विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेदलाई सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको गम्भीर अपराधका रूपमा चित्रण गर्नुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले विभेदमुक्त र सभ्य समाज निर्माणका लागि सबै नागरिकलाई थप प्रतिबद्ध बन्न आह्वान गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले दिवसका अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सामाजिक सद्भावको शुभकामना व्यक्त गर्दै यसले मानव मर्यादा, समानता र सामाजिक न्यायको संरक्षण एवं प्रवर्द्धनमा प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । विसं २०६३ जेठ २१ गते नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष यो दिवस मनाइँदै आइएको छ ।
शुभकामना सन्देशमा राष्ट्रपतिले नेपालको संविधानले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गर्दै सबै प्रकारका विभेद अन्त्य गरी आर्थिक समानता र सामाजिक न्याय सुनिश्चित गर्ने सङ्कल्प गरेको उल्लेख गर्नुभएको छ । उहाँले जातीय विभेदजस्ता अमानवीय व्यवहारको अन्त्य केवल कानुनी व्यवस्थाबाट मात्र सम्भव नहुने स्पष्ट पार्दै त्यसका लागि समाजका सबै तह र वर्गमा चेतना, सहिष्णुता र पारस्परिक सम्मानको भावना विकास हुनु अपरिहार्य रहेको बताउनुभयो ।
“जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो,” राष्ट्रपति पौडेलले सन्देशमा भन्नुभएको छ, “सामाजिक जागरण र सबैमा समभावको विकास गर्न सबै जात–जाति र समुदायबिच आपसी सद्भाव, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनु पर्दछ ।” उहाँले जातीय विभेदविरुद्ध दृढतापूर्वक उभिँदै लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउन तीनै तहका सरकार, राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मीलाई अझ बढी संवेदनशील हुन विशेष आग्रह समेत गर्नुभएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।