सन् २०१९ को नोभेम्बरतिरको कुरा हो। कोभिड–१९ महामारीले संसारलाई अस्तव्यस्त पार्नुभन्दा ठीक अगाडिको समय। त्यो बेला म श्रीलंकाको कोलम्बोमा केहि समयकोलागि कार्यरत थिए । एक दिनको मध्यान्न म एक श्रीलंकाली साथीसँग कोलम्बोस्थित Hayleys PLC (https://www.hayleys.com/ ) को मुख्य कार्यालय पुगेको थिएँ। त्यो दिनको भ्रमण साधारण भेटघाट मात्र थिएन; मेरो लागि त्यो एउटा सोचको ढोका ढकढकाइरहने अनुभव थियो।
कार्यालय प्रवेश गर्दा देखिनै देखिने कार्यालयको भव्यता, व्यवस्थापनको अनुशासन, कर्मचारीहरूको व्यावसायिकता, कृषि र निर्यातसँग जोडिएको विशाल कारोबार, अनि श्रीलंकाजस्तो सानो देशमा जन्मिएको एउटा कम्पनीले वार्षिक एक अर्ब अमेरिकी डलरभन्दा बढीको कारोबार गरिरहेको तथ्यले मलाई साँच्चै अचम्मित बनायो। त्यो भवनबाट बाहिर निस्कँदै गर्दा मेरो मनमा एउटा प्रश्न उठिरह्यो—नेपालमा पनि यस्तै कुनै कम्पनी भए कस्तो हुन्थ्यो होला ?

फोटोहरू: Hayleys PLC को मुख्य कार्यालय र यसले काम गरिरहेका क्षेत्रहरू
नेपालमा पनि त कृषि छ। हिमालदेखि तराईसम्म फैलिएको झन धेरै जैविक विविधताले भरिएको। चिया छ, अलैंची छ, अदुवा छ, बेसार छ, कफी छ, स्थानीय धान छन्, जडीबुटी छन्, फलफूल छन्, तरकारी छन्, मह छ, दुग्ध उत्पादन छ, बाँस र प्राकृतिक रेशा छन्। मेहनती किसान छन्, ज्ञान भएका प्राविधिक छन्, विदेशमा अनुभव बटुलेका नेपाली छन्, उद्यम गर्न खोज्ने युवा छन्। तर यी सबै सम्भावनाहरू किन एउटै सशक्त प्रणालीमा जोडिन सकेका छैनन्? Hayleys PLC लाई हेर्दा यो प्रश्न अझ गहिरो हुन्छ।
सानो व्यापारबाट विश्वव्यापी व्यावसायिक समूहसम्म
Hayleys को सुरुवात सन् १८७८ मा श्रीलंकाको गाले शहरबाट भएको थियो। सुरुमा यो ठूलो उद्योग थिएन। Charles Pickering Hayley नामका एक युवा उद्यमीले कोयर/नरिवलको रेसाबाट बनेका सामाग्री र दैनिक उपभोग्य वस्तुको व्यापारबाट यसको जग बसालेका थिए। त्यो सानो व्यापारिक सुरुवात आज श्रीलंकाको सबैभन्दा प्रतिष्ठित र विविधीकृत व्यावसायिक समूहहरूमध्ये एक बनेको छ।
यसको विकास केवल भाग्यले भएको होइन। समयसँगै Hayleys ले आफूलाई बदल्दै लग्यो। सुरुमा व्यापार, त्यसपछि कोयर, रबर, प्लान्टेसन, चिया निर्यात, कृषि सामग्री, प्रशोधित खाद्य, हात–सुरक्षा सामग्री, शुद्धीकरण सामग्री, कपडा, ढुवानी तथा आपूर्ति व्यवस्थापन, ऊर्जा, होटल, उपभोक्ता सामग्री र सेवा क्षेत्रमा यसको विस्तार भयो।
