लोड हुँदैछ...

मेनु

दण्डहीनताले घरभित्रै अपराध बढायो

दण्डहीनताले घरभित्रै अपराध बढायो

पहिले पनि लैङ्गिक हिंसाका घटनाहरू हुन्थे, तर अहिलेको तथ्याङ्क हेर्दा स्थिति निकै चिन्ताजनक देखिन्छ । सुशासनको कुरा गरिए पनि कोशी प्रदेशमा अहिले हिंसाका घटनाहरू ह्वात्तै बढेका छन् ।

अहिले घरभित्रै हिंसा हुनुको मुख्य कारण समाजमा व्याप्त ‘दण्डहीनता’ हो । ‘अहिले जे गरे पनि हुन्छ’ भन्ने खालको मानसिकता विकास भएको देखिन्छ । यसले गर्दा घरभित्रै आफ्नै श्रीमती वा प्रेमिकालाई दबाउने र हिंसा गर्ने प्रवृत्ति बढेको छ । प्रहरी–प्रशासनले आफ्नो ठाउँबाट काम त गरेको छ, तर समाज र घरभित्रको यो सोच बदल्न निकै कठिन भइरहेको छ ।
हिंसाको मुख्य कारण ‘शक्ति र शक्तिहीनता’ बीचको खाडल हो । शक्ति हुनेले कमजोरमाथि शासन गर्न खोज्ने प्रवृत्ति समाजमा हाबी छ । “म पुरुष हुँ, मैले जे गरे पनि हुन्छ’’ भन्ने पितृसत्तात्मक सोच र “म श्रीमान् हुँ वा म प्रेमी हुँ, मैले जे भन्यो त्यही हुनुपर्छ’’ भन्ने अहङ्कारले गर्दा हिंसा जन्मिएको छ । बेरोजगारी, आर्थिक असमानता र पितृसत्तात्मक सामाजिक संरचनाले यसलाई थप प्रश्रय दिएको छ ।

त्यस्तै, सामाजिक सञ्जालको दुरुपयोग अहिले हिंसाको एउटा ठूलो माध्यम बनेको छ । मानिसहरूमा एक–अर्काप्रति शङ्का गर्ने प्रवृत्ति बढेको छ । प्रेमीले प्रेमिकाको पासवर्ड माग्ने, सामाजिक सञ्जालमार्फत ब्ल्याकमेल गर्ने र चरित्र हत्या गर्ने घटनाहरू सामान्य हुन थालेका छन् । अझ अहिले त एआई मार्फत नक्कली भिडियोहरू बनाएर मानिसहरूलाई मानसिक तनाव दिने र साइबर अपराध गर्ने प्रवृत्ति पनि बढेको छ । अन्य देशहरूमा बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध वा कडाइ गरिए जस्तै नेपालमा पनि यसको नियमन हुनु जरुरी छ ।

तसर्थ, कोशी प्रदेशलाई जोखिमपूर्ण क्षेत्रका रूपमा पहिचान गरी राज्यले ठोस र प्रभावकारी कार्यक्रमहरू ल्याउनु पर्छ । केवल प्रहरीले मात्र अपराध नियन्त्रण गर्न सक्दैन । यसका लागि आम नागरिक, सामाजिक संघ–संस्था र सरकार सबैको चौतर्फी प्रयास आवश्यक छ । घटना घटिसकेपछि प्रहरीकहाँ जाने त छँदैछ, तर घटना घट्नै नदिनका लागि सामाजिक सचेतना र संगठित प्रयास हुनुपर्छ । पछिल्लो समय कोशी प्रदेशमा नाबालिकहरूमाथि हुने बलात्कार र यौनजन्य दुव्र्यवहारका घटनाहरू पनि अत्यन्तै बढेका छन्, जुन समाजका लागि लज्जास्पद र चुनौतीपूर्ण छ ।

(मनोविमर्शकर्ता तथा दीर्घकालीन पुनःस्थापना केन्द्र, कोशी प्रदेशको अध्यक्ष समेत रहेकी मन्जिता उपाध्ययसँगको कुराकानीमा आधारित )

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।