलियाले प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गरेपछि आफूले प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई लेखेको पत्र स्मरण गर्दै भने, ‘तपाईंहरूको नीतिले यहुदी विरोधको आगोमा तेल खन्याइरहेको छ। नेताहरू मौन बस्दा यहुदी विरोध क्यान्सरझैँ फैलिन्छ।’

इजरायली विदेशमन्त्री गिडियोन सारले आफ्ना अस्ट्रेलियाली समकक्षी पेनी वोङसँगको फोनवार्तामा अक्टोबर ७ पछि अस्ट्रेलियामा इजरायल र यहुदी समुदायविरुद्ध हिंसात्मक उक्साहट बढेको भन्दै कडा कारबाहीको माग गरे। राष्ट्रपति आइज्याक हर्जोगले आक्रमणलाई ‘अत्यन्तै क्रूर’ भन्दै अस्ट्रेलियालाई ‘यहुदी विरोधको विशाल लहर’ विरुद्ध उभिन आह्वान गरेका छन्। राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन गभिरले अस्ट्रेलियाली सरकारले आतंकवादलाई वैधानिकता दिएको आरोप लगाएका छन् भने विपक्षी नेता यायर लापिदले तत्काल अन्तर्राष्ट्रिय कदम चाल्नुपर्ने बताएका छन्।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले घटनालाई ‘दुष्टता, यहुदी विरोध र आतंकवादको कार्य’ भन्दै भर्त्सना गरेका छन्। ‘यहुदी अस्ट्रेलियालीमाथि भएको आक्रमण प्रत्येक अस्ट्रेलियालीमाथिको आक्रमण हो, उनले भने। प्रधानमन्त्री अल्बानिजले समाजबाट यहुदी विरोधी भावनालाई पूर्ण रूपमा उन्मूलन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।