आज Hayleys केवल एउटा कम्पनी होइन; यो एउटा बहुक्षेत्रीय व्यावसायिक प्रणाली हो। यसले कृषि, उद्योग, सेवा, ऊर्जा, पर्यटन, निर्यात र अन्तर्राष्ट्रिय व्यापारलाई आपसमा जोडेको छ। यही यसको सबैभन्दा ठूलो शक्ति हो। नेपालका लागि यही पहिलो पाठ हो कृषि एक्लै बलियो हुँदैन; कृषिलाई उद्योग, प्रशोधन, ढुवानी, बजार, ब्रान्ड निर्माण, वित्तीय सेवा र निर्यातसँग जोड्नुपर्छ।
कम्पनी मात्र होइन, राष्ट्रिय अर्थतन्त्रको खम्बा
Hayleys PLC को पछिल्ला वार्षिक विवरणहरू हेर्दा यसको आकार र प्रभाव स्पष्ट देखिन्छ। २०२४/२५ मा समूहको वार्षिक आम्दानी रु. २२३.३९ अर्बभन्दा बढी नेपाली रुपैयाँ पुगेको छ। कम्पनीले हजारौँ मानिसलाई प्रत्यक्ष रोजगारी दिएको छ, अझ धेरैलाई आपूर्ति श्रृखला र उत्पादन प्रणालीमार्फत अप्रत्यक्ष रोजगारी दिएको छ। यसले श्रीलंकाको निर्यात र विदेशी मुद्रा आर्जनमा पनि उल्लेखनीय योगदान पुर्याएको छ। जुन अघिल्लो वर्षभन्दा १३ प्रतिशतले बढी हो। सोही वर्ष कम्पनीको करपूर्व नाफा रु. १६ अर्ब पुगेको छ, कुल सम्पत्ति रु. २३० अर्ब भन्दा धेरै ।
Hayleys ले श्रीलंकाको निर्यातमा ५.४ प्रतिशत योगदान गरेको, ३८,०२९ जनालाई प्रत्यक्ष रोजगारी दिएको, २७,००० भन्दा बढी अप्रत्यक्ष रोजगारी value chain मार्फत सिर्जना गरेको र २०२४/२५ मा ६८५ मिलियन अमेरिकी डलर बराबर विदेशी मुद्रा आर्जन गरेको थियो
त्यसैले यो केवल नाफा कमाउने निजी कम्पनीको कथा होइन। यो एउटा सानो देशको निजी क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा कसरी ठूलो भूमिका खेल्न सक्छ भन्ने उदाहरण हो। सही दृष्टि, पेशागत व्यवस्थापन, पारदर्शिता, दीर्घकालीन सोच र अन्तर्राष्ट्रिय बजारसँगको सम्बन्ध भएमा निजी क्षेत्र केवल व्यापारी समूह मात्र रहँदैन; त्यो देशको आर्थिक आत्मविश्वासको आधार बन्न सक्छ। नेपालले पनि अब यही कुरा गम्भीरतापूर्वक सोच्नुपर्छ। हामीले किसान, उत्पादन र बजारलाई छुट्टाछुट्टै विषयका रूपमा हेर्ने बानी बदल्नुपर्छ। कृषि उत्पादनलाई राष्ट्रिय सम्पत्ति र निर्यातयोग्य पहिचानका रूपमा विकास गर्नुपर्छ।
Hayleys को कृषि–सम्बन्धी शक्ति
