प्रकृतिसँग मानिसको सम्बन्ध केवल दृश्यावलोकनको सम्बन्ध मात्र होइन यो तअनुभूति, शिक्षा, संरक्षण र जीविकोपार्जनको सम्बन्ध पनि हो। पछिल्ला वर्षहरूमा संसारभरि यही सम्बन्धलाई पर्यटनको नयाँ रूपले जोड्न थालेको छ । चरा अवलोकन, चरा फोटोग्राफी र चरा–आधारित प्रकृति पर्यटन। पहिले केही प्रकृतिप्रेमी, वैज्ञानिक वा सीमित सौखिन मानिसहरूको रुचिका रूपमा हेरिने चरा अवलोकन आज विश्व पर्यटनको उदीयमान, उच्च मूल्य भएको र कम प्रभाव पार्ने प्रकृति–पर्यटनका रूपमा विकसित भइरहेको छ।

फोटोहरू: जलअप्सरा, चञ्चले सुड्सुडियार मन्डारीन हाँसहरू
आजका पर्यटकहरू केवल होटल, सहर, स्मारक वा मनोरञ्जनस्थलमा सीमित रहन चाहँदैनन्। उनीहरू शान्त प्रकृति, स्थानीय संस्कृति, ग्रामीण जीवन, जैविक विविधता र अर्थपूर्ण अनुभव खोजिरहेका छन्। त्यसैले चरा पर्यटनले विश्वका धेरै देशमा नयाँ सम्भावना खोलेको छ। चरा हेर्न आउने पर्यटक सामान्य पर्यटकभन्दा केही फरक हुन्छन्। उनीहरू चराहरूसंगै बिहान चाँडै उठ्छन्, चराहरूका गतिविधि अवलोकन गर्न लामो समय एउटै स्थानमा बस्न सक्छन्, चरा खोज्न स्थानीय गाइड चाहन्छन्, राम्रो आवास, सुरक्षित बाटो, चराहरूको प्रजाति सूची, फोटो खिच्ने ठाउँ र व्याख्यात्मक जानकारी खोज्छन्। उनीहरू एकपटक मात्र होइन, मौसमअनुसार पटक–पटक यात्रा गर्ने सम्भावना भएका पर्यटक पनि हुन्। एक पटकको राम्रो अनुभवले उनीहरूलार्इ पटक पटक त्यहि ठाँउहरुमा बोलार्इरहन्छ । उनीहरूसंगै जोडिएर अरु धेरै त्यहाँ आर्इपुग्छन ।
विश्व परिदृश्य: चरा पर्यटन अब सानो सौख होइन
विश्वमा चरा पर्यटनलाई आज “एभिटुरिज्म” अर्थात् चरा–आधारित पर्यटनका रूपमा बुझिन्छ। यो केवल चरा हेर्ने गतिविधि होइन; यो संरक्षण, स्थानीय जीविकोपार्जन, शिक्षा, फोटोग्राफी, अनुसन्धान र ग्रामीण अर्थतन्त्रसँग जोडिएको क्षेत्र हो। पछिल्ला बजार अध्ययनहरूले चरा अवलोकन पर्यटनलाई ठूलो र बढ्दो बजारका रूपमा देखाएका छन्। एक अन्तर्राष्ट्रिय बजार अध्ययनअनुसार सन् २०२५ मा विश्वको चरा अवलोकन पर्यटन बजार करिब ७०.०४ अर्ब अमेरिकी डलर बराबर अनुमान गरिएको छ र सन् २०३३ सम्म यो ११७.१६ अर्ब अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ। यस तथ्याङ्कले चरा पर्यटन अब सीमित सौख मात्र नभएर प्रकृतिमा आधारित विश्व पर्यटन अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बन्दै गएको देखाउँछ।
