लोड हुँदैछ...

मेनु

संक्रमितको लागि वडाले किन्यो अक्सिजन सिलिण्डर

संक्रमितको लागि वडाले किन्यो अक्सिजन सिलिण्डर

धरान । होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई आवश्यक पर्दा तत्काल सेवा दिने उद्देश्यले सुनसरीको धरान उपमहानगरपालिकाको वडा नं १६ ले अक्सिजन सिलिण्डर खरिद गरेको छ ।

होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई गाह्रो हुँदा तत्काल अस्पतालमा बेड नपाउने र अक्सिजन नपाएरै ज्यान गुमाउने अवस्था बनेपछि वडाले अक्सिजन सिलिण्डर खरिद गरेको हो ।

यसअघि धरानको वडा नं. १४ र ८ ले इलेक्ट्रिक अक्सिजन मेसिन किनेको थियो । वडाअध्यक्ष दिलकुमार गिरीले मोरङको सोनापुरस्थित उद्योगमा पुगेर १० वटा सिलिण्डर ल्याएको जानकारी दिनुभयो । २० वटा सिलिण्डर खरिद गर्ने वडा कार्यालयको योजना छ ।

वीपीमा अक्सिजन बेड नै नपाउने, संक्रमितलाई विराटनगर लैजानुपर्ने र मृत्यु हुने भएपछि वडाले नै अक्सिजन सिलिण्डर किनेको वडाध्यक्ष गिरिीले बताउनुभयो । वडाले ठुलो सिलिण्डर खरिद गरेको छ । एउटा सिलिण्डको १५ हजार रुपैयाँ परेको वडा कार्यालयले जनाएको छ ।

एउटा सिलिण्डरले १८ घण्टासम्म अक्सिजन दिनेछ । पछि अक्सिजन भर्नुपर्दा उद्योगमा ३५० रुपैयाँ तिर्नुपर्ने बताइएको छ । धरानमा भने अक्सिजन भरेको ४५० रुपैयाँ पर्छ । अक्सिजन दिनको लागि आवश्यक पर्ने मिटरलगायत सामानहरु पनि खरिद गरिने वडा कार्यालयले जनाएको छ ।

वडाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई निमोनियाबाट जोगाउन भ्याक्सिन दिने पनि निर्णय गरेको छ । जाडो मौसम शुरु भएको र ज्येष्ठ नागरिकहरुलाई निमोनियासँगै संक्रमणको पनि जोखिम बढी भएकोले भ्याक्सिन दिने निर्णय गरिएको अध्यक्ष गिरीले बताउनुभयो ।

चिकित्सकहरुसँग आवश्यक सल्लाह र सहकार्य गरेर वृद्धवृद्धाहरुलाई भ्याक्सिन दिइनेछ । वडा कार्यालयले कोभिडको बजेटसँगै स्वास्थ्य र लक्षित वर्गको बजेटलाई पनि भ्याक्सिनमा खर्च गर्ने जनाएको छ । यसपटक वडा कार्यालयले कोभिडको लागि ५ लाख ८६ हजार बजेट विनियोजन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।