Hayleys को कृषि क्षेत्र केवल मल, बीउ वा बाली संरक्षणका सामग्री बेच्ने व्यापारमा सीमित छैन। यसको कृषि शाखाले मल, बीउ, रोपण सामग्री, बाली संरक्षण, कृषि यान्त्रिकीकरण, सिँचाइ तथा पानी व्यवस्थापन, पशु स्वास्थ्य, फूलका वर्णशंकर बीउ, ऊतक संवर्धन, जैव प्रविधि र प्रशोधित कृषि उत्पादनसम्म काम गरेको छ।
यसबाट बुझ्नुपर्ने कुरा के हो भने Hayleys ले किसानलाई केवल ग्राहक मानेको छैन। किसान यसको उत्पादन प्रणालीको आधार हो। किसानसँगको सम्बन्ध केवल सामान बेच्ने होइन; ज्ञान, प्रविधि, बजार, गुणस्तर र निर्यातसँग जोडिएको संस्थागत सम्बन्ध हो।
नेपालमा निजी क्षेत्र किसानसम्म पुग्दा धेरैपटक केवल मल, बीउ वा औषधि बेच्ने व्यापारीका रूपमा देखिन्छ। तर अब त्यो सोच बदल्नुपर्छ। नेपालका कृषि व्यवसायीहरू किसानका लागि केवल बिक्रेता होइन, ज्ञान साझेदार, प्रविधि साझेदार, बजार साझेदार र जोखिम साझेदार पनि बन्नुपर्छ।
उत्पादन होइन, मूल्य शृंखला
नेपालमा हामी धेरै दशकदेखि उत्पादन बढाउने कुरा गरिरहेका छौँ। तर उत्पादन बढेपछि के गर्ने भन्ने प्रश्न अझै कमजोर छ। किसानले तरकारी फलाउँछन्, तर बजार नपाएर बारीमै कुहिन्छ। अलैंची उत्पादन हुन्छ, तर राम्रो सुकाउने, छान्ने, वर्गीकरण गर्ने, भण्डारण गर्ने र अन्तर्राष्ट्रिय बजारमा पहिचान दिने प्रणाली कमजोर छ। अदुवा, बेसार, चिया, कफी, स्थानीय धान, फलफूल, मह र जडीबुटीमा पनि यही अवस्था छ।
Hayleys बाट सिक्नुपर्ने दोस्रो ठूलो पाठ यही हो उत्पादन मात्र पर्याप्त हुँदैन; उत्पादनदेखि उपभोक्तासम्मको मूल्य शृंखला निर्माण गर्नुपर्छ। मूल्य शृंखलामा बीउ, रोपण सामग्री, खेती प्रविधि, उत्पादन, संकलन, सफाइ, छानाइ, वर्गीकरण, प्रशोधन, प्याकेजिङ, भण्डारण, ढुवानी, ब्रान्ड निर्माण, प्रमाणिकरण, बजार जानकारी, निर्यात मापदण्ड र खरिदकर्तासँगको सम्बन्ध सबै पर्छन्।
नेपालमा अहिले यी कडीहरू टुक्रिएका छन्। किसान आफ्नै ठाउँमा, व्यापारी आफ्नै ठाउँमा, सहकारी आफ्नै ठाउँमा, बैंक आफ्नै ठाउँमा, अनुसन्धान संस्था आफ्नै ठाउँमा, सरकार आफ्नै ठाउँमा र निर्यातकर्ता आफ्नै ठाउँमा छन्। जबसम्म यी सबैलाई एउटै प्रणालीमा जोडिँदैन, तबसम्म कृषि समृद्धिको आधार बन्न सक्दैन।
विविधीकरणले जोखिम घटाउँछ
