विराटनगर । विराटनगरस्थित माहेश्वरी महिला मञ्चले सामाजिक सेवाको भावनाका साथ आगामी असार १५ गते ११ जोडी विपन्न युवायुवतीको सामूहिक विवाह गराउने भएको छ। स्थानीय अतिथि सदनको ‘राधा मण्डप’ मा आयोजना हुने यस विशेष समारोहमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएका छन्।
मञ्चकी अध्यक्ष ललिता जाजुका अनुसार विवाह कार्यक्रम असार १५ गते बिहान सवा ११ बजेदेखि सुरु हुनेछ। आर्थिक रूपमा अति विपन्न परिवारका युवायुवतीहरूलाई छनोट गरी अभिभावक र स्थानीय जनप्रतिनिधिहरूको समन्वयमा विवाह गराउने निणर्य भएको अध्यक्ष जाजुले जानकारी दिइन्।
मञ्चले दोस्रो पटक आयोजना गर्न लागेको यस सामूहिक विवाह कार्यक्रमलाई व्यवस्थित बनाउन शीतल बाहेतीलाई संयोजक र अर्चना तापड़ियालाई सह-संयोजकको जिम्मेवारी दिइएको छ। फजुल खर्च कम हुने र सामाजिक सद्भाव बढ्ने यस्ता सामूहिक विवाहबाट विपन्न परिवारहरूलाई ठूलो आर्थिक राहत मिलेको लाभग्राहीहरूको अनुभव छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।