गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको राजनीतिक इतिहासमा एउटा महत्वपूर्ण मोड सिर्जना गरेको छ।दशकौँसम्म सत्ता र शक्तिको केन्द्रमा रहेका परम्परागत राजनीतिक शक्तिहरू जनमतको कठोर परीक्षणमा असफल देखिए।यो केवल एउटा चुनावी हार मात्र होइन । यो जनविश्वासको गहिरो क्षय हो, संगठनभित्रको संचित विकृतिको विस्फोट हो, र विचार र व्यवहारबीचको वर्षौँदेखिको अन्तरले जन्माएको स्वाभाविक परिणाम हो।
नेपाली जनताले यसपटक मतपत्रमार्फत जुन सन्देश दिएका छन्, त्यो अत्यन्त स्पष्ट र तीखो छ। ‘हामीले तिमीहरूलाई पर्याप्त अवसर दियौँ, तर तिमीहरूले हामीलाई न्याय दिएनौ’ जनमतको भाव यही छ । विशेष गरी पुराना संसदीय दलमा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी वा माओवादी लगायत अन्य पुराना दल पराजयको शिकार बने । यो पराजयलाई यदि ती दलहरूले केवल चुनावी रणनीतिको कमजोरी वा परिस्थितिजन्य दुर्भाग्यका रूपमा मात्र हेरे भने त्यो भोलिका दिनमा झनै खतारा छ । पराजयको वास्तविक कारणलाई गम्भीरतापूर्वक आत्मसात् गरेनन्भने आगामी दिनहरू अझ चुनौतीपूर्ण बन्ने निश्चित छ।
नेपाली राजनीतिमा यस्तो धक्का पहिलो पटक भएको होइन। तर यसपटकको पराजयको गहिराइ र व्यापकता फरक छ। ‘जनतामा सबै उस्तै हुन्’ भन्ने धारणा यति गहिरो र व्यापक बसेको छ कि, यसलाई तत्काल सम्बोधन नगरी राजनीतिक पुनर्उत्थान सम्भव छैन। यो धारणा हावाबाट आएको होइन । वर्षौँको कटु अनुभव, पटक–पटक भाँचिएका वाचा, र प्रत्येक चुनावपछिको निराशाले यसलाई जन्म दिएको हो।जनताको यो निराशा उचित छ, र यसको जिम्मेवारी दलहरूले नै लिनुपर्छ। लिइसकेका पनि छन् ।
जनविश्वासको संकट
पुराना दलहरूको पराजयको सबभन्दा मूल र गहिरो कारण भनेको जनविश्वासको संकट हो।जनताले बारम्बार अवसर दिए, बारम्बार विश्वास गरे, तर प्रत्येक पटक ठगिए। चुनावी घोषणापत्रमा आकर्षक नारा र महत्वाकांक्षी योजना सजाइए । बिजुली, पानी, सडक, रोजगारी, समृद्धि लगायत….। तर सत्तामा पुगेपछि ती सबै कागजमै सीमित रहे। घोषणापत्र लेख्ने कलम र कार्यान्वयन गर्ने हात कहिल्यै एउटै बनेनन्।
वाचा र व्यवहारबीचको यो खाडल क्रमशः चौडिँदै गयो। सत्ता प्राप्तिपछि देखिने अहंकारी प्रवृत्ति, जनताप्रति उत्तरदायित्वको अभाव, र नेतृत्वमा हावी भोगवादी संस्कृतिले दलहरूलाई जनताबाट टाढा पु¥यायो।चुनावको बेला गाउँगाउँ पुग्ने नेता सत्तामा पुगेपछि दरबारमा बस्छन् । यो अनुभव जनताका लागि नयाँ छैन, तर प्रत्येक पटकको पुनरावृत्तिले घाउ गहिरो बनाउँदै गएको छ।
जनताले अनुभव गरे कि चुनावको बेला देखिने नेता र सत्तामा पुगेपछिको नेता फरक हुन्छ। मतदाताको ढोकामा आउँदा विनम्र, सत्ताको कुर्सीमा पुगेपछि अपहुँच थियो । यो दोहोरो चरित्रले जनमानसमा गहिरो वितृष्णा जन्मायो। र त्यही वितृष्णा यसपटकको मतपत्रमा स्पष्ट रूपमा व्यक्त भयो। जनताले यसपटक केवल मत दिएनन । जनताले मत परिवर्तन गरेर सजायनै दिए ।