Hayleys को अर्को महत्वपूर्ण विशेषता यसको विविधीकरण हो। यो केवल एउटा वस्तु वा एउटा बजारमा निर्भर छैन। कृषि छ, प्लान्टेसन छ, चिया निर्यात छ, ढुवानी सेवा छ, ऊर्जा छ, उपभोक्ता सामग्री छ, होटल छ, कपडा छ, प्राकृतिक रेशा छ, शुद्धीकरण सामग्री छ। यसले कम्पनीलाई जोखिमबाट बचाएको छ। कुनै एक क्षेत्रमा समस्या आयो भने अर्को क्षेत्रले सहारा दिन सक्छ। बजारको उतारचढाव, मौसमको जोखिम, राजनीतिक अस्थिरता वा अन्तर्राष्ट्रिय व्यापारका कठिनाइहरूलाई सामना गर्न यस्तो विविध संरचना उपयोगी हुन्छ।
नेपालमा पनि कृषि व्यवसायलाई एकल बाली वा एकल उत्पादनमा मात्र सीमित राख्नु हुँदैन। उदाहरणका लागि, कोशी प्रदेशमा चिया, अलैंची, अदुवा, बेसार, कफी, तरकारी, फलफूल, जडीबुटी, दुग्ध, माछा, फूल र ग्रामीण पर्यटनलाई जोडेर बहुआयामिक कृषि–व्यवसाय निर्माण गर्न सकिन्छ। मधेशमा धान, गहुँ, मकै, तरकारी, फलफूल, माछा, दुग्ध, खाद्य प्रशोधन र सौर्य ऊर्जालाई जोड्न सकिन्छ। पहाडमा कफी, सुन्तला, किवी, जडीबुटी, मह, च्याउ, आलु, बीउ, होमस्टे र प्रकृति–पर्यटन जोड्न सकिन्छ। कृषि तब मात्र बलियो हुन्छ, जब त्यो प्रकृति, उद्योग, सेवा, संस्कृति र बजारसँग जोडिन्छ।
गुणस्तर र विश्वासको महत्त्व
अन्तर्राष्ट्रिय बजारमा पुग्न केवल राम्रो उत्पादन भएर पुग्दैन। त्यहाँ गुणस्तर चाहिन्छ, निरन्तर आपूर्ति चाहिन्छ, प्रमाणिकरण चाहिन्छ, अवशेष परीक्षण चाहिन्छ, सही प्याकेजिङ चाहिन्छ, समयमै ढुवानी चाहिन्छ र सबैभन्दा बढी विश्वास चाहिन्छ। Hayleys जस्ता कम्पनीहरूको शक्ति यही विश्वासमा छ। उनीहरू विश्व बजारका खरिदकर्तालाई निश्चित गुणस्तर र समयमै आपूर्ति गर्न सक्छन्। त्यसैले उनीहरूको उत्पादनलाई बजारले पत्याउँछ।
नेपालका धेरै उत्पादन स्वाद, सुगन्ध, जैविक विविधता र भौगोलिक विशिष्टताका हिसाबले उत्कृष्ट छन्। तर अन्तर्राष्ट्रिय बजारमा हाम्रो कमजोरी गुणस्तरको निरन्तरता, प्रमाणिकरण, भण्डारण, प्याकेजिङ, ब्रान्ड निर्माण र आपूर्ति अनुशासनमा छ। हाम्रो अलैंची विश्वमै उत्कृष्ट हुन सक्छ, तर त्यसलाई विश्व बजारमा नेपाली पहिचानसहित उच्च मूल्यमा बेच्न हामीले अझै धेरै काम गर्नुपर्छ। हाम्रो चिया उत्कृष्ट छ, तर “नेपाली चिया” लाई श्रीलंकाको “Ceylon Tea” जस्तै बलियो विश्व पहिचान दिन सकिएको छैन। हाम्रो अदुवा, बेसार, कफी, मह, जडीबुटी र स्थानीय धानका जातहरू पनि प्रिमियम बजारमा जान सक्छन्, तर त्यसका लागि प्रणाली चाहिन्छ।
नेपालमा Hayleys जस्तो सोच किन आवश्यक छ?