दक्षिण अमेरिकाका केही देशहरू यसका उत्कृष्ट उदाहरण बनेका छन्। कोलम्बिया अहिले संसारकै सबैभन्दा महत्वपूर्ण चरा गन्तव्यहरूमा पर्छ। त्यहाँको भौगोलिक विविधता, वन, पहाड, नदीघाटी र अमेजन क्षेत्रले चरा पर्यटनलाई असाधारण आधार दिएको छ। कोलम्बियामा पहिले द्वन्द्वका कारण कम पुगेका क्षेत्रहरू अहिले चरा पर्यटनका माध्यमबाट पुनः खुलिरहेका छन्। स्थानीय समुदाय, युवा गाइड, होमस्टे, साना लज, निजी संरक्षण क्षेत्र र नागरिक–विज्ञान कार्यक्रमहरूले त्यहाँ चरा पर्यटनलाई जीविकोपार्जन र संरक्षणसँग जोड्न थालेका छन्।
इक्वेडरको अनुभव पनि त्यत्तिकै प्रेरणादायी छ। त्यहाँ कतिपय किसानहरूले आफ्नो जमिनलाई चरा आरक्ष, प्रकृति लज वा चरा फोटोग्राफीस्थलमा रूपान्तरण गरेका छन्। पहिले बालीमा क्षति पुर्याउने भनेर हेर्ने चरालाई पछि उनीहरूले आम्दानी, पहिचान र संरक्षणको स्रोतका रूपमा बुझ्न थालेकाछन। जहाँ चराको बासस्थान जोगाइयो, त्यहाँ पर्यटक आए, गाइडहरूको रोजगारी सिर्जना भयो, स्थानीय खाना, आवास र यातायातको माग बढ्यो। यी उदाहरणहरूले एउटा महत्वपूर्ण सन्देश दिन्छन जैविक विविधता जोगाउनु केवल वातावरणीय काम होइन, सही ढंगले व्यवस्थापन गर्न सके ग्रामीण अर्थतन्त्रको नयाँ ढोका पनि हो।
युरोप, उत्तर अमेरिका, अफ्रिका र अष्ट्रेलियामा पनि चरा पर्यटनले स्थानीय अर्थतन्त्रलाई सहयोग गरिरहेको छ। कतिपय देशमा नदीकिनार, सिमसार, तटीय क्षेत्र, वन र कृषि परिदृश्यलाई चरा हेर्ने गन्तव्यका रूपमा विकसित गरिएको छ। चरा अवलोकन मार्ग, अवलोकन टावर, फोटो हाइड, व्याख्या केन्द्र, प्रशिक्षित गाइड, डिजिटल चेकलिस्ट र चरा महोत्सवजस्ता गतिविधिले यी क्षेत्रहरूलाई बलियो बनाएका छन्।
दक्षिण एसिया: विविधता धेरै, व्यवस्थापन असमान
दक्षिण एसिया चराको हिसाबले अत्यन्त समृद्ध क्षेत्र हो। हिमालय, गंगा–ब्रह्मपुत्र मैदान, सिमसार, तटीय क्षेत्र, घना वन, घाँसेमैदान, टापु र कृषि प्रणालीले यस क्षेत्रलाई विश्वकै महत्वपूर्ण चरा आवास बनाएको छ। तर चरा पर्यटनको विकास देशअनुसार फरक छ।
भारतमा चरा पर्यटन निकै अगाडि बढेको छ। भारतका राष्ट्रिय निकुञ्ज, सिमसार, घाँसेमैदान, पश्चिमी घाट, हिमाली क्षेत्र र मरुभूमि क्षेत्रहरू चराका लागि अत्यन्त महत्वपूर्ण छन्। केवल अन्तर्राष्ट्रिय पर्यटक मात्र होइन, भारतमा घरेलु चरा अवलोकन समुदाय पनि तीव्र रूपमा बढिरहेको छ। नागरिक–विज्ञान, ईबर्ड अभिलेख, चरा गणना, फोटो क्लब र स्थानीय गाइडहरूले त्यहाँ चरा पर्यटनको आधार बलियो बनाएका छन्। भारतले चरा पर्यटनलाई केवल राष्ट्रिय निकुञ्जमा सीमित नराखी सिमसार, गाउँ, कृषि परिदृश्य, शहरनजिकका हरित क्षेत्र र विद्यालय–कलेजसम्म विस्तार गर्दै लगेको छ।
