विराटनगर । नायक अनमोल केसी अभिनित चलचित्र ‘जेरी अन टप’ ले प्रदर्शनको दशौं दिनसम्म पनि हलमा आफ्नो बलियो पकड कायम राख्दै बक्स अफिसमा नयाँ तरंग सिर्जना गरेको छ । पहिलो सातामै ५ करोडभन्दा बढीको ग्रस कलेक्सन गरेको यो चलचित्रले दोस्रो सातामा पनि दर्शकको उल्लेख्य साथ पाइरहेको छ ।
चलचित्र विकास बोर्डको तथ्यांक अनुसार, ‘जेरी अन टप’ले पहिलो हप्तामा ५ करोड रुपैयाँ भन्दा बढीको व्यापार गरेको थियो । निर्माता सरोज न्यौपानेका अनुसार प्रदर्शनको नवौं दिन, शनिबार मात्रै फिल्मले एक करोड एक लाख ३२ हजार रुपैयाँको व्यापार गरेको छ जुन पहिलो दिनको ७२ लाखको तुलनामा निकै बढी हो । पहिलो दिनभन्दा नवौं दिनमा व्यापार बढ्नुले चलचित्रलाई बलियो ‘वर्ड अफ माउथ’ले पनि साथ दिएको देखिन्छ । प्रस्तुतकर्ता सरोज न्यौपानेले फिल्मले ६ करोडभन्दा बढी कमाइसकेको दाबी गरेका छन् ।
‘जेरी अन टप’ लाई केवल व्यावसायिक सफलताको दृष्टिकोणले मात्र हेरिएको छैन, यसले नेपाली चलचित्रमा एउटा नयाँ प्रयोगलाई पनि स्थापित गरेको छ । सगरमाथा आरोहण जस्तो साहसिक कथालाई प्रेमसँग जोडेर निर्माण गरिएको यो चलचित्रले दर्शकलाई नयाँ स्वाद दिएको छ । निर्देशक सुयोग गुरुङले सगरमाथाको सुन्दरता र भयावहतालाई पर्दामा उतार्न गरेको प्रयासको प्रशंसा भइरहेको छ । चलचित्रको कथावस्तुले अनमोल केसीलाई एक पर्वतारोहीको भूमिकामा प्रस्तुत गरेको छ, जसमा नायिका जशिता गुरुङले ट्रेकिङ गाइडको भूमिका निर्वाह गरेकी छिन् । भूमिकालाई जीवन्त बनाउन कलाकारहरुले पर्खाल र चट्टान आरोहण जस्ता तालिम समेत लिएका थिए ।
तिहारको अवसरमा ‘सोल्टिनी’, ‘मैझारो’ र ‘वरिष्ठ बलराम’ जस्ता तीन नयाँ चलचित्र प्रदर्शनमा आउँदा पनि ‘जेरी अन टप’ को व्यापारमा कुनै कमी आएन । चलचित्रमा अनमोल र जशिताका साथै आँचल शर्मा, सुरक्षा पन्त, भुवन केसी र केदार घिमिरे जस्ता कलाकारहरूको पनि मुख्य भूमिका रहेको छ ।
यो चलचित्र नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि प्रदर्शन हुने भएको छ । नोभेम्बर १ देखि क्यानडाका प्रमुख शहरहरूमा ‘जेरी अन टप’ को प्रदर्शन तय भइसकेको छ ।