नेपाललाई Hayleys को नक्कल गर्नुपर्ने होइन। श्रीलंका समुद्रसँग जोडिएको देश हो, नेपाल भूपरिवेष्ठित देश हो। श्रीलंकाको प्लान्टेसन इतिहास, बन्दरगाह सुविधा, व्यापार संरचना र निर्यात प्रणाली नेपालभन्दा फरक छ। त्यसैले Hayleys को ढाँचा जस्ताको तस्तै नेपालमा ल्याउन खोज्नु उचित हुँदैन।तर Hayleys बाट नेपालले सोच सिक्न सक्छ।
सिक्नुपर्ने कुरा भवनको भव्यता होइन, प्रणालीको बिकास र अनुशासन हो।
सिक्नुपर्ने कुरा नाफा होइन, दीर्घकालीन दृष्टि हो।
सिक्नुपर्ने कुरा कम्पनीको नाम होइन, किसानदेखि विश्व बजारसम्म जोड्ने क्षमता र बिश्वासिलो उत्पादन हो।
सिक्नुपर्ने कुरा व्यापार मात्र होइन, उत्पादनलाई राष्ट्रिय पहिचानमा बदल्ने कला हो।
नेपालमा पनि अब यस्ता व्यावसायिक समूहहरू आवश्यक छन्, जसले किसानसँग काम गरोस्, उत्पादन क्षेत्रमै सेवा केन्द्र बनाओस्, प्रशोधन र भण्डारणमा लगानी गरोस्, गुणस्तर मापदण्ड लागू गरोस्, नेपाली उत्पादनको पहिचान निर्माण गरोस् र विश्व बजारसम्म पुग्ने बाटो खोलोस्। यो कुरामा सरकारले सहजकर्ता र सहयोगीको भुमिका निभाउन सक्छ ।
Hayleys सँग नेपालीहरूले सहकार्य गर्न सक्ने सम्भावना
Hayleys PLC वा यसका विभिन्न शाखाहरूसँग नेपाली निजी क्षेत्र, सहकारी, प्रदेश सरकार, लगानीकर्ता, कृषि उद्यमी र निर्यातकर्ताहरूले विभिन्न क्षेत्रमा सहकार्य गर्न सक्छन्। यस्तो सहकार्य भावनात्मक उत्साहका आधारमा होइन, स्पष्ट प्रस्ताव, आपसी लाभ र व्यावसायिक विश्वासका आधारमा हुनुपर्छ। केहि क्षेत्रहरू निम्नानुसार हुनसक्छन ।
१. कृषि सामग्री र प्रविधि
Hayleys Agriculture ले मल, बीउ, बाली संरक्षण सामग्री, कृषि यन्त्र, सिँचाइ प्रणाली र पानी व्यवस्थापनमा काम गर्छ। नेपालका तराई, भित्री मधेश र पहाडी खेती प्रणालीका लागि साना तथा मध्यम आकारका कृषि यन्त्र, सिँचाइ प्रविधि, संरक्षित खेती, नर्सरी प्रविधि र बालीअनुसारका सेवा प्याकेजमा सहकार्य सम्भव छ।
२. रोगमुक्त रोपण सामग्री
Hayleys ले टिस्यु कल्चर र रोपण सामग्रीको क्षेत्रमा काम गरेको छ। नेपालमा केरा, आलु बीउ, अलैंची, फलफूल, फूल, बाँस, जडीबुटी र अन्य उच्च मूल्यका बालीका लागि रोगमुक्त रोपण सामग्रीको ठूलो आवश्यकता छ। निजी प्रयोगशाला, नर्सरी सञ्जाल र प्रमाणिकरण प्रणाली विकास गर्न यस्तो सहकार्य उपयोगी हुन सक्छ।
३. कृषि प्रशोधन
