विराटनगर । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय खोटाङले सम्झौता अनुसार काम नगर्ने ९ वटा निर्माण कम्पनीको बैंक ग्यारेन्टी जफत गर्न सम्बन्धित बैंकहरूलाई पत्राचार गरेको छ ।
कार्यालयका सूचना अधिकारी राजत पोखरेलका अनुसार विभिन्न सडक तथा स्तरोन्नति योजनाको ठेक्का लिएर समयमै काम नगरेपछि निर्माण कम्पनीहरूको धरौटी जफत प्रक्रियाअघि बढाइएको हो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित दुईचुप्ला हुँदै बुतेपाछाको साकेलाथान–मुढेटोल सडक, साकेला गाउँपालिका–५ बरडाँडा पलंका तावादोभान टुकुरे दोभान हुँदै दिखुवा दोभान सडक तथा भगरपुरदेखि कुरिमा सडक योजनाको ठेक्का लिएको सेल्मे कन्स्ट्रक्सन खोटाङको बैंक ग्यारेन्टी तान्न जेठ ५ गते नेपाल बैंक लिमिटेडलाई पत्राचार गरिएको लेखा अधिकृत सीताराम राउतले बताए ।
यी योजनामध्ये दुईचुप्ला–बुतेपाछा सडक १५ लाख ८७ हजार रुपैयाँ, बरडाँडा–दिखुवा दोभान सडक १५ लाख ७६ हजार रुपैयाँ तथा भगरपुर–कुरिमा सडक २८ लाख ७३ हजार रुपैयाँको लागतमा निर्माण सम्झौता गरिएको थियो । सबै योजना आगामी जेठ ३१ गतेभित्र सम्पन्न गर्ने गरी सम्झौता भएका थिए ।
त्यस्तै, दिक्तेल रूपाकोट मझुवागढी–१३ नुनथालास्थित मूलडाँडा–गैरी चामखर्क सडक स्तरोन्नति तथा हलेसी तुवाचुङ नगरपालिकाको राजापानी धितुङ–हलेसी सडकअन्तर्गत एक्लेबर जोरकुवा पन्थे सडक स्तरोन्नतिको ठेक्का लिएको राना साम्पाङ कन्स्ट्रक्सन प्रालिको बैंक ग्यारेन्टी जफतका लागि पनि नेपाल बैंक लिमिटेडलाई पत्राचार गरिएको छ ।
मूलडाँडा–गैरी चामखर्क सडक १५ लाख १७ हजार रुपैयाँ तथा एक्लेबर जोरकुवा पन्थे सडक १८ लाख ४९ हजार रुपैयाँको लागतमा निर्माण सम्झौता भएको थियो ।
यस्तै, दिक्तेल रूपाकोट मझुवागढी–७ दोर्पा चिउरीडाँडास्थित मेवाखोला दुम्ली दोबेला सडक स्तरोन्नतिको ठेक्का लिएको एसआर दोर्पा जेभी खोटाङको धरौटी जफत गर्न कृषि विकास बैंक दिक्तेल शाखालाई पत्राचार गरिएको छ । उक्त योजना ३९ लाख २९ हजार रुपैयाँ लागतमा निर्माण गर्ने सम्झौता भएको थियो ।
केपिलासगढी गाउँपालिका–१ फेदीस्थित फेदी–धोद्रे सडक स्तरोन्नतिको ठेक्का लिएको विश्वहाङ कन्स्ट्रक्सनको बैंक ग्यारेन्टी जफत गर्न माछापुच्छ्रे बैंक टेम्के मैयुङ शाखा भोजपुरलाई पत्राचार गरिएको छ । यो योजना १८ लाख ३३ हजार रुपैयाँ लागतमा निर्माण गर्ने सम्झौता भएको थियो ।
त्यसैगरी दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित पोखरे जामुने साँगुटार सडक स्तरोन्नतिको जिम्मा लिएको इमो बिल्डर्स प्रालि खोटाङ, दिप्रुङ चुइचुम्मा–४ बतासेस्थित जगन्नटार वारेम्तुङ हुँदै मुसुरीडाँडासम्म सडक स्तरोन्नतिको ठेक्का लिएको पिनाकल इन्जिनियरिङ प्रालि भक्तपुर तथा हलेसी तुवाचुङ नगरपालिकास्थित चुलिमापे सडक निर्माणको जिम्मा लिएको पिके निर्माण सेवा कटारी उदयपुरलाई पनि पत्राचार गरिएको कार्यालयले जनाएको छ ।
यी योजनामध्ये पोखरे जामुने साँगुटार सडक २३ लाख ७१ हजार रुपैयाँ, जगन्नटार–मुसुरीडाँडा सडक १२ लाख ४७ हजार रुपैयाँ तथा चुलिमापे सडक १७ लाख ४३ हजार रुपैयाँको लागतमा निर्माण सम्झौता गरिएको थियो ।
निर्माण अवधि सकिन लाग्दा पनि अधिकांश योजनामा काम सुरु नभएपछि बैंक ग्यारेन्टी जफत प्रक्रियाअघि बढाइएको पूर्वाधार विकास कार्यालय खोटाङले जनाएको छ । केही योजनामा भने आंशिक रूपमा काम सुरु भएको सूचना अधिकारी पोखरेलले बताए ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।