पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा गएको पहिरोका कारण ६ वटा टोल प्रभावित भएका छन् ।
बेमौसमी वर्षापछि गत जेठ ८ गते गएको पहिरोले २६ घर उच्च जोखिममा परेका छन् भने करिब ७० घर जोखिममा रहेका छन् ।
याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार साविक च्याङथापू गाविसअन्तर्गत ठिङ्गेपुर–कोप्चे, बिरुवा, पेरुङ्गे, चाम्लिङडाँडा, एकराते, खोलाघारी र सुन्दरपुर टोल प्रभावित भएका हुन् ।
पहिरोले चाम्लिङडाँडाका महमलाल खवास र कविरमान खवास तथा कोप्चेका गङ्गाराम बेघाको घर बगाएको छ । अन्य घरहरू पनि जोखिमपूर्ण अवस्थामा रहेको वडाध्यक्ष खालिङले बताए ।
‘कसैको घरमाथिबाट पहिरो गएको छ भने कसैको घरमुनिबाट जमिन भासिएको छ,’ उनले भने, ‘पानी पर्नासाथ स्थानीय त्रसित भएर सुरक्षित स्थानतर्फ भाग्नुपर्ने अवस्था छ ।’
बाढीपहिरोका कारण पशुचौपाया बग्नुका साथै खेतीयोग्य जमिन र अलैँची बगानमा समेत क्षति पुगेको छ ।
च्याङथापू क्षेत्रमा तीन वर्षअघि पनि भीषण वर्षापछि पहिरो गएको थियो । विसं २०८० असार ३ गते मेवाखोलासहित विभिन्न खोलामा आएको बाढीले चोक, खोलाघारी र एकरातेलगायतका बस्ती प्रभावित बनेका थिए ।
यसपटक पहिलेभन्दा ठूलो वर्षा भएकाले थप क्षति पुगेको वडाध्यक्ष खालिङले बताए । ‘तीन वर्षअघि पहिरोले ध्वस्त बनाएको अवस्था फेरि दोहोरिएको छ,’ उनले भने ।
जिल्ला समन्वय समितिका पूर्वसदस्य नरबहादुर गुरुङका अनुसार प्रभावित क्षेत्रमा अझै त्रासको अवस्था कायम छ । ‘बादल लाग्नेबित्तिकै मानिसहरू दिउँसै सुरक्षित स्थानतर्फ भाग्नुपर्ने अवस्था छ,’ उनले भने, ‘बाढीले खोलाकिनारका धेरै संरचना बगाएको छ ।’
बाढीपहिरोले आठ वटा सिँचाइ योजना, तीन वटा खानेपानी योजना ध्वस्त बनाएको छ भने तीन वटा झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ ।
पुष्पलाल (मध्यपहाडी) राजमार्गको च्याङथापू खण्ड, फाक्लुङ–फालोट मोटरबाटो, च्याङथापू–समरजुङ तथा च्याङथापू–लामपोखरी सडकमा समेत क्षति पुगेको छ । च्याङथापू–लामपोखरी सडक अवरुद्ध हुँदा सुकाढापस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्टमा सामग्री ढुवानी प्रभावित भएको छ ।
सडक अवरुद्ध भएपछि ५० जनाभन्दा बढी विद्यार्थीको विद्यालय आवतजावत प्रभावित भएको छ भने गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षणमा समेत समस्या भएको स्थानीयले बताएका छन् ।
तीन वर्षअघिको बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण नहुँदै पुनः क्षति भएपछि स्थानीयले यस क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन् ।
याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार वडा नं १, २ र ३ मा बढी क्षति पुगेको छ भने वडा नं ४ र ५ मा सामान्य आंशिक क्षति भएको छ । वडा कार्यालयहरूले क्षतिको विवरण सङ्कलन गरिरहेका छन् ।
बाढीपहिरोपछि पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत ओयाम–च्याङथापू–चिवाभञ्ज्याङ सडक खण्ड अवरुद्ध भएको छ । उपाध्यक्ष मेन्याङ्बोका अनुसार ओयामबाट सडक खुलाउने काम सुरु गरिएको छ ।
‘सडक सफा गरेर वडा नं ३ को फलामखोलासम्म सम्पर्क स्थापित गरेका छौँ, बाँकी काम जारी छ,’ उनले भने ।
सडक अवरुद्ध भएपछि च्याङथापू र फलैँचा पुग्न कठिन भएको तथा राहत वितरणसमेत प्रभावित भएको गाउँपालिकाले जनाएको छ । हाल स्थानीय जनप्रतिनिधिमार्फत क्षतिको विवरण सङ्कलन भइरहेको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।