नेपालमा अदुवा, बेसार, टमाटर, कागती, अमला, लप्सी, सुन्तला, किवी, खुर्सानी, मकै, कोदो, फापर, स्थानीय धान, मह र जडीबुटी प्रशोधन गरेर उच्च मूल्यमा बेच्न सकिन्छ। Hayleys जस्ता कम्पनीहरूको प्रशोधन, प्याकेजिङ र बजार अनुभवबाट सिक्न सकिन्छ।
४. चिया, कफी र मसला
नेपाल र श्रीलंका दुवै चियासँग परिचित देश हुन्। श्रीलंकाले “Ceylon Tea” लाई विश्व बजारमा बलियो पहिचान दिएको छ। नेपालले पनि इलाम, धनकुटा, पाँचथर र अन्य पहाडी जिल्लाका चियालाई अझ स्पष्ट पहिचान दिन सक्छ। कफी, अलैंची, अदुवा र बेसारमा पनि यस्तै सम्भावना छ।
५. ढुवानी र निर्यात व्यवस्थापन
नेपालको निर्यातमा ठूलो समस्या उत्पादन मात्र होइन; ढुवानी, कागजी प्रक्रिया, भन्सार, भण्डारण, प्याकेजिङ, समयमै आपूर्ति र अन्तर्राष्ट्रिय खरिदकर्तासँगको सम्बन्ध पनि हो। Hayleys को ढुवानी तथा आपूर्ति व्यवस्थापन शाखासँग क्षेत्रीय व्यापार, विशेष गरी नेपाल–भारत–बंगलादेश–श्रीलंका सम्बन्धी आपूर्ति व्यवस्थापनमा सहकार्य खोज्न सकिन्छ।
६. प्राकृतिक रेशा र वातावरणमैत्री उत्पादन
Hayleys नरिवल र प्राकृतिक रेशामा आधारित उत्पादनसँग ऐतिहासिक रूपमा जोडिएको कम्पनी हो। नेपालमा कोयर कम भए पनि अल्लो, गाँजा जातका औद्योगिक रेशा, बाँस, केरा रेशा, लोक्टा, जङ्गली घाँस र अन्य प्राकृतिक सामग्रीबाट वातावरणमैत्री उत्पादन बनाउन सकिन्छ। प्याकेजिङ, हस्तकला, कृषि मल्च, गमला, म्याट, पर्यटन सामग्री र सजावटी वस्तुमा सम्भावना छ।
७. सौर्य ऊर्जा र कृषि प्रशोधन
नेपालमा सौर्य ऊर्जालाई सिँचाइ, कोल्ड स्टोर, मसला सुकाउने यन्त्र, दुग्ध चिस्यान केन्द्र, धान मिल, फलफूल प्रशोधन, पहाडी संकलन केन्द्र र जडीबुटी प्रशोधनसँग जोड्न सकिन्छ। Hayleys जस्ता ऊर्जा क्षेत्रमा अनुभवी समूहसँग सौर्य ऊर्जामा आधारित कृषि प्रशोधन केन्द्र विकास गर्न सकिन्छ।
सहकार्य कसरी सुरु गर्ने?
यस्तो सहकार्य सुरु गर्न नेपालले स्पष्ट तयारी गर्नुपर्छ। केवल “आउनुस्, लगानी गर्नुस्” भनेर हुँदैन। हामीसँग के छ, कहाँ छ, कति छ, कस्तो गुणस्तर छ, कसले उत्पादन गर्छ, कसले व्यवस्थापन गर्छ, बजार कहाँ छ, जोखिम के छ, सरकारको भूमिका के हुन्छ—यी सबै कुरा स्पष्ट हुनुपर्छ।
पहिलो चरणमा नेपाल–श्रीलंका कृषि–व्यवसाय अध्ययन भ्रमण आयोजना गर्न सकिन्छ। नेपाली उद्यमी, सहकारी प्रतिनिधि, प्रदेश सरकार, कृषि विज्ञ, बैंक तथा लगानीकर्ताहरूले Hayleys का कृषि, चिया, प्लान्टेसन, प्रशोधन, ढुवानी, ऊर्जा र निर्यात व्यवस्थापन शाखाहरूको अध्ययन गर्न सक्छन्।
दोस्रो चरणमा नेपाल–Hayleys कृषि–व्यवसाय गोलमेच छलफल गर्न सकिन्छ। यसमा नेपालको सम्भावित उत्पादनहरूको सूची प्रस्तुत गर्न सकिन्छ—अलैंची, अदुवा, बेसार, चिया, कफी, मह, जडीबुटी, स्थानीय धान, फलफूल, प्राकृतिक रेशा र फूल।
तेस्रो चरणमा सानो नमूना कार्यक्रम सुरु गर्न सकिन्छ। उदाहरणका लागि, कोशी प्रदेशमा अदुवा–बेसार–अलैंची प्रशोधन र निर्यात नमूना कार्यक्रम; इलाम–धनकुटामा विशेष चिया र कफी पहिचान कार्यक्रम; मधेश वा कोशीमा सौर्य ऊर्जामा आधारित कृषि प्रशोधन केन्द्र; वा देशभरका नर्सरी व्यवसायीलाई जोड्ने रोगमुक्त रोपण सामग्री सञ्जाल।
चौथो चरणमा मात्र संयुक्त लगानी, प्राविधिक साझेदारी वा व्यापारिक सम्झौता अगाडि बढाउनुपर्छ।
सावधानी पनि उत्तिकै आवश्यक
ठूला कम्पनीसँग सहकार्य गर्दा उत्साहसँगै सावधानी पनि आवश्यक हुन्छ। नेपाली किसान, स्थानीय उद्यमी, सहकारी र राष्ट्रिय हित सुरक्षित हुनुपर्छ। करार खेती गर्दा मूल्य कसरी निर्धारण हुन्छ? बीउ र रोपण सामग्रीमा बौद्धिक स्वामित्व कसको हुन्छ? स्थानीय रोजगारी कति सिर्जना हुन्छ? नाफा कसरी बाँडिन्छ? वातावरणीय प्रभाव के हुन्छ? किसानको जोखिम कसले लिन्छ? यी प्रश्नहरू सुरुमै स्पष्ट हुनुपर्छ।
नेपालले विदेशी कम्पनीबाट सिक्नुपर्छ, तर आफ्नै आत्मा गुमाउनु हुँदैन। हाम्रो लक्ष्य केवल बाहिरी कम्पनीलाई बजार दिनु होइन; नेपाली किसान, नेपाली उद्यमी र नेपाली उत्पादनलाई विश्व बजारमा पुर्याउने प्रणाली बनाउनु हो।
अब नेपालले के गर्ने?
नेपालले Hayleys बाट प्रेरणा लिएर आफ्नै कृषि–व्यवसाय रूपान्तरणको बाटो बनाउन सक्छ। त्यसका लागि केही आधारभूत काम आवश्यक छन्। प्रदेशस्तरमा कृषि–व्यवसाय सम्भावनाको नक्सांकन गर्नुपर्छ। कुन जिल्लामा कुन उत्पादन, कुन प्रशोधन, कुन बजार र कुन लगानी सम्भव छ भन्ने स्पष्ट गर्नुपर्छ।
उत्पादन क्षेत्रअनुसार नेतृत्व गर्न सक्ने निजी कम्पनी वा सहकारी समूह पहिचान गर्नुपर्छ। सबै काम सरकारले गर्न सक्दैन, सबै काम किसानले एक्लै गर्न सक्दैनन्। बीचमा पेशागत व्यावसायिक संस्थाहरू चाहिन्छन्। किसान, सहकारी, निजी कम्पनी, अनुसन्धान संस्था, बैंक र सरकारलाई जोड्ने प्रणाली बनाउनुपर्छ। अहिले यी सबै फरक–फरक दिशामा हिँडिरहेका छन्।