श्रीलंका सानो देश भए पनि चरा पर्यटनको उत्कृष्ट उदाहरण हो। त्यहाँको विशेषता भनेको छोटो दूरीमा धेरै आवासीय क्षेत्र र धेरै स्थानीय प्रजातिका चराहरू देख्न सकिने सुविधा हो। वर्षावन, पहाडी क्षेत्र, सुक्खा क्षेत्र, जलाशय, राष्ट्रिय निकुञ्ज र सांस्कृतिक स्थलहरूलाई जोडेर श्रीलंकाले चरा पर्यटनलाई राम्रो प्याकेज दिएको छ। नेपालले यसबाट सिक्न सक्ने कुरा भनेको चरा पर्यटन सफल हुन केवल चरा धेरै हुनु पर्याप्त छैन; छोटो, स्पष्ट, मौसमअनुसार भरपर्दो र आकर्षक यात्रा मार्ग तयार गर्नुपर्छ।
भुटानले चरा, संस्कृति र संरक्षणलाई जोडेर राम्रो उदाहरण दिएको छ। फोब्जिखा उपत्यकामा कालो घाँटी भएको क्रेन केवल चरा होइन, त्यहाँको सांस्कृतिक पहिचान र संरक्षण चेतनाको प्रतीक बनेको छ। चरा महोत्सव, स्थानीय विश्वास, संरक्षण शिक्षा र पर्यटनलाई जोडेर भुटानले चरा पर्यटनलाई गहिरो सांस्कृतिक अर्थ दिएको छ। नेपालमा पनि सारस, डाँफे, मुनाल, गिद्ध, हाँस, बकुल्ला, गरुड, किङफिसर र अन्य चरालाई स्थानीय संस्कृति र जैविक विविधताको कथासँग जोड्न सकिन्छ।
बंगलादेश, पाकिस्तान र भुटानमा पनि सिमसार, नदी प्रणाली र बसाइँसराइ गर्ने चराका कारण ठूलो सम्भावना छ। तर समग्र दक्षिण एसियाको चुनौती भनेको चराको विविधता धेरै भए पनि व्यवस्थित चरा पर्यटन, स्थानीय गाइड, पूर्वाधार, सुरक्षित बासस्थान र डिजिटल प्रचार पर्याप्त छैन। त्यसैले यो क्षेत्रबाट आउन सक्ने फाईदा यी देशहरूले उठाउन सकेका छैनन ।
नेपाल: चराका लागि विविधताले भरिएको सानो देश, विशाल सम्भावना
नेपाल भौगोलिक रूपमा सानो भए पनि चराको दृष्टिले अत्यन्त धनी देश हो। तराईको करिब ६० मिटर उचाइदेखि विश्वकै सर्वोच्च सगरमाथासम्म फैलिएको भौगोलिक विविधताले नेपाललाई चराका लागि अनुपम देश बनाएको छ। सिमसार, नदी, ताल, घाँसेमैदान, साल वन, मिश्रित वन, मध्यपहाडी वन, उच्च हिमाली झाडी, कृषि भूमि र ग्रामीण बस्तीयी सबैले अलग–अलग प्रजातिका चरालाई बासस्थान दिन्छन्।

फोटोहरू: बिभिन्न थरीका बकुल्लाहरू
नेपालमा ८९० भन्दा बढी चरा प्रजाति अभिलेख भएका छन्। Bird Conservation Nepal को २०२४ को Important Bird and Biodiversity Areas सम्बन्धी प्रकाशनले नेपालमा ८९२ चरा प्रजाति पुगेको उल्लेख गरेको छ। यसले नेपालको जैविक विविधताको असाधारण क्षमता देखाउँछ। तर यो सम्पत्ति अझै पनि पर्यटनको रूपमा पूर्ण रूपमा उपयोग भएको छैन। नेपाललाई विश्वले मुख्यतः सगरमाथा, पदयात्रा, हिमाल, चितवन, लुम्बिनी र सांस्कृतिक सम्पदाका रूपमा चिन्छ। “चरा हेर्ने नेपाल” भन्ने छवि अझै विश्व बजारमा पर्याप्त बलियो छैन। हाम्रोमा पाईने चराहरू, तिनका बासस्थान, तिनिहरूलाई अवलोकन गर्न सकिने उपयुक्त समय र त्यस्ता क्षेत्रहरूमा बस्ने खाने र अन्य सुविधाहरूको बारेमा रहेको सिमित जानकारीहरूले हाम्रो चरा पर्यटनलाई सिमित क्षेत्रमा खुम्च्याएर राखेकोछ ।
