विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्ड मातहतका जिल्ला खेलकुद विकास समितिहरूमा सत्ता साझेदार दलहरूबीच भागबन्डा मिलेको छ । बोर्डको पछिल्लो बैठकले रिक्त रहेका १२ जिल्लामध्ये नेपाली कांग्रेस र नेकपा (एमाले) ले ६–६ जिल्लाको नेतृत्व लिने गरी सहमति जुटाएका हुन् ।
विवाद र कानुनी जटिलताका कारण मोरङ र खोटाङको नेतृत्वमा भने तत्काल कुनै फेरबदल नगर्ने निर्णय भएको छ । मोरङका वर्तमान अध्यक्ष इन्द्र लामा उच्च अदालतको आदेशबाट पुनर्वहाली भएका हुन् । २०८० चैत २३ मा नियुक्त भएका लामालाई तत्कालीन सदस्य सचिव पर्शुराम बस्नेतले गत भदौ ६ मा निलम्बन गरेपछि उनी अदालत गएका थिए । अदालतले उनलाई काममा फर्कने बाटो खोलिदिएपछि मोरङको विवाद तत्काललाई टरेको हो । यस्तै, खोटाङका अध्यक्ष रमेश राई हाल हर्क राई नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध भए पनि उनलाई पनि तत्काल नहटाउने सहमति भएको छ ।
रिक्त रहेका जिल्लाहरूमा खेलकुद गतिविधिलाई चलायमान बनाउन नयाँ नियुक्ति प्रक्रिया अघि बढाइएको प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषले बताए । ‘जिल्लाहरूमा अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेर प्रदेशको खेलकुद क्षेत्रलाई सक्रिय बनाउने तयारी गरेका हौँ,’ घोषले भने ।
दलगत भागबन्डा र नामहरू
सहमति अनुसार एमालेले धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, इलाम र झापाको नेतृत्व पाएको छ । एमालेको कोटाबाट धनकुटामा मनोजकुमार राई, ताप्लेजुङमा चन्द्रबहादुर थेबे, संखुवासभामा लक्ष्मण लिङथेव, सोलुखुम्बुमा अर्जुन रोक्का, इलाममा यतिराज काफ्ले (सुमन) र झापामा शेखर कर्णेललाई अध्यक्ष बनाउने तयारी छ ।
यस्तै, नेपाली कांग्रेसको भागमा सुनसरी, ओखलढुंगा, उदयपुर, तेह्रथुम, पाँचथर र भोजपुर परेका छन् । कांग्रेसले सुनसरीमा केशव कार्की, ओखलढुंगामा अमृतबहादुर गुरुङ, पाँचथरमा सन्तोष मुक्ताङ र भोजपुरमा दउप्रकाश राईको नाम तय गरेको छ । उदयपुर र तेह्रथुमका लागि भने नाम टुंगो लाग्न बाँकी छ ।
सरकारले प्रदेश खेलकुद ऐन २०७६ लाई संशोधन गर्न ल्याएको अध्यादेश २०८१ मार्फत बोर्डको संरचना व्यापक विस्तार गरेको छ । अध्यादेशले उपाध्यक्षको पद थपेको छ भने सदस्यहरूको संख्या पनि बढाएको छ । २१ सदस्यीय रहने बोर्डमा हाल १४ जना पुगेका छन् ।
बुधबार मात्रै एमालेको कोटाबाट प्रविणकुमार कार्की, अनिरुद्र चौधरी र कविता घले सदस्यमा नियुक्त भएका छन् । बोर्डको सदस्य सचिवमा एमालेका विप्लव घोष छन् भने उपाध्यक्षमा कांग्रेसबाट वसन्त अर्याल र एमालेबाट सन्तोषी श्रेष्ठ कार्यरत छन् ।
बाँकी ७ सदस्यमा पनि एमालेले ४ र कांग्रेसले ३ जना नियुक्त गर्ने आन्तरिक तयारी छ । बोर्डका उपाध्यक्ष वसन्त अर्यालले भौगोलिक सन्तुलन मिलाउनुपर्ने भएकाले बाँकी नियुक्तिमा केही ढिलाइ भएको बताए । ‘सबै भूगोल र खेल क्षेत्र बुझेका व्यक्तिलाई समेटेर तेस्रो चरणमा बाँकी नियुक्ति सम्पन्न गरिनेछ,’ अर्यालले भने ।
राजनीतिक भागबन्डा मिलाउनकै लागि अध्यादेशको सहारा लिएर ‘जम्बो’ टोली बनाइएको भन्दै खेल क्षेत्रमा सरकारको आलोचना समेत सुरु भएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।