प्रशोधन, भण्डारण, ब्रान्ड निर्माण र निर्यात मापदण्डमा लगानी गर्नुपर्छ। खेतमा उत्पादन बढाएर मात्र हुँदैन, बजारले माग्ने रूपमा उत्पादन तयार गर्नुपर्छ। नेपाली उत्पादनको पहिचान स्पष्ट बनाउनुपर्छ—हिमाली, जैविक विविधतायुक्त, साना किसानले उत्पादन गरेको, जलवायु–मैत्री, पारदर्शी र विश्वासिलो। हाम्रा धेरै बिगतका प्रयासहरू हाम्रा आफ्नै अविश्वासिला कामहरूले धवस्त भएका छन । लामो दुरी हिडन चाहना राख्नेले साना तिना क्षणिक लोभमा फस्नु हुदैन ।
युवाहरूलाई कृषि–उद्योग, खाद्य प्रविधि, ढुवानी व्यवस्थापन, डिजिटल बजार, निर्यात, प्याकेजिङ र ब्रान्ड निर्माणमा आकर्षित गर्नुपर्छ। कृषि केवल हलो, कोदालो र खेतमा सीमित रहेन; अब यो ज्ञान, प्रविधि, बजार र सृजनशीलताको क्षेत्र पनि हो।
निष्कर्ष: कल्पनाबाट कार्ययोजनासम्म
२०१९ मा Hayleys PLC को मुख्य कार्यालयबाट बाहिर निस्कँदा मेरो मनमा उठेको प्रश्न आज पनि उत्तिकै जीवित छ—नेपालमा पनि यस्तो संस्था किन नबन्ने? तर यस्तो संस्था केवल ठूलो भवनबाट बन्दैन। यो किसानको खेतबाट सुरु हुनुपर्छ। यो विश्वासबाट सुरु हुनुपर्छ। यो गुणस्तरबाट सुरु हुनुपर्छ। यो अनुशासन, दीर्घकालीन दृष्टि, पेशागत व्यवस्थापन, नवप्रवर्तन र बजारसँगको इमानदार सम्बन्धबाट सुरु हुनुपर्छ।
Hayleys PLC ले श्रीलंकामा देखाएको बाटोले हामीलाई भन्छ सानो देश हुनु कमजोरी होइन। यदि देशले आफ्नो उत्पादन, प्रकृति, श्रम, ज्ञान र उद्यमशीलतालाई एउटै प्रणालीमा जोड्न सक्छ भने, त्यो देशले विश्व बजारमा आफ्नो स्थान बनाउन सक्छ। नेपालसँग सबै कुरा छ जमिन छ, पानी छ, जैविक विविधता छ, किसान छन्, युवा छन्, प्रविधि सिक्न सक्ने क्षमता छ, विदेशमा अनुभव बटुलेका नेपाली छन्, र विश्व बजारमा फरक पहिचान बनाउन सक्ने उत्पादनहरू छन्। कमी छ त केवल जोड्ने सोच, संस्थागत नेतृत्व, बिश्वासिलो लगन र दीर्घकालीन प्रतिबद्धताको।
Hayleys PLC को अध्ययनबाट नेपालले लिने सबैभन्दा ठूलो सन्देश यही हो—कृषि तब मात्र समृद्धि बन्छ, जब खेत, किसान, उद्योग, प्रविधि, बजार र राष्ट्रको दृष्टि एउटै प्रवाहमा मिसिन्छन्। त्यो प्रवाह सुरु भयो भने नेपालको पहाडको अलैंची, तराईको धान, इलामको चिया, गुल्मीको कफी, जुम्लाको स्याउ, पूर्वको अदुवा, मधेशको तरकारी, गाउँको मह र हिमाली जडीबुटी पनि विश्व बजारसम्म गर्वका साथ पुग्न सक्छन्। र यस्तो भयो भने सायद कुनै दिन, कुनै नेपाली युवा कुनै ठूलो नेपाली कृषि–व्यवसाय समूहको कार्यालयमा उभिएर यही प्रश्नको उत्तर देख्नेछ हो, नेपालमा पनि यस्तो सम्भव छ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।