लोड हुँदैछ...

मेनु

कोशीको तराईमा ‘तातो दिन’को सम्भावना, राति प्रदेशका केही स्थानमा वर्षा हुने

कोशीको तराईमा ‘तातो दिन’को सम्भावना, राति प्रदेशका केही स्थानमा वर्षा हुने

विराटनगर– कोशी प्रदेशको तराई भूभागमा आज अत्यधिक गर्मी बढ्ने (तातो दिन हुने) सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको तराई क्षेत्रमा आज तापक्रम बढेर जनजीवन प्रभावित हुन सक्ने देखिएको हो ।

यद्यपि, आज राति भने कोशी प्रदेशका केही स्थानमा मौसममा परिवर्तन आई हल्का वर्षाको समेत सम्भावना रहेको छ । महाशाखाका अनुसार आज राति कोशी र मधेस प्रदेशका साथै देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

हाल नेपालको पश्चिम भूभाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभावका कारण मुलुकभरकै मौसममा आंशिकदेखि सामान्य फेरबदल देखिएको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने छ भने तराईका भूभागमा आंशिक बादल लाग्नेछ । कोशीसँगै मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा पनि आज ‘तातो दिन’ हुने सम्भावना छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा आज चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी र मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी भूभागमा आंशिक बादल र तराईमा मौसम मुख्यतया सफा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।