सम्पादकीय
राजनीति शक्तिको खेल हो । नेपाली जनता सतह मुन्तिर हुने दाउपेच र शक्तिको रस्साकस्सी बुझ्न सक्छन् । बुझेरै होला, नेताहरुबाट उनीहरुले अब पूर्णतया शुद्धताको खोजी गर्न छाडेका छन् । यसो हुनु आफै कति सही वा गलत हो, निरुपण गर्नुपर्ने विषय हो । यसको दुरगामी असर कस्तो होला, अहिले भन्न सकिन्न । त्यो विषद अध्ययनकोे विषय हो । तर, जनताको अपेक्षा कम हुनु नेतृत्वका लागि सुविधाजनक अवस्था निर्माण हुनु हो । त्यसैले ढुक्क भन्न सकिन्छ, हाम्रो नेतृत्वको काँधमा बोक्नै नसकिने जिम्मेवारी अब छैन । वस्, नेपाली जनताले चाहेका छन् दैनन्दिनको आफ्नो गुजारा बेरोकटोक चलाउन पाइने आशा ।
अर्थात शक्तिको खेल खेल्न नेतृत्वलाई छुट छ । अनेक राजनीतिक दाउपेचमा संलग्न हुन पनि उनीहरुलाई कसैले रोकेको छैन । जहिलेसुकै कुर्सीको रस्साकस्सी मच्चिँदा सबै चुप लागेर हेरिबसेकै छन् । तर, अब शक्तिमा पुग्ने कसरत मात्र गरेर आफ्नो काँधमा भएका सामान्य जिम्मेवारी पनि पूरा नगर्ने हो भने बहुदलीय प्रतिष्पर्धा गरिरहेका सबै राजनीतिक दलहरु जनताको नजरमा कहिल्यै नउठ्ने गरी गिर्नेछन् । यसले चरम निराशा जन्माउनेछ । निराशा यस्तो हतियार हो जसलाई प्रतिगामी शक्तिले आफ्नो फँडा उठाउन राम्रोसँग प्रयोग गर्न सक्छ । तत्पश्चातको स्थिति यहाँ व्याख्या गर्न जरुरी छैन । नेपाली इतिहासले यस्तो पाठ हामीलाई राम्रैसँग पढाइसकेको छ ।
अहिले एमाले विभाजनको तरंग छ । जसपा विभाजनले पनि अर्को तरंग ल्याएको छ । यही शैली जारी रहे सबै दललाई एकता जोगाउन हम्मे पर्नेछ । अनि फेरि धेरै समयको बर्बादी र ठूलो यत्न पछि यी प्रयासहरुको मुल्यांकन हुनेछ । त्यसैले समय छँदै नेतृत्व पंक्तिले प्राथमिकता पहिल्याउने प्रयास गर्नुपर्छ । प्रष्ट छ, राजनीतिलाई ठीक ठाउँमा नराखेसम्म मुलुकका अन्य अवयव सही तरिकाले चल्न सक्ने छैनन् । हतारमा निर्णय लिने फुर्सदमा पछुताउने उपक्रमबाट बाहिर निस्केर अहिलेको राजनीतिक नेतृत्वले जनसेवा र विकास निर्माणका कामलाई उच्च प्राथमिकताको सूचीमा राख्नुपर्नेछ । अहिलेकै जस्तो दल विभाजन, विधि पद्दतिको उपहास र तिक्डममार्फत सत्ता हत्याउने खेल जारी राख्ने हो भने किटेरै भने हुन्छ, अहिलेको नेतृत्वको प्राथमिकता केवल शक्ति प्राप्तिसित मात्रै जोडिएको छ । जहाँ जनहितका मुद्दा पूर्णत गयल छन् । जनताकै मुद्दाले प्राथमिकता नपाउने राजनीतिक नेतृत्वको उपस्थिति रहेको देशमा बर्बादी एक मात्र विकल्प बाँकी रहनेछ । यस्तो बर्बादी यात्रा रोक्ने हिम्मत र सामथ्र्य नेतृत्वले देखाउनुपर्छ ।