भारतको अन्तरिक्ष अभियानले चन्द्रमाको नजिकबाट पठायो तस्बिर

बिबिसी । भारतको तेस्रो चन्द्र अभियान अहिलेसम्म सबैभन्दा कम खोजी भएको चन्द्रमाको दक्षिणी ध्रुवतर्फ नजिकिँदै गर्दा भारतको अन्तरिक्ष निकायले चन्द्रमाको पछिल्लो तस्बिर सार्वजनिक गरेको छ।

उक्त तस्बिर चन्द्रयान–३ सँगै पठाइएको विक्रम नाम दिइएको ल्यान्डरले खिचेको हो। विक्रमले चन्द्रमामा अवतरणका लागि आफ्नो अन्तिम चरणको अभियान बिहीवारबाट सुरू गरेको छ।

२३ अगस्टमा रोभर लिएर गएको विक्रम चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्दैछ। चन्द्र सतहको निकै नजिकसम्म पुर्‍याएपछि ल्यान्डर यसको प्रोपल्सन प्रणालीबाट अलग भइसकेको छ। सार्वजनिक भएको श्यामश्वेत तस्बिरमा चन्द्रमाको सतहमा चट्टान र खाडलहरू देखिन्छन्। एउटा तस्बिरमा प्रोपल्सन पनि देखिएको छ।

चन्द्रमाको ध्रुवीय सतह निकै खतरनाक छ। त्यहाँ ठूलाठूला खाडल र भीरहरू छन्। केही खाडलमा अर्बौँ वर्षदेखि सूर्यको प्रकाश परेको छैन।

भारत भन्दा अघि–अघि रुस

भारतको चन्द्रयान–३ सँगै रुसको ‘लुना–२५’ पनि चन्द्रमाको दक्षिणी ध्रुवतर्फ गइरहेको छ। दुवै अन्तरिक्षयानहरू यहाँ केही दिनको अन्तरालमा अवतरण हुने अपेक्षा गरिएको छ।

लुना–२५ सन् १९७६ यता रुसले प्रक्षेपण गरेको आफ्नो पहिलो चन्द्रयान हो। त्यसबेला सोभियत सङ्घको अङ्ग रहेकै समयमा रुसले चन्द्रमामा अन्तरिक्षयान पठाएको थियो।

गत साता प्रक्षेपण गरिएको रुसको अन्तरिक्षयान अगस्ट २१ वा २२ मा चन्द्रमामा अवतरण हुने ठानिएको छ। भारतीय अन्तरिक्षयान भन्दा केही दिन अगाडी मात्रै अवतरण हुने ठानिएको उक्त अभियान सफल भए रुसले यसमा इतिहास बनाउने छ।

त्यो अवस्थामा भारतको चन्द्रयान दक्षिणी ध्रुवमा अवतरण गर्ने दोस्रो हुनेछ।
यद्यपि भारत चन्द्रमामा अन्तरिक्षयान अवतरण गर्ने अमेरिका, पूर्व सोभियत युनियन र चीनपछि चौथो देश हुनेछ।

चन्द्रयान–२ बाट भारतले सिकेको पाठ

भारतको अन्तरिक्ष अन्वेषण सम्बन्धी निकाय इसरोले शुक्रवार आफ्नो ल्यान्डर मोड्यूलले तल्लो कक्षतर्फ अवतरणको क्रम सुरु गरेको जनाएको छ।

भारतले चन्द्रमाको अन्वेषणका लागि प्रक्षेपण गरेको तेस्रो अभियान चन्द्रयान–३ यसअघिका सफलताहरूमा आधारित छ। सन् २००८ मा भएको पहिलो चन्द्र अभियानको १३ वर्षपछि भारतले तेस्रो यान चन्द्रमामा पठाएको हो।

भारतको पहिलो अभियानले चन्द्रमाको सतहमा पानीका अणुहरूको उपस्थिति पत्ता लगाउनुका साथै दिउसोको समयमा चन्द्रमामा वायुमण्डल रहेको स्थापित गरेको थियो।

चन्द्रयान–२ मा पनि अर्बिटर, ल्यान्डर र रोभर पठाइएको थियो। सन् २०१९ मा प्रक्षेपण गरिएको यो अन्तरिक्ष अभियानले आंशिक मात्रै सफलता हात पारेको थियो।

यद्यपि यसको अर्बिटरले अहिले पनि चन्द्रमाको परिक्रमा र अध्ययन गरिरहेको छ।

तर यसको ल्यान्डर रोभर सतहमा नियन्त्रित रूपमा अवतरण गर्न असफल भएको थियो र सतहमा उत्रने क्रममा दुर्घटनाग्रस्त भएको थियो।

६ अर्ब १५ करोड भारतीय रुपैयाँ लागत

इसरोका प्रमुख श्रीधर पानिकर सोमनाथले भारतको अन्तरिक्ष निकायले चन्द्रयान–२ मा भएको दुर्घटनाको होसियारीका साथ अध्ययन गरेको र त्यसक्रममा भएका त्रुटिहरू चन्द्रयान–३ मा एक–एक गरी सुधारेको बताएका छन् ।

चन्द्रयान–३ को तौल ३,९०० किलोग्राम छ र यसको लागत करिब ६ अर्ब १५ करोड भारतीय रुपैयाँ हो।

विगत दुई दशकमा भारतको अन्तरिक्ष कार्यक्रममा निकै विकास भएको छ। खर्च घटाउन सक्ने सामर्थ्यका कारण विश्वको ध्यान भारततिर आकर्षित भएको छ। यसको ल्यान्डर मोड्यूल करिब १,५०० किलोग्रामको छ।

यसमा प्रज्ञान नामको २६ किलोग्राम रोभर छ। ल्यान्डरको नाम भारतीय अन्तरिक्ष निकायका संस्थापक विक्रमको नामबाट र रोभरको नाम संस्कृतमा ज्ञान अर्थ लाग्ने गरी प्रज्ञान राखिएको हो।

मानव बस्तीको सम्भाव्यता खोजी

चन्द्रमाको दक्षिणी ध्रुव खासै अन्वेषण नभएको क्षेत्र हो। अधिकांश समय सूर्यको प्रकाशबाट छायामा पर्ने यहाँको सतही क्षेत्र चन्द्रमाको उत्तरी ध्रुवभन्दा फराकिलो छ।

वैज्ञानिकहरूले स्थायी रूपमै सूर्यको प्रकाश नपर्ने क्षेत्रमा पानी पाइनसक्ने सम्भावना रहेको बताएका छन्।

चन्द्रयान–३ र लुना–२५ दुवै अन्तरिक्ष अभियानको प्रमुख उद्देश्य यहाँ पानी भएको बरफ खोज्नु हो। वैज्ञानिकहरूले पानी भेटिएको अवस्थामा भविष्यमा चन्द्रमामा मानव बस्ती बस्न सक्ने बताउँदै आएका छन्। मङ्गल वा टाढाका अन्य ग्रहहरूमा अन्तरिक्ष यान पठाउनका लागि प्रोपेलेन्ट आपूर्तिका लागि पनि यो स्थान काममा आउन सक्ने उनीहरूको ठम्याई छ।

– बिबिसीबाट साभार

शनिबार, ०२ भदौ, २०८०, साँझको ०७:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर