लोड हुँदैछ...

मेनु

विराटनगरका प्रमुख प्रशासकीय अधिकृत दुलालको विदाई, शर्मा आउने

विराटनगरका प्रमुख प्रशासकीय अधिकृत दुलालको विदाई, शर्मा आउने

विराटनगर । विराटनगर महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतबाट सरुवा भई भूमि व्यवस्था विभागमा जान लागेका योगेन्द्रप्रसाद दुलाललाई महानगरले बिदाइ गरेको छ।

महानगर परिसरमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न शाखा–महाशाखाका प्रमुखहरूले दुलालको कार्यकालको प्रशंसा गर्दै सम्मानपूर्वक बिदाइ गरेका हुन्।

बिदाइ समारोहमा महानगरका मेयर नागेश कोइरालाले दुलालले चुनौतीपूर्ण परिस्थितिमा समेत प्रशासनिक नेतृत्व सम्हाल्दै महानगरको सेवा प्रवाहलाई प्रभावकारी बनाउन महत्वपूर्ण योगदान दिएको बताए। उनले दुलालले कार्यभार सम्हालेको समय देशव्यापी आन्दोलन तथा त्यसबाट सिर्जित असहज अवस्थाले स्थानीय तह प्रभावित भए पनि विराटनगर महानगरले प्रशासनिक नेतृत्वकै कारण छिट्टै नियमित कामकाजलाई गति दिन सफल भएको उल्लेख गरे।

‘कठिन परिस्थितिमा पनि प्रशासनिक संयमता, समन्वय क्षमता र निर्णय गर्ने दक्षताका कारण महानगरले आफ्नो नियमित कार्यसम्पादनलाई प्रभावकारी रूपमा अघि बढाउन सफल भयो,’ मेयर कोइरालाले भने। उपमेयर शिल्पा निराला कार्कीले दुलालको कार्यशैली, इमान्दारिता र समन्वयकारी भूमिकाको प्रशंसा गर्दै महानगरको संस्थागत सुदृढीकरणमा उनले पुर्‍याएको योगदान स्मरणीय रहने बताइन्।

वडा नं. १ का अध्यक्ष काजीबहादुर बस्नेतले दुलाललाई कर्मठ, अनुशासित र परिणाममुखी प्रशासकका रूपमा चित्रित गरे। उनले प्रशासनिक सुधार, कर्मचारी व्यवस्थापन तथा विकास आयोजनाको कार्यान्वयनमा दुलालको भूमिका उल्लेखनीय रहेको बताए।

२०७२ भदौ ४ गते प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी सम्हालेका दुलालले विराटनगरमा बिताएको समय आफ्नो जीवनको महत्वपूर्ण अध्याय भएको बताए। उनले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य, विश्वास र आत्मीय सम्बन्धले काम गर्न सहज वातावरण सिर्जना गरेको उल्लेख गरे।

दुलालले महानगरमा रहँदा प्राप्त सहयोग, सद्भाव र सहकार्यका लागि जनप्रतिनिधि तथा कर्मचारीप्रति आभार व्यक्त गर्दै आगामी जिम्मेवारीमा पनि स्थानीय तहसँगको सहकार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। सामान्य प्रशासन महाशाखाका प्रमुख अर्जुन थपलियाले सहजीकरण गरेको कार्यक्रममा जनप्रतिनिधि, महाशाखा प्रमुख, शाखा प्रमुख तथा कर्मचारीहरूले खादा, माला र अविर लगाएर दुलाललाई सम्मानपूर्वक बिदाइ गरेका थिए।

दुलालको सरुवापछि विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी झापा निवासी विजयकुमार शर्माले सम्हाल्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।