विराटनगर । भारतले सन् २०२६ को सेप्टेम्बरसम्म चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालका जुस, बिस्कुट, चकलेट तथा कन्फेक्सनरी उद्योगहरू संभावित संकटतर्फ धकेलिने चिन्ता उद्योगीहरूले व्यक्त गरेका छन् ।
यसअघि प्लास्टिक उद्योगहरू कच्चा पदार्थ अभावमा थलिँदै गएको अवस्थामा खाद्य उद्योगहरू पनि प्रभावित हुने संकेत देखिएको छ ।
मध्यपूर्वमा जारी युद्धका कारण प्लास्टिकजन्य कच्चा पदार्थको आपूर्ति प्रभावित हुँदा अधिकांश प्लास्टिक उद्योगहरूले उत्पादन ७० प्रतिशतसम्म घटाइसकेका छन् । यसबाट हजारौँ मजदुरको रोजगारीसमेत प्रभावित भएको छ । भारतले चिनी निर्यात रोक्ने निर्णय गरेपछि नेपालका चिनीमा आधारित उद्योगहरू थप दबाबमा परेका छन् ।
उद्योगीहरूका अनुसार हाल केही समयका लागि उद्योगहरूसँग मौज्दात चिनी रहेपनि प्रतिबन्ध लामो समय कायम रहे नेपाली बजारमा चिनी अभाव देखिनेछ । त्यसको प्रत्यक्ष असर उत्पादन क्षेत्रमा पर्नेछ । नेपाल चिनी उत्पादक संघले भने हाललाई पर्याप्त मौज्दात रहेको दाबी गरेको छ ।
संघका अनुसार चालु क्रसिङ सिजनमा सञ्चालनमा आएका १३ वटा उद्योगले १ लाख ९० हजार ८ सय ७० मेट्रिक टन चिनी उत्पादन गरेका छन् । तीमध्ये करिब १ लाख ८ हजार मेट्रिक टन चिनी उद्योगमै मौज्दात रहेको छ । बजारमा व्यवसायीहरूसँग थप २० हजार मेट्रिक टन चिनी रहेको अनुमान गरिएको छ ।
उद्योगीहरूले भने नेपाली उत्पादनले मात्रै दीर्घकालीन माग धान्न नसक्ने बताउँछन् । सीमावर्ती भारतीय बजारबाट अनौपचारिक रूपमा आउने चिनी नै नेपाली बजारको ठूलो आधार रहेको उनीहरूको भनाइ छ । सरकारले एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार कडाइ गरेपछि सीमाबाट आउने चिनी घटेको र यसले माग–आपूर्तिको सन्तुलन बिग्रन थालेको उद्योगीहरूको दाबी छ ।
भारतमा बेमौसमी वर्षा र मौसम प्रतिकूलताका कारण उखु उत्पादन घटेकाले भारत सरकारले निर्यातमा रोक लगाएको हो । चकलेट तथा बिस्कुट उद्योगी महेश जाजुले नेपालमा हालसम्म करिब ६० देखि ७० हजार मेट्रिक टन चिनी आयात भइसकेको भएपनि पाँच महिनापछि समस्या गम्भीर बन्नसक्ने बताए । “दसैं–तिहारको समयसम्म आइपुग्दा चिनी अभावले उत्पादनमै असर पर्न सक्छ,” उनले भने ।
नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवन सारडाले नेपालमा आवश्यक मात्रामा चिनी उत्पादन नहुने भएकाले भारतको निर्णयले प्रत्यक्ष असर पार्ने बताए । “अहिले केही समय स्टकले धान्ला, त्यसपछि अवस्था के हुन्छ भन्न सकिने स्थिति छैन,” उनले भने ।
भारतमा सन् २०२५–२६ मा २ करोड ७५ लाख टन चिनी उत्पादन भएको छ भने वार्षिक माग २ करोड ८० लाख टन रहेको छ । उत्पादन मागभन्दा कम भएपछि भारत सरकारले आन्तरिक बजार जोगाउन चिनी निर्यातमा प्रतिबन्ध लगाएको हो ।
संकट आउनुभन्दा अगाडि नै सरकारले तेस्रो मुलुकबाट चिनी आयात गर्न सहजीकरण गर्नुपर्ने उद्योगीहरूले बताएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।