कोशी प्रदेश सरकारको मनमोहन प्राविधक विश्विद्यालयको डिन डाः रेखा श्रेष्ठ ईन्जिनियर मात्र नभएर नेपालमा न्युन संख्यामा रहेका महिलाहरुको तर्फबाट स्टकचरल (भौतिक संरचनात्मक) ईन्जिनिरिङको अनुभवी विज्ञ हुन । रसियाबाट ईन्जिनियरिङमा मास्टर्स र स्टक्चरल ईन्जिनियरिङमा पिएचडी गरेकी रेखा सिभील , ईन्डस्ट्रियल लगायतका ईन्जिनिरियरिंङगमा पनि बिशेष दक्षता राख्छिन । नेपाल ईन्जिनियरिङ कलेजमा सात बर्ष निर्देशक भइसकेकी ईन्जिनियर रेखाले दश बर्ष यूएनको संयुक्त्त राष्ट्र सुरक्षा नेपालको बरिष्ठ संरचनात्मक ईन्जियर भएर पनि अनुभव हासिल गरेकी छन । उनको विज्ञताले गर्दा नै उनलाई (सूचीकृत विशेषज्ञ) को रूपमा नामांङकन गरिएको छ । संरचनात्मकसँगै भूकम्प–मूल्याङ्कन पनि उनको विज्ञता छ राष्ट्रिय कलेज अफ इन्जिनियरिङको बोर्ड सलाहकार रहिसकेकी डा रेखा आफ्नो कन्सल्टेन्सी कम्पनीमार्फत संरचनात्मक डिजाइन र परामर्श–परियोजनाहरूमा संलग्न छिन् । अन्तराष्ट्रि स्तरमा महिला इन्जिनियरिङको पक्षमा पटक पटक वकालत गरिसकेकी छन । महिला बिशेषज्ञ ईन्जिनियर बनेर अनि नेतृत्व नै लिएर व्यावसायिक र प्राविधिक क्षेत्रमा सक्रियता देखाएकोले उनी राष्ट्रिय अन्तराष्ट्रिय रुपमा चिनिएकी छन । यसैले ईन्जिनियरिङ मंचहरूमा उनको प्रस्तुति र योगदानले समाजमा उनलाई प्रतिष्ठित पनि मानेको छ । दक्ष र अनुभवी विज्ञ भएकोले उनले नेपालको पोस्ट–भूकम्प रिकभरी दस्तावेजमा आफनो नाम लेखाइसकेकी छन । नेपालमा २०७२ मा गएको ठुलो भूकम्पपछि भएका अध्ययन–रिपोर्ट÷विकास कार्यक्रममा डा रेखाले सक्रृय सहभागिता जनाइसकेकी छन । प्रस्तुछ विज्ञ अनुभवि ईन्जिनियर डा रेखा श्रेष्ठसँग असल ईन्जिनियरिङ र अनुशासनकालागि गरेको कुराकानी :
केही गरेर देखाउन मनमोहन आएँ ।
कोशी प्रदेशमा पुर्वााधार विकासको प्रचुर संभावना छ । तर आफनै दक्ष ईन्जिनियरहरु कमछन । सडक, भवन, स्वास्थ्य–शिक्षा, जलविद्युत र जलस्रोत व्यवस्थापनमा अझै धेरै ठूला संरचनाहरुको खाँचो छ । म भक्त्तपुरकी रैथाने । काठमाण्डौबसेर धेरै समय जिम्मेवारी वहन गरे । मलाई मनमोहन नयाँ प्राविधिक विश्वविद्यालय हो । बजेट सिमित छ । चुनौती धेरैछन भन्ने थाहा भएरै मैले एप्लाई गरेकी हुँ । चुनौती मोलेर काम गर्न मलाई आनन्द आउँछ । फेरि मनमोहनको ऐनमा पनि डिन हुन अनुभवी पिएचडी भनेकोले धेरैले आबेदन नै गर्न सकेनन । म महिला र दक्ष बिशेषज्ञ भएकोले पनि प्राथमिकतामा परेको हुँला । कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालयको दोस्रो डिन हुनपाएँदा म दंग छु । पदाधिकारी र कर्मचारीहरुसँग सहकार्य राम्रो छ । युनिभर्सिटीको परीक्षा , पढाई र ल्यावहरु पनि राम्रा छन । विज्ञ र अनुभवी अनि निरन्तर आफनो काममा मात्र प्रतिबद्ध हुनेभएकोले म मनमोहनमा केही गरेर देखाउने अठोट लिएको छु । मेरो चारबर्षे कार्यकालमा कम्तीमा दुई वटा ईन्जिनियरिङको मास्टर्स कार्यक्रमहरु सञ्चालन गराउँछु ।एमटियूलाई उद्योग र सरकारसँग जोडछु । अन्तराष्ट्रिस्तरमा चिनाउन प्रयत्न गर्छु ।
महिलामैत्री संरचनाका लागि महिला ईन्जिनियरहरु नेतृत्वमा पुग्नुपर्छ ?
