विराटनगर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार सामान्य अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ५.१७ अंकले घटेर परिसूचक २ हजार ५६६ दशमलव १६ को बिन्दुमा कायम भएको छ । यद्यपि, परिसूचकमा गिरावट आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ ।
बुधबार ३२१ कम्पनीको एक करोड १५ लाख एक हजार २८४ कित्ता शेयर ५० हजार ४८७ पटक खरिदबिक्री हुँदा कुल ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार ६८१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । मंगलबार ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको थियो ।
आजको कारोबारमा अधिकांश समूहका उपसूचकहरूमा गिरावट देखिएको छ । बैंकिङ शून्य दशमलव ३४, विकास बैंक शून्य दशमलव ९१, वित्त शून्य दशमलव ७७ र अन्य समूह एक दशमलव २० प्रतिशतले घटेका छन् ।ृद्दे त्यसैगरी, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र निर्जीवन बिमा समूहको उपसूचक पनि घटेको छ ।
यद्यपि, केही समूहका लगानीकर्ताले भने कमाएका छन् । आज होटल तथा पर्यटन समूह सबैभन्दा बढी दुई दशमलव १५ प्रतिशतले बढेको छ । त्यस्तै, व्यापार समूह दुई प्रतिशत, जलविद्युत् शून्य दशमलव शून्य एक र लघुवित्त समूह शून्य दशमलव १३ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो । अर्कोतर्फ, ज्योति विकास बैंक बण्ड–२०८७ को शेयर मूल्य सबैभन्दा बढी ५ दशमलव ६६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको २३ करोड ६५ लाख २९ हजार १४३ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, कारोबार भएको शेयर सङ्ख्याका आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । बैंकको ६ लाख १४ हजार ५९ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।