तर सम्भावना अपार छ। काठमाडौं उपत्यकाको फुल्चोकी–गोदावरी क्षेत्र, चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा, पोखराका तालहरू, लुम्बिनी क्षेत्र, कर्णाली र पश्चिम तराईका सिमसार, झापा/इलाम–मेची क्षेत्र, कञ्चनजंघा, मकालु–बरुण, लाङटाङ, अन्नपूर्ण र कोशी टप्पु, बरजु तालजस्ता क्षेत्रहरूलाई जोड्ने हो भने नेपाल एक अत्यन्त आकर्षक चरा पर्यटन गन्तव्य बन्न सक्छ।
नेपालको विशेष शक्ति भनेको “उचाइको यात्रा” हो। एकै देशभित्र पर्यटकले तराईका सिमसारका हाँस, बकुल्ला, सारस, गरुड, जलअप्सरा र जलचर चरा देख्न सकिन्छ; केही दिनमै मध्यपहाडी वनका बुलबुल/जुरेली, रानीचरी, कुथुर्के/मिलचरा/न्याउली, काठफोर/लाहाँचे, अर्जुनक/स्वर्गचरी र फिस्टाहरू देख्न सक्छ; अनि हिमाली क्षेत्रमा डाँफे, मुनाल, तितरा/कालिज, शिकारीचराहरु बाज/चिल/गिद्ध र उच्च हिमाली चराको खोजी गर्न सक्छ। यस्तो विविधता छोटो दूरीमा पाउन सकिने देशहरू धेरै छैनन्।

फोटोहरू: मुसे चील, कुथुर्के र जुरे सारौं
चरा पर्यटन किन नेपालका लागि उपयुक्त छ?
चरा पर्यटन नेपालका लागि उपयुक्त हुनुका केही स्पष्ट कारण छन्।
पहिलो, यो कम प्रभाव पार्ने पर्यटन हो। ठूलो भवन, ठूला संरचना वा भारी पूर्वाधार आवश्यक पर्दैन। राम्रो बाटो, सुरक्षित आवागमन, स्थानीय गाइड, सफा आवास, अवलोकन स्थान र व्याख्या सामग्री भए पुग्छ।
दोस्रो, यसले ग्रामीण अर्थतन्त्रलाई जोड्छ। चरा हेर्न आउने पर्यटक सहरको ठूला होटलमा मात्र बस्न चाहँदैनन्। उनीहरू गाउँ, वनकिनार, सिमसार, नदी, चियाबारी, खेतबारी र होमस्टेमा बस्न तयार हुन्छन्। यसले स्थानीय खाना, गाइड, यातायात, आवास, हस्तकला र स्थानीय उत्पादनको बजार बढाउन सक्छ।
तेस्रो, यसले संरक्षणलाई आर्थिक अर्थ दिन्छ। जब स्थानीय मानिसले चराबाट आम्दानी हुन सक्छ भन्ने बुझ्छन्, तब सिमसार जोगाउने, रूख काट्न रोक्ने, विषादी कम गर्ने, पोखरी बचाउने, चराको गुँड र बासस्थान नबिगार्ने प्रेरणा बढ्छ।
चौथो, चरा पर्यटनलाई कृषि, शिक्षा र युवारोजगारीसँग जोड्न सकिन्छ। विशेष गरी धानखेत, माछापोखरी, फलफूल बगैंचा, सामुदायिक वन, खोला र तालहरूलाई “एग्रो–बर्डिङ” गन्तव्य बनाउन सकिन्छ। किसानले चरालाई शत्रु होइन, खेतको पारिस्थितिक साथीका रूपमा देख्न थाल्न सक्छन्।
पूर्वी नेपाल: चरा पर्यटनको नयाँ केन्द्र बन्न सक्ने भूगोल
पूर्वी नेपाल, विशेष गरी कोशी प्रदेश, चरा पर्यटनका लागि अत्यन्त सम्भावनाशील क्षेत्र हो। यहाँ तराईको सिमसारदेखि मध्यपहाड, चियाबारी, सामुदायिक वन, नदी प्रणाली र हिमाली क्षेत्रसम्म जोडिएको जैविक विविधताको अनौठो शृंखला छ। विराटनगर, इटहरी, धरान, इनरुवा, मेचीनगर/काकरभिट्टा, इलाम र धनकुटा जस्ता सहरहरू चरा पर्यटनका प्रवेशद्वार बन्न सक्छन्।
