लोड हुँदैछ...

मेनु

प्राधिकरणमा विद्युत मिटरको हाहाकार सर्वधारण, किसान र उद्योग कसैले पाउँदैनन् मिटर

प्राधिकरणमा विद्युत मिटरको हाहाकार सर्वधारण, किसान र उद्योग कसैले पाउँदैनन् मिटर

विराटनगर । कोशी प्रदेशमा विगत ६ महिनादेखि विद्युत मिटरको हाहाकार भएको छ । मिटर अभाव हुँदा हजारौँ नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । नेपाल विद्युत प्राधिकरणले माग अनुसारको मिटर उपलब्ध गराउन नसक्दा कोशी प्रदेशका १४ जिल्लाका १२ हजारभन्दा बढी परिवारले विद्युत जडानका लागि दिएको आवेदन त्यतिकै थन्किएको हो ।

विगत ६ महिना अघिदेखि कोशीमा विद्युत मिटरको अभाव सुरु भएको हो, अहिले समस्या झन् बढ्दै गएकोले प्राधिकरणका कर्मचारीहरु उपभोक्ताहरुबा चर्को दबाबमा छन् ।

प्राधिकरणको कोशी प्रादेशिक कार्यालय विराटनगरका अनुसार हाल दर्ता भएका १२ हजार भन्दा बढी आवेदनमध्ये अधिकांश ‘सिंगल फेज’ मिटरका हुन् । दुई महिनाअघि प्रदेशभर वितरण गर्नका लागि २ हजार ५०० थान मिटर प्राप्त भएको थियो। तर मागको तुलनामा थोरै संख्यामा मिटर प्राप्त भएका कारण सबैलाई मिटर उपलब्ध गराउन सक्ने अवस्था नबनेको प्राधिकरणले जनाएको छ ।

विद्युत मिटरको अभावको सबैभन्दा ठूलो मारमा किसानहरु परेका छन् । हिउँदे बाली लगाउने समयमा सिंचाइका लागि मिटर माग गरेका किसानहरुले अहिले बर्खे धान खेती गर्ने बेलासम्म पनि मिटर पाउन सकेका छैनन् । मौसम विभागले यस वर्ष सुख्खा लाग्न सक्ने र कम वर्षा हुने प्रक्षेपण गरिरहेका बेला किसानहरु सिंचाइको वैकल्पिक प्रबन्ध मिलाउन हतारिएका छन् तर, प्राधिकरणले किसानको समस्या बुझ्न नचाहेको जस्तो देखिएको मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले बताए ।

मिटर आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यतामा रहेका किसानहरु सिंचाइका लागि मिटर माग्दै दैनिक प्राधिकरणका शाखा कार्यालय धाउने समस्या उदयपुरको बेलका नगरपालिकामा पनि देखिएको छ ।
“मिटर नहुँदा किसानहरुले सिंचाइ गर्न पाएका छैनन्, प्राधिकरणका कार्यालयहरुमा दिनहुँ किसानको डेलिगेसन आउने गरेको छ,” प्राधिकरण बेलबारी शाखामा कार्यरत एक कर्मचारीले भने, “हामीले चर्को दबाब झेलिरहेका छौं तर हातमा मिटर नहुँदा केही गर्न सक्ने अवस्था छैन ।”

उदयपुरको बेलका नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भरत घिमिरेले प्राधिकरणले नागरिकलाई आधारभूत सेवाबाट वञ्चित गरिरहेको आरोप लगाए । उनका अनुसार बेलकामा मात्रै करिब ८ सय मिटरको माग छ । वडाध्यक्ष घिमिरेले तत्काल मिटर उपलब्ध गराउन निरन्तर दबाब दिइरहेको बताए ।

मिटरको समस्या घरायसी प्रयोगमा मात्र सीमित छैन । औद्योगिक क्षेत्रमा पनि मिटर जडान कार्य रोकिएको छ । प्राधिकरणसँग उद्योगमा जडान गर्ने मिटर स्टक भए पनि त्यसका लागि आवश्यक पर्ने मिटरिङ युनिटको अभाव छ । उक्त सामग्री चीनबाट आयात गर्ने प्रक्रियामा रहेकाले तत्काल उद्योगलाई पनि मिटर दिन नसकिने अवस्था रहेको प्राधिकरणका कोशी प्रादेशिक कार्यालयका निर्देशक कमल आचार्यले जानकारी दिए ।

निर्देशक आचार्यका अनुसार यो समस्या कोशी प्रदेशको मात्र नभएर देशव्यापी हो । “मिटर खरिदको सबै काम केन्द्रबाट टेण्डर प्रक्रियामार्फत हुने भएकाले प्रदेश तहबाट यसको समाधान खोज्न सकिने अवस्था छैन,” आचार्यले भने, “हेटौंडामा एउटा लट मिटर आएको खबर छ, थप मिटर आउने प्रक्रियामै रहेकाले अब यो समस्या धेरै लामो समय रहँदैन कि भन्ने आशा छ ।”

लामो समयदेखि मिटरको पर्खाइमा रहेका सर्वसाधारण उपभोक्ता र विशेष गरी सिंचाइको अभाव झेल्न बाध्य किसानहरुले भने प्राधिकरणको ढिलासुस्तीप्रति आक्रोश व्यक्त गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।