लोड हुँदैछ...

मेनु

रास्वपा सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री मोदीलाई भेट्दै

रास्वपा सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री मोदीलाई भेट्दै

विराटनगर । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्। गत सोमबार दिल्ली पुगेका लामिछानेले आफ्नो भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्।

यसअघि मंगलबार लामिछानेले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका थिए। गृहमन्त्री शाहले कुनै पनि विदेशी दलका सभापतिलाई भेटेको यो पहिलो पटक हो। भाजपाको राष्ट्रिय महासचिव, राष्ट्रिय अध्यक्ष हुँदै विगत सात वर्षदेखि गृहमन्त्रीको जिम्मेवारी सम्हालिरहेका शाहले अहिलेसम्म कुनै पनि विदेशी नेता वा राजनीतिक दलका प्रमुखसँग यसरी भेट गरेका थिएनन्। यहाँसम्म कि उनले पार्टी अध्यक्ष वा गृहमन्त्रीका रूपमा आजसम्म कुनै पनि विदेश भ्रमण समेत गरेका छैनन्। यस्तो पृष्ठभूमिमा लामिछानेसँगको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

मंगलबार नै लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकर र सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीनसँग पनि भेटवार्ता गरेका थिए। भेटका क्रममा द्विपक्षीय हित र नेपालभारत सम्बन्धका विविध आयामबारे छलफल भएको बताइएको छ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा भइरहेको यो भ्रमणका क्रममा लामिछाने अयोध्या जाने कार्यक्रम पनि रहेको छ। भ्रमण टोलीमा सभापति लामिछानेसहित उनकी धर्मपत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य, सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।

सभापति लामिछाने जेठ २२ गते स्वदेश फर्कने तालिका रहेको छ। रास्वपाको उदयपछि भारतमा भएको यो उच्चस्तरीय भ्रमणलाई दुई देशबीचको राजनीतिक सम्बन्ध र नयाँ शक्तिको उदयका रूपमा निकै चासोका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।