सोलुखुम्बु । नेपालकै सबै भन्दा लामो ‘सोलुखुम्बु ट्रेल’ सुरु भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–८ पत्ततालेको धापबाट सुरु भएको तीन सय १० किलोमिटर लामो १५ दिने ट्रेलमा २९ जना विदेशी तथा नेपाली धावक सहभागी भएका छन् ।
ओलम्पिक विजेता अन्तर्राष्ट्रिय धावक दाछिरि दावा शेर्पाको नेतृत्वमा सुरु भएको ट्रेल ४ हजार ६ सय अग्लो पिके पिक, ३ हजार ५ सय मिटर अग्लो लामाजुरा, दूधकुण्ड पोखरी, फाक्दिङ, नाम्चे, सगरमाथा क्षेत्रको रेन्जोला पास, गोक्यो भ्याली, ५ हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा आधारशिविर हुँदै फर्केर धावकहरुले गोरक्सेप, लोबुचे, फेरीचे, तेङबोचे, नाम्चेबजार, लुक्ला, खरीखोला, नुनथला, टाक्सिन्दु हुँदै सोलुखुम्बुको सदरमुकाम नजिक फाप्लुमा आएर समापन गर्नेछन् ।
ट्रेल रेसमा फ्रान्स, स्विजरल्यान्ड, बेल्जियम र नेपाल समेतका गरी २९ जना धावक सहभागी भएका हुन् । पहिलो सगरमाथा आरोहीहरु तेन्जिङ नोर्गे र सर एडमण्ड हिलारी हिँडेको ऐतिहासिक पदमार्गलाई पछ्याउँदै धावकहरु दौडिने उक्त रेसमा विदेशी ६५ जना र नेपालका १५ जना सहभागी छन् । सन् २००८ देखि लगातार हुँदै आएको सोलुखुम्बु ट्रेल रेसले विश्वभर नेपाल सुरिक्षित र शान्त रहेको सन्देश जाने आयोजक संस्थाका अन्तर्राष्ट्रिय धावक दाछिरी दावा शेर्पाको भनाइ छ ।
द स्माल वल्र्ड (टिएसडब्लु)को आयोजना तथा दाछिरि शेर्पा फाउण्डेशन र नेपाल पर्वतारोहणको सहयोगमा आयोजना गरिएको ‘सोलुखुम्बु ट्रेल रेस’ मा रेसमा विदेशी नागरिक पनि उत्साहित रूपमा सहभागी भएका छन् ।
ट्रेलले आन्तरिक तथा बाह्य पर्यटन विकासमा टेवा पुग्ने पर्यटन व्यवसायीहरु बताउछन् । तल्लो सोलुको पर्यटन विकास र रोजगारीका लागि पनि ‘सोलुखुम्बु टे«ल’ महत्वपूर्ण भएको र खेल पर्यटनको सम्भावना दर्साउन सहयोग पुग्ने अन्तर्राष्ट्रिय धावक दाछिरि शेर्पाले बताउनुभयो ।
सहभागी धावकहरूले हिमाली क्षेत्रको सुन्दरता र पर्यटकीय क्षेत्रहरुको विभिन्न देसमा प्रचार गर्ने हुनाले पर्यटन प्रवर्धनमा ठूलो टेवा पुग्ने आयोजकको दाबी छ । ट्रेलमा दक्ष चिकित्सकसहितको मेडिकल टोली पनि रहेको छ ।

