विराटनगर । दशैँ विदापछि लगातार दुई दिन घटेको सेयर बजार बिहिबार हरियो बनेको छ। मंगलबार ४५ र बुधबार ५८ अंकले घटेको नेप्से आज भने बढेको हो।

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा एकल ग्राहक कर्जाको २५ करोडको सीमा हटाएपछि सूचक २२.५९ अंकले बढेको हो ।
कारोबार खुलेको तेस्रो मिनेटमै ४ प्रतिशत बढेपछि २० मिनेट ‘हाल्ट’ भएको कारोबारले त्यसपछि निरन्तरता पाएको थियो। यद्यपि त्यसपछि भने सूचक सुस्ताएको थियो।

आज नेप्से दोहोरो अंकले बढेर २५८२.१८ विन्दुमा रोकिएको छ। बिहीबार २ सयवटा सेयरको मूल्य बढेको छ भने ४१ वटाको घटेको र १० वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।

आज कुल १ करोड १८ लाख कित्ता बिक्रीबाट ५ अर्ब २७ करोडको कारोबार भएको छ। विन्ध्यवासिनी हाइड्रो, एसियन हाइड्रोपावर, एमबीएल इक्विटी फन्डलगायतको अधिकतम ८.२१ प्रतिशतसम्मले सेयर मूल्य बढेको छ।

थ्रिस्टार हाइड्रोपावर, भूगोल इनर्जी डेभलपमेन्टलगायतको भने अधिकतम ९.०९ प्रतिशतसम्मले मूल्य घटेको छ।

आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ। उक्त कम्पनीको २७ करोडको कारोबार भएको हो।