नेपालमा महिला ईन्जिनियरहरुका चुनौती धेरैछन । सामाजिक र लैङ्गिक बाधाहरुले धेरै महिलालाई इन्जिनियरिङ पेशामा आउन अझै कठिनाइ छ । तर पछिल्लो समय धेरै महिलाहरु इन्जिनियरिङमा भर्ना हुँदैछन् । मध्यम बर्गीय शिक्षित परिवारको भएको र स्कुलदेखी नै गणितमा दक्ष भएकोले मैले ईन्जिनियर पढेकी हुँ । रसियाबाट मास्टर्स अनि पिएचडी सकेपछि मैले सन१९९८देखी प्राध्यापन पेशा थाले । सोसल ईन्जिनियरिङका लागि ऐच्छिक कोर्ष तयार गरें । मेरो अनुभव र विज्ञताले भन्छ महिला हामी इन्जिनियरहरुसँग नेपालको पूर्वाधार विकास ( भौतिक संरचना , ऊर्जा , वतावरण ) मा योगदान दिन महत्वपूर्ण अवसर छ । तर लैङ्गिक समानता र विकास दुवैका लागि महिला ईन्जिनियरहरुको संख्या १३ प्रतिशतमा सिमित नराखेर अझै बढाए ३३ प्रतिशत पुरयाउनुपर्छ ।
अझैपनि कार्यालय र मन्त्रालयहरुमा महिला ईन्जिनियरहरु नेतृत्वमा पुगेका छैनन । निजी र सरकारी दुवै क्षेत्रको नेतृत्व तहमा पुरयाउनुपर्छ । महिला ईन्जिनियरहरु नेतत्वमा पुगेभने सबै संरचनाहरु महिलामैत्री बनाउन सकिन्छ । जस्तो प्रकाशयुक्त सडक, गल्ली, पार्क, बसपार्क– महिला सुरक्षा डेस्कसहित बसपार्क स्ट्रीट लाइट सहित सुरक्षित सडक ,हिला–मैत्री सार्वजनिक शौचालय,महिला आराम कक्ष , स्ननपान कक्ष , सिटी टिभी सहित सुरक्षित पार्क , महिलाका लागि साइकल लेन ,अस्पतालमा मेटेरिनरी प्रतिक्षालय , बजारमा महिला उद्यमीलाई सेफ भेन्डिङ एरिया, शिक्षालयहरुमा महिनावारी व्यस्थापन सुविधा अनि अँध्यारा मोडहरु हटाउने, सिसीटिभी अनिवार्य राख्ने, खुला र दृश्यता बढी हुने संरचना निमाृण गर्ने राति हिँड्न सहजपथहरुको डिजाइन गर्ने आदि ।
असल ईन्जनियर बन्ने योग्यता ।
ईन्जिनियर धेरै प्रकारका हुन्छ । सिभिल , ईले्रकल , कम्पयुटर ,आर्किटेक्चर,मेकानिक , एप्लाईड सफटवेयर,वतावरण ,बायोमडिकल , एग्रिकल्चर, बाटर रिर्सोट केमिकल , ईण्डिस्ट्रियल , आदि । तर सबै ईन्जिनियरले पढेर सफल भएर मात्र पुग्दैन असल पनि हुनुपर्छ ।
गणित,भौतिकशास्त्र र तर्क मापनमा अनुशासित हुनुपर्छ ।हरेक ईन्जिनिरहरुले कसरी दिगो डिजाइन बनाउने भनेर सोच्नुपर्छ । सूक्ष्म विवरण बुझेपछि सही विश्लेषण गरेर मात्र निर्णय लिनुपर्छ यो वा त्यो वहानामा प्रभावित हुनुहुँदैन । सानो गल्तिले पनि भवन भत्किन सक्छ। विद्युत् लाइन सर्ट हुन सक्छ । मेसिन बिग्रन सक्छ । योजना परियोजना प्रभावित हुन्छन । त्यसैले ईन्जिनियरको डिजाइन, रेखाचित्र मापन सबै अत्यन्तै शुद्ध हुनुपर्छ । अर्को इन्जिनियरको हस्ताक्षर उनीहरुको इमानदारिता र पेशागत निष्ठासँग जोडिन्छ । भ्रष्टाचार, गुणस्तरहिन काम र कागजी खेलबाडले मानिस मात्र नभएर अन्य जीवहरुको पनि ज्यान जोखिममा पार्न सक्छ।
