लोड हुँदैछ...

मेनु

विराट मेडिकल कलेजमा एआई प्रविधियुक्त अल्ट्रासाउन्ड सेवा

विराट मेडिकल कलेजमा एआई प्रविधियुक्त अल्ट्रासाउन्ड सेवा

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल (बीएमसीटीएच) ले अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सक्षम जीई सिग्नेचर अल्ट्रासाउन्ड (यूएसजी) मेसिन सञ्चालनमा ल्याएको छ।

अस्पतालका अनुसार नेपालमै पहिलोपटक एआई प्रविधियुक्त उक्त अल्ट्रासाउन्ड मेसिन सेवा सञ्चालनमा आएको हो।

नयाँ प्रविधि सञ्चालनमा आएसँगै पूर्वाञ्चलका बिरामीले अब आफ्नै क्षेत्रमा आधुनिक तथा गुणस्तरीय डायग्नोस्टिक सेवा प्राप्त गर्न सक्ने भएका छन्। अस्पतालले परम्परागत अल्ट्रासाउन्डको तुलनामा एआई प्रविधियुक्त मेसिनले शरीरका भित्री अंगहरूको अझ स्पष्ट, सूक्ष्म र उच्च गुणस्तरको तस्बिर उपलब्ध गराउने जनाएको छ।

अस्पतालका अनुसार मेसिनमा जडान गरिएका एआई टुलहरूले अंगहरूको संरचना स्वतः पहिचान गरी स्वचालित रूपमा नाप लिन सक्ने क्षमता राख्छन्। यसले परीक्षणमा हुने मानवीय त्रुटिको सम्भावना न्यून बनाउनुका साथै रिपोर्टको शुद्धता बढाउने अपेक्षा गरिएको छ।

एआई प्रविधिका कारण परीक्षण प्रक्रिया करिब ४० प्रतिशतसम्म छिटो हुने अस्पतालको दाबी छ। यसबाट बिरामीले रिपोर्टका लागि लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ। साथै हाई–डेफिनेसन थ्रीडी र फोरडी इमेजिङ सुविधाले रोग पहिचान र उपचारसम्बन्धी निर्णय लिन चिकित्सकलाई थप सहज बनाउने बताइएको छ।

अस्पतालका प्रशासन प्रमुख प्रमेशराज देवकोटाले अत्याधुनिक प्रविधि भित्र्याउनु अस्पतालका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनका अनुसार अब सटिक निदानका लागि बिरामीहरू काठमाडौं वा विदेश धाउनुपर्ने अवस्था कम हुने अपेक्षा गरिएको छ।

विराट मेडिकल कलेज टिचिङ हस्पिटलले एआई प्रविधिको प्रयोगसँगै आफ्नो डायग्नोस्टिक सेवा अझ छिटो, भरपर्दो र प्रभावकारी बन्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।