विराटनगर । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी प्रदेशका मुख्य राजमार्गहरूमा आवागमन पूर्ण रूपमा ठप्प भएको छ । मेची राजमार्ग र मध्यपहाडी लोकमार्गका विभिन्न खण्ड अवरुद्ध हुँदा प्रदेशको पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
नेपाल प्रहरीका अनुसार, कोशी प्रदेशको इलाम र पाँचथर खण्डमा पर्ने मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ । इलाम नगरपालिका–९ राजदुवाली र पाँचथरको याङवरक गाउँपालिका–१ खोबरे खोलास्थित सडकखण्डमा पहिरो खसेपछि यातायात ठप्प भएको हो ।
यस्तै, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ माटेखोला क्षेत्रमा पहिरो जाँदा मध्यपहाडी लोकमार्गको दिक्तेल–भोजपुर सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा भने बाढीका कारण सडक क्षतिग्रस्त भएपछि हाल एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
कोशी प्रदेशसँगै देशभरका अन्य नौ प्रमुख राजमार्गहरू पनि बाढी र पहिरोका कारण प्रभावित भएका छन् । बागमती प्रदेशमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्ग र काठमाडौँ–हेटौँडा जोड्ने कान्ति लोकपथमा अर्को सूचना नभएसम्मका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ ।
यता, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग र चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङस्थित पृथ्वी राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ । धादिङको बेनीघाट रोराङस्थित जवाङखोलामा सडक बन्द हुँदा पृथ्वी लोकमार्गको यात्रा असहज बनेको छ । रसुवाको पासाङल्हामु सडकखण्डमा भने एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।
वर्षा जारी रहेकाले बाढी र पहिरोको जोखिम अझै कायमै रहेको प्रहरीको भनाइ छ । नेपाल प्रहरीले यात्रामा निस्कनुअघि अनिवार्य रूपमा सम्बन्धित निकाय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा तय गर्न सर्वसाधारणलाई विशेष आग्रह गरेको छ ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।