त्यसमाथि, पार्टीभित्र आन्तरिक प्रजातन्त्रको अभाव पनि उत्तिकै गम्भीर समस्या बन्यो। निर्णय प्रक्रियामा आम कार्यकर्ताको सहभागिता न्यून, नेतृत्व चयनमा जनाधारभन्दा चाकडी र नातावादको प्रभाव, र असन्तुष्टिलाई दबाउने प्रवृत्तिले पार्टीभित्र नै एउटा घुटन पैदा भयो। बाहिरबाट एकजुट देखिने दलहरू भित्रबाट टुक्रिएका थिए।
पार्टीको नाममा भजाई खाने संस्कृति
दलका भातृ संगठनभित्र गहिरिँदै गएको सबभन्दा घातक विकृति भनेको पार्टीको नाममा भजाई खाने प्रवृत्ति हो। कतिपय नेता–कार्यकर्ताले पार्टीलाई जनसेवाको माध्यमभन्दा व्यक्तिगत स्वार्थ पूर्तिको साधन बनाएका छन्।यो केवल आरोप होइन । जनताले आफ्नै आँखाले देखेको यथार्थ हो। पुराना दलकै नेतृत्व रहेका स्थानीय तहमा हेर्दा पनि प्रष्ट हुन्छ ।
बिकृति यतिसम्म छ, की विकास आयोजनामा ‘धन्यवाद शुल्क’ असुल्ने, पहुँचका आधारमा ठेक्का र सरकारी सुविधा लिने, र जनताको हकलाई आफ्नो आम्दानीको स्रोत बनाउने प्रवृत्ति अहिले लुकेको रहस्य होइन।कुनै आयोजना तथा योजना पास गराउन माथि बुझाउनुपर्ने, कुनै काम गराउन चिनजान चाहिने–यी अनुभव जनताका लागि दैनिकी बनिसकेका छन्। यो प्रवृत्तिले जनतामा प्रत्यक्ष आर्थिक क्षति मात्र गर्दैन, बरु राज्यप्रतिको विश्वास नै समाप्त पारेको थियो । त्यो विशेष गरी कांंग्रेस, एमाले र माओवादी अर्थात नेकपामै देखिन्थ्यो ।
यस्तो व्यवहारले दुई तहमा गम्भीर क्षति पु¥याउँछ। पहिलो, जनतामा आक्रोश र वितृष्णा पैदा हुन्छ, जसको परिणाम चुनावमा देखिन्छ। दोस्रो, र यो झनै खतरनाक–संगठनभित्रका इमानदार र सिद्धान्तनिष्ठ कार्यकर्ताको मनोबल गिर्छ।जो व्यक्ति साँचो विश्वास र समर्पणका साथ पार्टीमा आएको हुन्छ, उसले चारैतिर स्वार्थको खेल देख्दा निराश र हतोत्साहित हुनु स्वाभाविक हो। क्रमशः उनी पार्टीबाट टाढिन्छ, वा आफू पनि त्यही प्रवृत्तिमा समाहित हुन्छ। दुवै अवस्थामा संगठनले हार्छ।
यसरी पार्टीको नैतिक आधार खोक्रो बन्दै जान्छ। बाहिरबाट सबल र गतिलो देखिने संगठन भित्रबाट सड्दै गएको हुन्छ । जुन वृक्षको जरा कुहिएको छ, त्यो बाहिरबाट हरियो देखिए पनि पहिलो आँधीमा ढल्छ। यसपटकको निर्वाचन त्यही आँधी थियो।पुराना तीन ठूला दलनै बढारिए ।
अर्ध–राजनीतिक चेत भएका नेता कार्यकर्ता
अर्को गम्भीर र दीर्घकालीन समस्या भनेको अर्ध–राजनीतिक चेत भएका नेता–कार्यकर्ताको क्रमिक वृद्धि हो।यस्ता व्यक्तिहरू न त विचारधारामा स्पष्ट छन्, न त व्यवहारमा प्रतिबद्ध। उनीहरू परिस्थितिअनुसार धार परिवर्तन गर्ने, अवसरअनुसार पक्ष बदल्ने, र नीति र सिद्धान्तभन्दा तत्काल लाभमा केन्द्रित हुने प्रवृत्तिका हुन्छन्।
यस्ता कार्यकर्ता जुन दलमा बढी फाइदा छ, त्यसतर्फ लाग्छन्। चुनावको बेला सक्रिय, सत्तापछि गायब, र फेरि अर्को चुनावको बेला प्रकट–यो चक्र धेरैले देखेका छन्। यसले संगठनलाई वैचारिक रूपमा कमजोर बनाउँछ, आन्तरिक एकतामा दरार ल्याउँछ, र दीर्घकालीन राजनीतिक दिशा अन्योलमा पार्छ। अझै यस्ता कार्यकर्ता तथा नेता स–सानो कुरामा विपक्षीसँग विक्री पनि भइरहेका हुन्छन् ।