पूर्वी नेपालको सबैभन्दा पहिचान बनाइसकेको गन्तव्य कोशी टप्पु वन्यजन्तु आरक्ष हो। नेपाल पर्यटन बोर्डको विवरणअनुसार कोशी टप्पुमा ४४१ प्रजातिका चरा पाइन्छन्। कोशी नदीको बाढी मैदान, घाँसेमैदान, दलदल, नदीकिनार, पोखरी र खुला सिमसारले यसलाई नेपालकै महत्वपूर्ण जलचर तथा बसाइँसराइ गर्ने चराको आवास बनाएको छ। कोशी टप्पु केवल चरा हेर्ने ठाउँ मात्र होइन, यो अर्ना, डल्फिन, घडियाल, बकुल्ला, गरुड, हाँस, शिकारी चराहरू र घाँसेमैदानका चराको संयुक्त परिदृश्य हो। यहाँ नेपाल, भारत र विश्वका चरा प्रेमीहरूलाई आकर्षित गर्ने क्षमता छ।
कोशी टप्पु नेपालकै पहिलो रामसार स्थल पनि हो। यो तथ्यले यसको अन्तर्राष्ट्रिय सिमसार महत्वलाई अझ बलियो बनाउँछ। तर पूर्वी नेपालको चरा पर्यटन कोशी टप्पुमा मात्र सीमित हुनुहुँदैन। कोशी टप्पु, कोशी ब्यारेज, बरजु ताल, बेतना सिमसार, मोरङ–सुनसरीका धानखेत र नदि किनारहरू,चतरा–बराह क्षेत्र, माइखोला–इलाम क्षेत्र, झापाको मेचीनगर नगारपालिका, इलामको रोङ र सूर्योदय नगारपालिका,धनकुटाका सामुदायिक वन र कञ्चनजंघा क्षेत्रलाई जोडेर पूर्वी नेपाललाई पूर्ण चरा पर्यटन मार्ग बनाउन सकिन्छ।
बरजु ताल: सुनसरीको लुकेको चरा रत्न
सुनसरीको बरजु ताल, जसलाई चिमडी ताल पनि भनिन्छ, पूर्वी नेपालको चरा पर्यटन नक्सामा अझ स्पष्ट रूपमा राखिनुपर्ने गन्तव्य हो। यो ताल स्थानीय रूपमा चिनिए पनि चरा पर्यटनका दृष्टिले अझै पर्याप्त रूपमा विकास हुन सकेको छैन। तर यसको महत्व अत्यन्त ठूलो छ।
बरजु ताल हिउँदमा बसाइँसराइ गर्ने चराका लागि आकर्षक गन्तव्य हो। अक्टोबरदेखि मार्चसम्म विभिन्न जलचर र आगन्तुक चराहरू यहाँ देखिन सक्छन्। एक अध्ययनमा बरजु/चिमडी ताल क्षेत्रमा चार/पाँच महिनाको अवधिमा २१ परिवारका ६० प्रजातिका चरा अभिलेख गरिएको थियो। त्यहाँ लालठूँडे चखेवा, चखेवा, मरुल, मल्लार्ड हाँस, जल अप्सरा, लामाऔले,साँवरीहरू, स्टोर्क, सिम भुइचिल, सुइरोठूँडे, बकुल्ला र अन्य धेरै जलचर तथा सिमसार–सम्बन्धित चराहरू देखिएका छन्।
बरजु तालको ठूलो बल भनेको यसको पहुँच र एकै ठाँउमा सजिलै देख्न सकिने धेरै चराहरू हो। विराटनगर, इनरुवा, इटहरी, दुहबी, धरान र आसपासका बस्तीबाट छोटो यात्रामा पुग्न सकिने भएकाले यो घरेलु चरा पर्यटन, विद्यार्थी भ्रमण, सप्ताहन्त चरा अवलोकन, फोटोग्राफी यात्रा र नागरिक–विज्ञानका लागि उपयुक्त स्थान बन्न सक्छ। यदि व्यवस्थित अवलोकन टावर, फोटो हाइड, सूचना बोर्ड, स्थानीय गाइड, सफा बाटो, फोहोर व्यवस्थापन र संरक्षण शिक्षा जोड्न सकियो भने बरजु ताल सुनसरीको महत्वपूर्ण प्रकृति–पर्यटन केन्द्र बन्न सक्छ।
