लोड हुँदैछ...

मेनु

संसद्को मर्यादा र सभामुखको भूमिका: केही गम्भीर प्रश्नहरू

सहिदको अपमान र संसद्मा ‘ढ्यापढ्यापे’ संस्कृति

सहिदको अपमान र संसद्मा ‘ढ्यापढ्यापे’ संस्कृति

– माजिद अन्सारी

हिजो र आज प्रतिनिधि सभामा माननीय सदस्यहरू र आसनमा आसिन सभामुख (उपसभामुख) डिपी अर्यालबीच जुन प्रकारको संवाद र व्यवहार देखियो, त्यो संसदीय लोकतन्त्रका लागि सुखद छैन । संसद्को टेबल ठोकेर आफ्नो कमजोरी ढाकछोप गर्न खोज्ने बहुमत सदस्यहरूको असंसदीय क्रियाकलाप र सभामुखको भूमिकामाथि गम्भीर प्रश्नहरू उब्जिएका छन् ।

पहिलो घटना:
हिजो प्रतिनिधि सभामा माननीय सदस्य निश्चल राईले “जेनजी (Gen-Z) विद्रोहका सहिदहरूप्रति सम्मान प्रकट गर्दै साथीहरूलाई मौन धारणका लागि उठ्न अनुरोध गर्दछु” भन्दै गर्दा संसद्मा एक प्रकारको स्तब्धता छाएको थियो । माननीय सदस्यहरू उठेर मौन धारण गरिरहेकै अवस्थामा सभामुखको आसनबाट डिपी अर्यालले “सदन चलाउने काम सभामुखको हो, आफूखुसी यसरी सदन चलाए जस्तो गर्नु ठीक होइन” भन्नुभयो ।

प्राविधिक रूपमा, कार्यसूचीमा नभएको विषयमा आफैँले सदन चलाए जस्तो गरी मौन धारणको आह्वान गर्नु संसदीय परम्परा विपरीत हुन सक्छ । माननीय निश्चल राईले शोक प्रस्तावमार्फत यो विषय ल्याउनु पर्थ्यो । तर, के त्यो समय सभामुखले ‘अधिकार’ देखाउने उपयुक्त मौका थियो ?

रास्वपाका माननीय सदस्यहरू बाहेक लगभग सबै दलका सदस्य र क्यामेरा पर्सन समेतले मौन धारण गरिरहेको त्यो संवेदनशील क्षणमा सभामुखले “म नै सर्वेसर्वा हुँ” भन्ने शैलीमा बोल्नु कति सान्दर्भिक थियो ? जुन ‘जेनजी विद्रोह’ र सहिदको जगमा आज नयाँ शक्तिहरूको उदय भएको छ, त्यही विद्रोहका सहिदप्रति सम्मान प्रकट भइरहँदा सभामुखलाई आफ्नो कुर्सीको अख्तियारी देखाउन अलिकति पनि संकोच भएन ? मौन धारण सकिएपछि मात्र संसदीय मर्यादाको पाठ पढाएको भए के बिग्रन्थ्यो ?

अझ अचम्मको कुरा त सत्तापक्षका ती माननीय सदस्यहरूको व्यवहार देखियो, जो चुनावमा “जेनजी सहिदको रगत खेर जान दिँदैनौँ, हामी नै नयाँ हौँ” भन्दै भोट मागेर आएका थिए । सहिदको सम्मानमा मौन धारण भइरहँदा टेबल ठोकेर अवरोध गर्ने ती सदस्यहरूलाई आफ्नो इमानले अलिकति पनि पोलेन ?

दोस्रो घटना:
आज प्रतिनिधि सभामा प्रमुख विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले “सभामुख ज्यूमार्फत अन्तिममा एउटा कुरा भन्दै टुङ्ग्याउँछु” भनी आफ्नो विचार राखिरहँदा सत्तापक्षका माननीय सदस्यहरूबाट निरन्तर ढ्यापढ्याप (टेबल ठोक्ने काम) भयो । भिडियोमा देखिए अनुसार, सुरुमा माननीय रवि लामिछानेले टेबल ठोकिसकेपछि अरू सदस्यहरूले पनि त्यसलाई निरन्तरता दिएको देखिन्छ ।

लोकतान्त्रिक पद्धतिमा प्रधानमन्त्री र प्रमुख विपक्षी दलका नेतालाई समयको सीमा नलगाई बोल्न दिने विश्वव्यापी परम्परा छ । तर, विपक्षी दलको नेताले बोलिरहँदा उनलाई बोल्न नदिने नियतले जुन प्रकारको ‘असंसदीय धुन’ बजाइयो, त्यसले संसद्कै उपहास गरेको छ । कुनै समय पूर्वसांसद सुमना श्रेष्ठले प्रयोग गर्नुभएको ‘ढ्यापढ्यापे माननीय’ भन्ने उपमा आज आफ्नै दलका साथीहरूको व्यवहारमा सार्थक भएको देख्दा ताज्जुब लाग्छ ।

निष्कर्ष:
वर्तमान सभामुखको भूमिकामा पूर्वसभामुख देवराज घिमिरेकै छाया देखिनु दुर्भाग्यपूर्ण छ । केवल अनुहार परिवर्तन हुनु र कार्यशैली उस्तै रहनुले संसद्मा नयाँपनको आभास दिँदैन । सभामुख डिपी अर्याल ज्यूले यदि कसैको नक्कल नै गर्नु छ भने स्वर्गीय सुवास नेम्वाङको गर्ने प्रयास गर्नुहोस्, जसले संसद्लाई सधैँ सहमतिको साझा थलो बनाउनुभयो । सभामुखको कुर्सीले शक्तिको होइन, न्याय र निष्पक्षताको अनुभूति गराओस् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।