यससँगै कम्युनिस्ट पार्टीको विषय झनै गम्भिर छ । जात र धर्मका नाममा नारा लगाएर कम्युनिस्ट गीत गाउने प्रवृत्ति पनि उत्तिकै खतरनाक छ। वर्गीय राजनीतिलाई आधार मान्नुपर्ने कम्युनिस्ट धारका कतिपय कार्यकर्ताहरू जातीय वा धार्मिक भावनालाई उचालेर क्षणिक चुनावी लाभ लिन खोजिरहेका छन्। यो केवल विचारधारात्मक विचलन मात्र होइन । यो कम्युनिस्ट आन्दोलनको आधारभूत सिद्धान्तसँगै खेलवाड गर्नु हो। वर्गसंघर्षको मूल धारलाई व्यवहारमा त्यागेर पहिचानको राजनीतिमा फस्नु आत्मविरोधी कदम हो । जसले संगठनभित्र द्वन्द्व र विभाजनको बाटो खोल्छ। मतको कुरै छोडौं ।
राजनीतिक अवसरवाद
‘फलानाले यति पटक खायो, अब मेरो पालो’भन्ने मानसिकता त झनै भयावह छ। यो सोचले राजनीतिलाई सेवाको पवित्र क्षेत्रबाट पालो–पिच्छे लाभ लिने खेलमा परिणत गर्छ।यसले भ्रष्टाचारलाई मात्र प्रश्रय दिँदैन । यसले भ्रष्टाचारलाई नैतिक वैधता नै प्रदान गर्छ।उसले पनि खायो, मैले पनि खाइहाल्छु । यो मानसिकता संगठनभित्र जरा गाडिरहँदासम्म कुनै पनि सुधार टिकाउ हुन सक्दैन। राजनीतिक अवसरवाद अहिले एउटा सूक्ष्म तर अत्यन्त घातक रूपमा देखा परिरहेको छ। नेतृत्वलाई भजाइ खाने प्रबृत्तिका नेता कार्यकर्ता पनि यस पटकको निर्वाचन हराउन सहयागी बने ।
यता हालको अवस्थामा एउटा विशेष खतरनाक प्रवृत्ति देखिँदैछ । कतिपय धारहरूले आफूलाई समाजवादी केन्द्रको रूपमा प्रस्तुत गरिरहेका छन्, तर व्यवहारमा उनीहरूका कार्यकर्ताहरू मध्यपन्थी वा कतिपय अवस्थामा दक्षिणपन्थी प्रवृत्तितर्फ झुकिरहेका देखिन्छन्।आफूलाई क्रान्तिकारी भन्ने र व्यवहारमा व्यवस्थापोषक बन्ने, बिचौलीया प्रकारको द्वैध चरित्रले संगठनलाई दिशाहीन बनाउँछ। पुराना दलका नेता, कार्यकर्ता यस्तै बनेका छन् ।
सैद्धान्तिक प्रतिबद्धता र व्यवहारिक इमानदारीबिना कुनै पनि आन्दोलन दिगो हुन सक्दैन। राजनीति भनेको केवल सत्ता प्राप्तिको खेल होइन । यो समाज परिवर्तनको साधन हो। यो साधनलाई व्यक्तिगत स्वार्थको उपकरण बनाउनु भनेको आन्दोलनको आत्मा नै हत्या गर्नु हो। पार्टीले यो प्रश्नको स्पष्ट उत्तर खोज्नुपर्छ । के हामी विचारधारामा अडिग रहने, कि परिस्थितिअनुसार रूप बदल्दै जाने? यो प्रश्नको उत्तरले नै भविष्य निर्धारण गर्नेछ।
पुनर्उत्थानको बाटोः नारा होइन, व्यवहारमा
पुराना दलहरूको पराजय केवल बाह्य कारणको परिणाम होइन । यो वर्षौँको संचित आन्तरिक कमजोरीको स्वाभाविक प्रतिफल हो।तर पराजय अन्तिम सत्य होइन, र निराशा समाधान होइन। इतिहासले देखाएको छ कि आत्मसमीक्षाको साहस राख्ने शक्तिहरूले पुनर्उत्थानको बाटो फेला पारेका छन्। जनताले फेरि पनि विकल्प खोज्ने छन् । यो खोजी नै पुराना दलहरूका लागि अवसर हुनुपर्छ । यदि उनीहरूले आफूलाई साँचो र विश्वसनीय विकल्पका रूपमा प्रस्तुत गर्न सके भने जनता फर्कन सक्छन्। तर त्यसका लागि शब्दको परिवर्तन मात्र पर्याप्त छैन । व्यवहारको आमूल परिवर्तन अनिवार्य छ।