बरजु तालको विशेषता यसको “निकटता” हो। धेरै अन्तर्राष्ट्रिय गन्तव्यहरू टाढा र महँगा हुन्छन्, तर बरजु ताल जस्तो सिमसार स्थान स्थानीय विद्यालय, कलेज, फोटोग्राफी समूह, परिवार र आन्तरिक पर्यटकका लागि सजिलै पुग्न सकिने जीवित प्रयोगशाला बन्न सक्छ। यसलाई सही ढंगले विकास गर्न सके “एक दिनको चरा यात्रा” देखि “हिउँदे आगन्तुक चरा महोत्सव” सम्मका कार्यक्रम सञ्चालन गर्न सकिन्छ।
कोशी प्रदेशका लागि सम्भावित चरा पर्यटन मार्ग
कोशी प्रदेशले चरा पर्यटनलाई योजनाबद्ध रूपमा अगाडि बढाउन सकेमा यसलाई “Wetland to Himalaya Birding Trail” अर्थात् “सिमसारदेखि हिमालसम्मको चरा मार्ग” का रूपमा विकास गर्न सकिन्छ। यसको एउटा सम्भावित मार्ग यस्तो हुन सक्छ:
पहिलो चरणमा विराटनगर–कोशी टप्पु–कोशी ब्यारेजलाई अन्तर्राष्ट्रिय र राष्ट्रिय चरा अवलोकन गन्तव्यका रूपमा बलियो बनाउने। यहाँ जलचर चरा, हाँस, राजपुत्रिका, हुटिट्याउ, हलीमुख, शिकारी चराहरू, घाँसेमैदानका चरा र नदी प्रणालीका चराको जानकारी भेला पार्ने र सार्वजनिक रुपमा उपलब्ध गराउने काम गर्न सकिन्छ।
दोस्रो चरणमा बरजु ताल र बेतना लगाएतका स्थानिय सिमसारहरूलाई जोड्ने। यी स्थानहरू घरेलु पर्यटक, विद्यार्थी, फोटोग्राफर र सप्ताहन्त चरा अवलोकनका लागि उपयोगी हुन सक्छन्।
तेस्रो चरणमा सुनसरी, मोरङका धानखेत, माछापोखरी, सामुदायिक वन र कृषि परिदृश्यलाई “एग्रो–बर्डिङ” गन्तव्य बनाउने। यहाँ किसान र चराको सम्बन्ध, धानखेतको जैविक विविधता, किरा–फट्याङ्ग्रा नियन्त्रण, घोंगी खाने चरा, बकुल्ला, किङफिसर, काग, लाटोकोसेरो, चिवेचराहरू, मुनिया र अन्य चराको भूमिका देखाउन सकिन्छ।
चौथो चरणमा धनकुटा, झापा,इलाम, माइखोला, चियाबारी र मध्यपहाडी सामुदायिक वनलाई जोड्ने। यसले चरा पर्यटनलाई होमस्टे, चिया पर्यटन, पहाडी कृषि, फूल, फलफूल र सांस्कृतिक यात्रासँग जोड्छ।
पाँचौँ चरणमा कञ्चनजंघा, ताप्लेजुङ र उच्च हिमाली पदयात्रासँग चरा पर्यटन जोड्न सकिन्छ। यसले विशेषज्ञ चरा अवलोकनकर्ता र उच्च मूल्यका प्रकृति पर्यटकलाई आकर्षित गर्न सक्छ।
यसरी हेर्दा कोशी प्रदेशमा चरा पर्यटनलाई तीन तहमा विकास गर्न सकिन्छ। पहिलो, कोशी टप्पु र कोशी ब्यारेजजस्ता अन्तर्राष्ट्रिय महत्वका गन्तव्य। दोस्रो, बरजु ताल, बेतना, सामुदायिक वन र धानखेतजस्ता स्थानीय–क्षेत्रीय गन्तव्य। तेस्रो, इलाम, धनकुटा, ताप्लेजुङ र कञ्चनजंघाजस्ता पहाड–हिमाल जोड्ने विशेषज्ञ गन्तव्य। यी तीनै तह जोडिएपछि कोशी प्रदेशले “सिमसारदेखि हिमालसम्म” भन्ने विशिष्ट पहिचान बनाउन सक्छ।