दक्ष ईन्जिनियरहरुमा व्यवहारिक सीप , सर्बे क्षमता , आईसिटीको ज्ञान , परियोजना र संरचना विश्लेषण डेटा विश्लेषण ,सर्भे उपकरणहरु अनि नापजाँच तथा मापनका औजारहरूहरुको राम्रो ज्ञान हुनुपर्छ ।। प्रविधि हरेक वर्ष बदलिन्छ यसैले निरन्तर सिकिरहने , कमजोरी सुधार्ने र अनुसन्धान गरिरहने बानी हुनुपर्छ ।
वातावरण, पानी , ऊर्जा दिगोपन मजदुर,ठेकेदार,सरकारी अधिकारी,ग्राहकसबैलाई स्पष्ट बोल्न र बुझाउने क्षमता हुनुपर्छ । अरुले बुझेनन भने परियोजना बिग्रन्छ र पैसा र समय अनि मेहनतको लगानी खेरजान्छ । टीममा काम गर्ने क्षमता हुनुपछ । कुनै परियोजना होस वा , पुल , अस्प्ताल, भवन र सडकहरु ह्ुन ईन्जिनियर एक्लैले बनाउनैसक्दैन ।
ईन्जिनियरहरुले समाजिक दायित्व पुरा गर्नुपर्छ ।
ईन्जिनियरहरु पनि यहि समाजमा अङगहुन । कुनै अर्को ग्रहबाट आएका हैनन । समाजको विकास भनेकै देशको विकास हो । आफुमात्र विकास भएर देशको विकास हुदैन । अझ ईन्जिनियहरु त भौतिक विकासको मेरुदण्ड नै हुन । यसैले हामी ईन्जिनियरहरुले पनि नाफामुखी मात्रै भइदिनुहदैन । आफनो समाजमा पुर्वाधार संरचनाहरु बनाउन सकेको सहयोग गर्नुपर्छ । मन्दिर , श्यामसानघाट , रंगशाला, सामुदायिक भवन , साना सडकहरु , नालाकल्भर्टहरु अनेक निर्माणको नक्सार बनाउन , डिपीआर गर्न र बनाउने संरचनाहरुबारे सल्लाह दिन र बनेकाहरुको अनुगन गरिदिएर समाजिक उत्तरदायित्व पुरागर्न सकिन्छ । जस्तो पश्चिम जाजरकोटमा रहेको ऐतिहासिक भव्य दरवार किन खण्डहरमा परिणत हुनेकारण नै त्यहाँ दरवार संरक्षणका लागि कुनै पुर्वाधार बनेका थिएनन । बनेका भए , त्यो पर्यटनको महत्वपुर्ण केन्द्र बन्नसक्थयो ।
ईन्जिनियरले भ्रष्टरलाई सहयोग गर्नैहुँदैन