यदि पार्टीहरूले इमानदारीपूर्वक आत्मसमीक्षा गरेर संगठन शुद्धीकरण, वैचारिक स्पष्टता, र व्यवहारिक सुधारमा ध्यान दिए भने जनविश्वास पुनः जित्न सकिन्छ। अन्यथा, नयाँ शक्तिहरूको उदय अझ तीव्र हुनेछ, जनताको विकल्प खोज्ने क्रम बढ्नेछ, र पुराना दलहरू इतिहासको पृष्ठमा सीमित हुने जोखिम बढ्दै जानेछ। अब समय आएको छ–नारा होइन, व्यवहार बदल्ने।पद होइन, जिम्मेवारी बुझ्ने। भजाई खाने संस्कृतिको अन्त्य गर्ने र जनसेवालाई राजनीतिको केन्द्रमा राख्ने। वैचारिक स्पष्टता र व्यवहारिक इमानदारीको सङ्गम नै पुनर्उत्थानको एकमात्र ठोस आधार हो। जनताले सधैँ साँचो परिवर्तनलाई स्वागत गर्छन । त्यो परिर्वतन नेतृत्वको भाषणमा होइन, व्यवहारमा देखियोस्।संगठन बलियो बनाउने, जनताको विश्वास फिर्ता ल्याउने र नयाँ पुस्तालाई प्रेरित गर्ने नै मूख्य सुत्र हो ।
सुधारका लागि सुझावहरु
पराजित दलहरुले सुधार संकेत अझै देखाउन त सकेका छैनन् । तर, देशभरका दलका नेता कार्यकर्तालाई प्रशिक्षण आवश्यक छ । सबै संगठन इकाइहरूमा नियमित र व्यवस्थित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्छ।वर्षमा कम्तीमा दुई पटक—छ÷छ महिनाको अन्तरालमा–प्रशिक्षण सञ्चालन गरेर कार्यकर्तालाई वैचारिक रूपमा सुदृढ बनाउनु आवश्यक छ। यो प्रशिक्षण केवल सैद्धान्तिक पाठशाला बनाउनु पर्छ । यो व्यवहारिक, अनुशासनमुखी र जनसेवामुखी हुनुपर्छ। सिद्धान्त र व्यवहारबीचको दूरी घटाउनु नै यस्तो प्रशिक्षणको मुख्य लक्ष्य हुनुपर्छ। यस्ता प्रशिक्षणमा जनताप्रति उत्तरदायित्व, नैतिक आचरण र इमानदारीको महत्वलाई केन्द्रमा राख्नुपर्छ।
पुराना दलहरुले पार्टीका तर्फबाट सरकार सञ्चालन भइरहेका सबै स्थानीय तहमा स्वतन्त्र र प्रभावकारी निगरानी समूह गठन गर्नु अत्यावश्यक छ। स्थानीय सरकारमा पार्टीका प्रतिनिधि हुँदा पनि अनियमितता र कमजोरी देखिनु पार्टीकै छविमा सिधा धक्का हो।त्यसैले स्वतन्त्र निगरानी समूहमार्फत योजना कार्यान्वयन, बजेट खर्च र सेवा प्रवाहको नियमित अनुगमन हुनुपर्छ। यो निगरानी समूहमा नागरिक समाज र इमानदार कार्यकर्ताको प्रतिनिधित्व हुनुपर्छ। अनुगमन प्रतिवेदन सार्वजनिक गर्ने व्यवस्था गरिनुपर्छ, जसले पारदर्शिता बढाउँछ र जनविश्वास पुनःस्थापनामा सहयोग पुग्छ।
पुराना दलहरुमा ‘एक व्यक्ति, एक जिम्मेवारी’ नीति कायम गर्नुपर्छ । एउटै व्यक्तिले धेरै पद र जिम्मेवारी ओगट्दा न त काम प्रभावकारी हुन्छ, न त नयाँ नेतृत्व विकास हुने मौका मिल्छ। केन्द्रबाटै स्पष्ट नीति बनाएर प्रत्येक व्यक्तिलाई एउटा मात्र जिम्मेवारी दिने व्यवस्था कडाइका साथ लागू गर्नुपर्छ। यसले उत्तरदायित्व स्पष्ट बनाउँछ, कार्यसम्पादन मापन सहज हुन्छ, र संगठनभित्र नयाँ पुस्तालाई नेतृत्वको अवसर मिल्छ। पार्टी भनेको केही व्यक्तिको एकाधिकार होइन । यो हजारौँ कार्यकर्ताको सामूहिक सम्पत्ति हो।
आन्तरिक प्रजातन्त्र र पारदर्शिता : पार्टीभित्र असहमति व्यक्त गर्न पाउने वातावरण बनाउनु पर्छ। असन्तुष्टिलाई दबाउने होइन, सुन्ने र सम्बोधन गर्ने संस्कृति विकास गर्नुपर्छ। नेतृत्व चयनमा जनाधार र क्षमताको आधार हुनुपर्छ, चाकडी र नातावादको होइन। पार्टीको आर्थिक कारोबारमा पारदर्शिता अनिवार्य बनाउनुपर्छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।