पूर्वी नेपालका लागि गर्नुपर्ने मुख्य काम
पूर्वी नेपालमा चरा पर्यटन विकास गर्न ठूलो लगानीभन्दा बढी स्पष्ट दृष्टि, स्थानीय सहभागिता र व्यवस्थापन आवश्यक छ।
सबैभन्दा पहिले, मुख्य चरा गन्तव्यहरूको अद्यावधिक सूची र चरा चेकलिस्ट तयार गर्नुपर्छ। कोशी टप्पु, बरजु ताल, बेतना, माइखोला, झापा, इलाम, धनकुटा, मोरङ–सुनसरीका धानखेत र सामुदायिक वनका अलग–अलग मौसमी चरा सूची तयार गर्न सकिन्छ। यो धेरै लगानी र मेहनत गर्नु पर्ने काम होइन । केहि लगानी र केहि हप्ताको कामबाट यो कुरा पुरा गर्न सकिन्छ ।
दोस्रो, स्थानीय युवालाई चरा गाइडका रूपमा तालिम दिनुपर्छ। चराको पहिचान, आवाज, व्यवहार, आवास, अंग्रेजी तथा नेपाली व्याख्या, फोटो पर्यटन, प्राथमिक उपचार, पर्यटक व्यवहार, ईबर्ड अभिलेख र संरक्षण नैतिकता तालिमको मुख्य विषय हुनुपर्छ।
तेस्रो, चरा पर्यटन पूर्वाधार विकास गर्नुपर्छ। अवलोकन टावर, फोटो हाइड, शान्त पैदल मार्ग, सूचना बोर्ड, प्रजाति सूची, स्थानीय नाम, वैज्ञानिक नाम, बसाइँसराइ समय, चराको पारिस्थितिक भूमिका र संरक्षण सन्देश राख्नुपर्छ।
चौथो, चरा फोटोग्राफीको नैतिक आचारसंहिता बनाउनुपर्छ। गुँडमा बाधा नपुर्याउने, अत्यधिक आवाज वा प्लेब्याक प्रयोग नगर्ने, चरालाई पछ्याएर तनाव नदिने, बासस्थान नबिगार्ने र फोटोग्राफीलाई संरक्षणमैत्री बनाउने संस्कार विकास गर्नुपर्छ।
पाँचौँ, चरा पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्नुपर्छ। होमस्टे, स्थानीय खाना, कृषि उत्पादन, हस्तकला, चिया, मह, अचार, धानका स्थानीय परिकार, माछा, फलफूल र ग्रामीण अनुभवले चरा पर्यटनलाई अझ जीवन्त बनाउँछ।
छैटौँ, कोशी प्रदेशमा वार्षिक “कोशी चरा महोत्सव” आयोजना गर्न सकिन्छ। हिउँदे आगन्तुक चराको समयमा कोशी टप्पु, कोशी ब्यारेज, बरजु ताल र बेतनालाई जोडेर चरा गणना, फोटो प्रदर्शनी, विद्यार्थी कार्यक्रम, गाइड तालिम, किसान–चरा संवाद, सिमसार सरसफाइ, स्थानीय परिकार र संरक्षण छलफल गर्न सकिन्छ।
कृषि, चरा र पर्यटनको त्रिकोण
पूर्वी नेपालमा चरा पर्यटनलाई कृषि प्रणालीसँग जोड्ने सम्भावना विशेष छ। धानखेत, पोखरी, कुलो, बाँसघारी, रुखबिरुवा, बगैंचा, सामुदायिक वन र सिमसारले चरालाई बासस्थान दिन्छन्। किसानले विषादीको अत्यधिक प्रयोग घटाए, खेत वरिपरि रुख जोगाए, पोखरी र सिमसार सुरक्षित राखे, चराका लागि सुरक्षित ठाउँ छाडे भने चरा विविधता बढ्न सक्छ। यही विविधता पर्यटक र फोटोग्राफरका लागि आकर्षण बन्न सक्छ।
