लोड हुँदैछ...

मेनु

पर्यटन पूर्वाधारमा देखिदैछ सुधार, साना पार्कदेखि ठूला पदमार्गसम्म लगानी

पर्यटन पूर्वाधारमा देखिदैछ सुधार, साना पार्कदेखि ठूला पदमार्गसम्म लगानी

विनु तिम्सिना


विराटनगर । प्राकृतिक सौन्दर्य र धार्मिक विविधताले भरिपूर्ण कोशी प्रदेश पर्यटनको हिसाबले अथाह सम्भावना बोकेको प्रदेश हो । कोशी प्रदेश सरकारले आफ्नो स्थापनाकालदेखि नै यो सम्भावनालाई सदुपयोग गर्न पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको छ । सरकारले नीति, कार्यक्रम तथा बजेटमै पर्यटनलाई विशेष जोड दिँदै पर्यटकीय गन्तव्यको प्रवद्र्धन र भौतिक पूर्वाधार निर्माणमा क्रान्ति नै ल्याएको छ । कोशी प्रदेश सरकारले गाउँका कुनादेखि प्रख्यात धार्मिक स्थलसम्म भौतिक पूर्वाधार निर्माणको अभियान नै चलाएपछि यहाँका पर्यटकीय गन्तव्यहरुले आफ्नो मुहार फेर्न थालेका छन् ।

प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतको ‘पर्यटन विकास आयोजना’ मार्फत अहिले प्रदेशभरि करोडौं लगानीका ठूला पर्यटकीय संरचनादेखि गाउँघरका पार्क र पदमार्गसम्म निर्माण भइरहेका छन् ।

पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले कोशी प्रदेश प्राकृतिक र धार्मिक पर्यटनको अथाह सम्भावना बोकेको क्षेत्र भएपनि पूर्वाधार अभावले हाम्रा गन्तव्य ओझेलमा रहेको बताउनुभयो । अहिले प्रदेश सरकारले पर्यटन पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको उहाको भनाइ छ । कोशी प्रदेशमा पर्यटीक गन्तव्य धेरै छन्, मन्त्री पराजुलीले भने, तर सडक लगायत भौतिक संरचनाको अभाव छ । यसलाई मध्य नजर गरेर सरकारले पर्यटीय क्षेत्रको प्रवर्धन र विकासका लागि पुर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।”

सरकारले निर्माण गरिरहेको करोडौं लगानीका ठूला आयोजनादेखि गाउँगाउँका पदमार्ग र मन्दिरसम्म पुगेको विकासले पर्यटकको बसाइ लम्ब्याउने र यसले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्दै प्रदेशको आर्थिक मुहार फेर्ने उहाले विश्वास व्यक्त गर्नुभयो ।

सुनसरीको कोशी गाउँपालिकामा स्थानीय पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले २४ करोड १० लाख रुपैयाँको लागतमा ’मत्स्यगन्धा फनपार्क’ निर्माण भइरहेको छ । हालसम्म झण्डै ६५ प्रतिशत भौतिक निर्माण सकिएको यो फनपार्क आगामी २०८३-०८४ सालमा पूर्ण रुपमा सञ्चालनमा आउने पर्यटन विकास आयोजनाको कार्यालयले जनाएको छ ।

धार्मिक पर्यटनतर्फ पनि प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ । मोरङको रंगेलीस्थित प्रसिद्ध ’संसारी माईस्थान’ मा धार्मिक पर्यटनलाई प्राकृतिक सौन्दर्यसँग जोड्न १३ करोड २४ लाख रुपैयाँको लागतमा पूर्वाधार विकास भइरहेको छ । जसको ८८ प्रतिशत काम सकिइसकेको पर्यटन विकास आयोजना कार्यालय विराटनगरका प्रमुख ह्रदयकुमार झाले जानकारी दिनुभयो । त्यस्तै सुनसरीको चतराधाममा लाग्ने बृहत् कुम्भ मेलालाई व्यवस्थित बनाउन प्रदेश सरकारले यसै वर्ष १ करोड रुपैयाँ खर्चेर मेला स्थलमा कम्पाउन्ड वाल निर्माण गरेको छ भने थप ५० लाख रुपैयाँमा धार्मिक आवासीय भवनको स्तरोन्नति सम्पन्न गरेको छ ।

लाखौं भक्तजन पुग्ने पाथीभरा माताको मन्दिर जाने बाटोमा तीर्थयात्रीलाई घामपानीबाट बचाउन यसै वर्ष १ करोड रुपैयाँको बजेटमा ट्रष्ट (छानो) निर्माणको काम सम्पन्न भएको छ । त्यस्तै, वराहक्षेत्रको गुप्तेश्वर गुफा जाने बाटोमा तीर्थयात्रीको सुरक्षाका लागि ४० लाख रुपैयाँको लागतमा रेलिङ, चौतारो, मेसिनरी वाल र लाइटिङको काम अन्तिम चरणमा पुगेको छ । मुस्लिम समुदाय र पर्यटकको सुरक्षित बासस्थानका लागि विराटनगरमा १ करोड ३६ लाखको लागतमा ‘मुसाफिर खाना’ भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

ठूला र करोडौं लगानीका आयोजना मात्र होइन, प्रदेश सरकारले साना आयोजनामार्फत गाउँगाउँमा पर्यटन प्रवर्धनको काम गरिरहेको छ । पर्यटन विकास आयोजना कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष २०७५÷०७६ यता मात्रै प्रदेशभरि पर्यटक भुल्ने ९ सय ८३ वटा पार्क निर्माण तथा सौन्दर्यकरण गरिएका छन् । पहाडी र रमणीय डाँडाहरुबाट दृश्यावलोकन गर्न ३५ वटा भ्युटावर ठडिएका छन् भने पर्यटक हिँड्ने १२९ वटा पदमार्ग निर्माण भएका छन् । मन्दिर, मस्जिद र गुम्बा गरी झण्डै ४ सय धार्मिक स्थलको मर्मत र निर्माणले स्थानीयको अनुहारमा खुसी ल्याएको छ ।

चालु आर्थिक वर्षमा मात्रै १५० वटा मन्दिर, ३३ वटा पार्क र १३ वटा सिमसार क्षेत्रको विकास लगायत २८८ वटा साना निर्माण कार्य सम्पन्न भएका छन् । ८७ प्रतिशतसम्म बजेट खर्च गरेर उदाहरणीय काम गरिरहेको प्रदेश सरकारको यो कदमले कोशी प्रदेशमा पर्यटकको बसाइ लम्बिने र स्थानीयको रोजगारी बढ्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।