इलाम । निरन्तर वर्षासँगै गएको पहिरो र सडक किनारका ठूला रुख ढलेपछि मेची राजमार्गअन्तर्गत इलामका दुई स्थानमा यातायात सेवा प्रभावित भएको छ।
आइतबार बिहान रोङ गाउँपालिका–४ स्थित डुमी चोकमा सडकमाथिबाट डिस्को र सखुवा प्रजातिका ठूला रुख ढलेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। बिहान करिब ५ः३० बजे भएको घटनापछि पूर्व–पश्चिम आवतजावत गर्ने सवारीसाधन रोकिएका छन्।
घटनालगत्तै प्रहरी चौकी किटेनीबाट सुरक्षाकर्मी परिचालन गरिएको छ। अवरुद्ध सडक खुलाउन स्थानीय तह, सडक कार्यालय तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। लगातारको वर्षाले भिरालो क्षेत्र कमजोर बनेकाले थप जोखिमसमेत रहेको बताइएको छ।
यसअघि शनिबार राति इलाम नगरपालिका–९ स्थित राजदुवाली क्षेत्रमा लेदोसहितको पहिरो खस्दा मेची राजमार्गको अर्को खण्ड पनि पूर्ण रूपमा बन्द भएको थियो। राति करिब ११ः४० बजे खसेको पहिरोले सडक पुरिएपछि सवारी सञ्चालन ठप्प बनेको हो।
प्रहरी चौकी गोलाखर्कबाट खटिएको टोलीले घटनास्थलको निगरानी गरिरहेको छ। सडक मर्मत तथा पहिरो पन्छाउने कार्यका लागि स्थानीय निकायसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक मौसम उदासले जानकारी दिए।
लगातारको वर्षाले इलामका पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेकाले प्रशासनले विशेष सावधानी अपनाउन आग्रह गरेको छ। मौसममा तत्काल सुधार नआए थप पहिरो खस्ने सम्भावना रहेकाले अत्यावश्यक बाहेक लामो दूरीको यात्रा नगर्न पनि सुझाव दिइएको छ।
पूर्वी पहाडलाई तराईसँग जोड्ने प्रमुख सडकका रूपमा रहेको मेची राजमार्ग अवरुद्ध हुँदा यात्रु आवागमनसँगै दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत असर पर्ने देखिएको छ। सम्बन्धित निकायले सकेसम्म छिटो सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।