चराहरू किसानका साथी पनि हुन्। कतिपय चराले किरा, फट्याङ्ग्रा, मुसा, घोंगी र अन्य हानिकारक जीव नियन्त्रणमा सहयोग गर्छन्। किङफिसर, बकुल्ला, चिवेचरा, लाटोकोसेरो, कौवा, मैना, चील, सारस, गरुड, कुक्कु र अरू धेरै चराहरू कृषि पारिस्थितिकीको भाग हुन्। त्यसैले चरा पर्यटन केवल पर्यटनको विषय होइन; यो जैविक कृषि, सिमसार संरक्षण, प्राकृतिक कीरा व्यवस्थापन र ग्रामीण जीवनको पुनःमूल्यांकनको विषय पनि हो।
पूर्वी नेपालका धानखेत र सिमसारहरूमा देखिने चराको जीवनलाई राम्रोसँग व्याख्या गर्न सके किसान, विद्यार्थी र पर्यटक तीनै समूहका लागि नयाँ सिकाइको ढोका खुल्छ। खेतमा देखिने बकुल्ला, काग, मुनिया, किङफिसर, लाटोकोसेरो वा घोंगी खाने चरा केवल फोटो खिच्ने विषय मात्र होइनन्; ती हाम्रो कृषि प्रणालीको जैविक स्वास्थ्यका संकेतक पनि हुन्।
निष्कर्ष: कोशी प्रदेशले अवसर चिन्नुपर्छ
नेपालमा चरा पर्यटनको सम्भावना विशाल छ, तर पूर्वी नेपाल र विशेष गरी कोशी प्रदेशले यो अवसर अझ छिटो समात्न सक्छ। कोशी टप्पुमा ४४१ चरा प्रजाति, नेपालभरि ८९० भन्दा बढी चरा प्रजाति, बरजु तालजस्ता स्थानीय सिमसारमा अभिलेख भएका दर्जनौँ प्रजाति, र तराईदेखि हिमालसम्म जोडिएको भूगोल—यी सबै मिलेर कोशी प्रदेशलाई चरा पर्यटनको स्वाभाविक केन्द्र बनाउन सक्छन्।
कोशी टप्पु, कोशी ब्यारेज, बरजु ताल, बेतना सिमसार, मोरङ–सुनसरीका कृषि परिदृश्य, झापा, इलाम–धनकुटाका पहाडी वन र कञ्चनजंघा हिमाली क्षेत्रलाई जोड्ने हो भने कोशी प्रदेश “सिमसारदेखि हिमालसम्मको चरा पर्यटन प्रदेश” बन्न सक्छ।
यसका लागि चरालाई केवल हेर्ने वस्तुका रूपमा होइन, प्रकृतिको भाषा, कृषिको साथी, सिमसारको स्वास्थ्य सूचक, युवा रोजगारीको आधार, ग्रामीण पर्यटनको अवसर र संरक्षणको दूतका रूपमा बुझ्नुपर्छ। चरा जोगिए सिमसार जोगिन्छ, सिमसार जोगिए पानी जोगिन्छ, पानी जोगिए खेती र जीवन जोगिन्छ। यही सन्देशलाई पर्यटन, शिक्षा र स्थानीय अर्थतन्त्रसँग जोड्न सके पूर्वी नेपालमा चरा पर्यटनले नयाँ सम्भावनाको ढोका खोल्न सक्छ।
आज विश्वले प्रकृतिमा फर्किने बाटो खोजिरहेको छ। नेपालसँग हिमाल छ, वन छ, पानी छ, खेत छ, संस्कृति छ, र चराको अद्भुत संसार छ। अब आवश्यकता भनेको यी सबैलाई जोड्ने दृष्टि, व्यवस्थापन र स्थानीय नेतृत्व। पूर्वी नेपालले चाह्यो भने चरा पर्यटन केवल सम्भावना मात्र रहने छैन; यो प्रदेशकै संरक्षण, समृद्धि र पहिचानको नयाँ यात्रा बन्न सक्छ।
यो क्षेत्रमा पार्इने चराहरूको बारेमा थप जान्न: https://www.facebook.com/rajendra.upretyलार्इ पछ्याउन सक्नुहुनेछ । वा https://ebird.org/explore मा खोज्न सक्नुहुनेछ । सबै फोटोहरू: लेखक आफ्नै ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।