चीनका धनीहरुको पैसा अब गरिबहरुलाई बाँडिने

काठमाडौं । चीनमा धनीहरुको पैसा अब गरिबहरुलाई बाँडिनेछ । राष्ट्रपति सि जिनपिङले धनको समान वितरणको योजना तयार पारेका छन् । उनी अनुचित कर्मालाई रोक्नको लागि कर्मचारीहरुको पारिश्रमिकमा वृद्धि र मध्यम वर्गको विस्तार गर्न चाहन्छन् । उनले मंगलबार सरकारले सामाजिक निष्पक्षताको लागि धनको पुनर्वितरणका विषयमा प्रणाली बनाउन लागेको बताएका थिए ।

फाइनान्सियल टाइम्सका अनुसार जिनपिङले धनीहरुको आम्दानीलाई सही तरिकाले विनिमय गर्न र व्यवसायीहरुलाई समाजमा अधिक योगदान गर्नको लागि प्रोत्साहित गर्नु जरुरी रहेको बताए । यसबाट देशका धनीहरुमा अतिरिक्त बोझ बढ्नेछ । चीन सरकारले कर र अन्य विकल्पको माध्यमबाट यो बोझ बहन गर्ने प्रयास गर्नेछ । जिनपिङको बैठकमा सरकारले कर, सामाजिक सुरक्षा र वित्तिय हस्तान्तरण भुक्तानीका विषयमा काम गर्ने तय भएको छ । यसको माध्यमबाट जनताको गुणस्तरीय शिक्षा र समावेशितामा काम गरिनेछ ।

क्रेडिट सुइजको रिपोर्टअनुसार चीनका एक प्रतिशत धनीहरुसँग देशको कूल सम्पत्तिको ३१ प्रतिशत छ । २ दशकअघि धनीहरुसँग देशको सम्पत्तिको २१ प्रतिशत थियो । तर पछिल्लो २ दशकमा यो १० प्रतिशतले बढेर ३१ प्रतिशत पुगेको छ । यसमाथि कोरोना महामारीले श्रमिक वर्ग, साना व्यवसायीलाई सबैभन्दा धेरै प्रभावित गरेको छ । यसबाट धनी र गरिबबीचको खाडल झनै बढेको छ । २०१९ को तुलनामा अहिलेसम्म चीनमा धनकुबेरहरुको संख्या ५० प्रतिशतले बढेको छ ।

लगानीकर्ताहरुले सूचीकृत चिनियाँ कम्पनीबाट यही फेब्रुअरीदेखि अहिलेसम्म १ ट्रिलियन डलरसम्म आफ्नो पैसा निकालिसकेका छन् । चीनका शहरमा २०२० मा निम्न वर्गका जनताको आम्दानी केवल १ प्रतिशत बढेको छ । विश्लेषकहरुले विकासको लागि उपभोक्ता क्षेत्रमा भन्दा लगानीका क्षेत्रमा पैसा खर्च गर्नु उपयुक्त मानेका छन् । यसको लागि नयाँ वित्तिय हस्तान्तरण र सामाजिक खर्च बढाउनु आवश्यक हुनेछ ।

चिनियाँ अधिकारीहरुले च्यारिटीको लागि प्रयास पहिलेभन्दा तीब्र बनाएका छन् । बेइजिङको नर्मल युनिभर्सिटीमा आर्थिक मामिलाका विशेषज्ञ ली शीका अनुसार चीनमा धनी र गरिबबीचको खाडल बढाउनमा रियलस्टेटको योगदान ७० प्रतिशत छ ।

– डिसि नेपालबाट साभार

शुक्रबार, ०४ भदौ, २०७८, साँझको ०७:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर