लोड हुँदैछ...

मेनु

अभिषेक गिरीको असुली धन्दा : कारागारका कार्यालय सहयोगि पनि पक्राउ

अभिषेक गिरीको असुली धन्दा : कारागारका कार्यालय सहयोगि पनि पक्राउ

विराटनगर । मोरङ कारागारका चौकीदार अभिषेक गिरीले कैदीबन्दीहरूबाट अवैध रूपमा रकम असुली गर्न र सो रकम कारागार बाहिर पठाउन संगठित सञ्जाल नै परिचालन गरेको खुलासा भएको छ। सुरक्षा निकायको प्रारम्भिक अनुसन्धान र पक्राउ परेका व्यक्तिहरूको बयानका अनुसार, गिरीले कारागारभित्रको रकम बाहिर निकाल्न तरकारी आपूर्तिकर्ता र कारागारकै कर्मचारीलाई मुख्य माध्यम बनाउने गरेका थिए।

, गिरीले कारागारभित्रका कैदीबन्दीहरूबाट जाडो तथा गर्मी महिनाका लागि दिइएको ५ हजार र मुढा बुनेर आउने पारीश्रमिक समेत उनले लाने गरेको खुलेको छ । प्रहरीलाई कारगारका नाइके राकेश यादवले दिएको बयान अनुसार रकम दिन इन्कार गर्ने कैदीबन्दीलाई ज्यान मार्नेसम्मको धम्की दिने गरिएको अनुसन्धानबाट खुलेको छ।

गिरीको यो असुली धन्दामा कारागारकै कार्यालय सहयोगी शिवचन्द्र यादवको प्रत्यक्ष संलग्नता देखिएको छ। पक्राउ परेका यादवले कैदीबन्दीबाट उठेको रकम आफूले बुझेर अभिषेक गिरीलाई बुझाउने गरेको स्वीकार गरेको सुरक्षा स्रोतले बतायो । त्यसैगरी, कारागारको मेसमा तरकारी आपूर्ति गर्ने व्यक्तिहरूलाई गिरीले रकम मनी लाउन्डरिङ गर्ने माध्यम बनाएका थिए। मुख्य तरकारी आपूर्तिकर्ता विनोद कुमार सिंह (कटारी) हाल फरार छन् भने अर्का व्यापारी विजय कामत प्रहरी नियन्त्रणमा छन्।

अनुसन्धानका क्रममा कारागारभित्र कैदीबन्दीले बुनेका मुडा र गलैँचा बिक्री गर्ने व्यापारीहरूले त्यसको भुक्तानी कारागारको आधिकारिक खातामा नभई सिधै अभिषेक गिरीको व्यक्तिगत वा उनले तोकेको बाह्य बैंक खातामा जम्मा गर्ने गरेका थिए। मुडा व्यापारीले जिल्ला प्रहरी कार्यालयमा दिएको बयान अनुसार वर्षौँदेखि यसैगरी रकम भुक्तानी हुँदै आएको थियो।

प्रहरीले गिरीका निकट सहयोगी दीपक खत्रीलाई पनि नियन्त्रणमा लिएको छ। हाल पक्राउ परेका सबैलाई म्याद थपका लागि मोरङ जिल्ला अदालत लगिएको छ। गिरीको पक्षबाट बहस गर्न महँगा वकिलहरूको टोली नै अदालत पुगेको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।