हामी ईन्जिनियरहरुले भ्रष्टचारलाई सहयोग गर्नु भनेको आचारसंहिता विपरित हो । आफनो अनुशासन( ईथिक्स) मा बस्नैपर्छ । मैले आजसम्म भ्रष्टचार नगरेकोले ईन्जिनियरहरुले के कसरी भ्रष्टचार गर्छन धेरै थाहा छैन । तर हामी ईन्जिनियरहरुले जानाजानी कमजोर डिजाइन बनाउने , आवश्यकभन्दा धेरै र कम अनि गुणस्तरहिन निर्माण सामग्री प्रयोग गराउन दिनुहुदैन । गुणस्तरहिन र असुरक्षित रुपले बनेका संरचनाहरु स्विकृतीमा कुनै सम्झौता गर्न हुदैन । विल भुक्त्तानीमा हेरफेर गर्न हुदैन । ठेक्काप्रकृया खेलाउने , निर्माणमा ढिलासुस्ती गर्ने र परियोजना लम्ब्याउने ,अबैध कमिसन माग्ने भुकम्प प्रतिरोधी नभएका संरचनालाई ठिक हो भन्ने , मनपर्दी गलत टेस्टिङ भएका र टेस्टिङ नै नभएका मटेरियलहरु प्रयोग गर्न स्विकृती दिनुहुदैन । प्रकृया पुगेका फाइलहरु रोक्नुहुदैन । डिजाइन महंगो बनाउने , अनावश्क कन्टसटेन्सी थप्ने , फिल्डमा जान अल्छि गर्ने अनि ठेकदारहरुसँग मिलिभगत गर्ने कुराहरु पनि ईन्जिनियरहरुको अनुशासन विपरित कार्य हुन । निर्माण कार्य , डिपिआर , टेस्टिङंग प्रतिवेदन , लगात सहितको सम्झौता पत्र र गुणस्तर प्रतिवेदन सबै पारदर्शी गराउनुपर्छ । ईन्जिनियर गलत परेभने व्यक्त्ति , सँस्था वा सरकारको लगानी मात्र खेर जाँदैन विकास नै धेरै बर्ष पछि धकेलिन्छ ।
कोशी सरकारले चाहेमा पुर्ननिर्माणमा सघाउँछौ
जेनजी आन्दोलनमा भदौ २४ गते कोशी प्रदेशको राजधानी विराटनगर र मोरङ जिल्लाका महत्वपुर्ण सार्वजनिक संरचनाहरु जलेर ध्वस्त भएको सुनेपछि मन मारेर बसिरहन सकिएन। यसैले हामीले समाजिक उत्तरदायित्व ठानेर विश्वविद्यालयमा पढाउने शिक्षक ईन्जिनियरहरुले सल्लाह गरेर जलेका धवन महानगरपालिका , मुख्यमन्त्री कार्यालय र मन्त्रालयहरु अनि सुन्दरहरैचना नगरपालिका भवन निशुल्क ऋनुगमन गरयौ । त्यसको विस्तृत प्रतिवेदन पनि तयार पारयौ । ईन्जिनियरिंङ भाषामा समान्य क्षति पुगेको संरचनालाई हरियो , विस्तृत अध्यनपछि सृदृढिकरण गरेर बस्ने मिल्नेलाई पहेलो र धेरै क्षति भएकोलाई रातो स्टिकर दिईन्छ । हामीले पनि त्यसै गरयौ । सरकारले हतारमा लतारपतार गरेर पुर्ननिर्माण गर्न हुदैन र पुर्ननिर्माणको वहानामा नष्ट गर्न नहुने मुल्यवान संरचनाहरु पुरै भत्काउनु पनि हुदैन । विज्ञ ईन्जिनियरहरुको सल्लाह अनुसार ऐतिहासिकता र जोखिम विश्लेषण गरेर पुर्ननिर्माण गराउनुपर्छ । ईन्जिनियरहरुले त विश्लेषण सहित प्रतिवेदन दिने हो निर्णय गर्ने अधिकार त सरकारलसँग मात्रै हुन्छ । मनमोहन विश्वविद्यालय कोशी प्रदेश सरकारले चाहेमा पुर्ननिमार्णमा सहयोग गर्न तयार छ ।
(गणेश लम्सालसँगको कुराकानीमा आधारित )



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!