लोड हुँदैछ...

मेनु

इजरायल केयरगिभर भाषा परीक्षामा चरम लापरबाही

सर्टिफिकेट किनबेचको आशङ्कका, अनुसन्धान र छानबिनको माग

सर्टिफिकेट किनबेचको आशङ्कका, अनुसन्धान र छानबिनको माग

विराटनगर । नेपाल सरकार र इजरायल सरकारबीचको सरकारी प्रक्रियामार्फत नेपाली नागरिकलाई वैदेशिक रोजगारीका लागि इजरायल पठाउने कार्यक्रम अन्तर्गत लिइएको अंग्रेजी भाषा परीक्षा विवादको घेरामा परेको छ ।

परीक्षा सञ्चालनको जिम्मेवारी पाएको संस्था ‘सीआईआईएन’ को लापरबाही, प्राविधिक त्रुटि र गैरजिम्मेवारपूर्ण व्यवहारका कारण हजारौं योग्य परीक्षार्थीहरू अवसरबाट विमुख हुनुपर्ने स्थिति सिर्जना भएको दाबी गरिएको छ । पीडित परीक्षार्थीहरूले वैदेशिक रोजगार विभाग र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा उक्त विषयसहित आन्दोलनका कार्यक्रम लिएर सोमबार निवेदन दर्ता गराएका छन् ।

परीक्षामा कुल १५ हजार ६ सय २६ जना परीक्षार्थीहरू सहभागी भएका थिए । तीमध्ये केवल १ हजार २ सय ३१ जना मात्र उत्तीर्ण भएका छन् । जुन कुल सहभागी संख्याको मात्र ७.८८ प्रतिशत हो । सरकारले इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा कार्य गर्नका लागि कुल २ हजार ३ सय जना केयरगिभरको कोटा तोकेको थियो । कोटा संख्याभन्दा झन्डै आधा मात्र परीक्षार्थी उत्तीर्ण गराइनुलाई परीक्षार्थीहरूले स्वाभाविक रूपमा लिन नसकिने बताएका छन् । ‘परीक्षा सञ्चालन तथा मूल्याङ्कनको जिम्मेवारी पाएको संस्थाको कार्यसम्पादनप्रति व्यापक प्रश्न उठिरहेका छन्, जसले सम्पूर्ण प्रक्रियाको विश्वसनीयता र निष्पक्षतामाथि समेत प्रश्नचिन्ह खडा गरेको छ,’ वैदेशिक रोजगार विभागका महानिर्देशकलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ ।

परीक्षा व्यवस्थापनका क्रममा परीक्षार्थीहरूमाथि गरिएको व्यवहार मर्यादित र मानवीय नभएको आरोप पत्रहरूमा लगाइएको छ । निवेदनमा परीक्षा हलको दुरावस्था र जथाभाबी परीक्षा सञ्चालन गरिएको विषयलाई गम्भीरतापूर्वक उठाइएको छ । परीक्षा दिने क्रममा सिआइआइएनको व्यवस्थापकीय कमजोरी, प्राविधिक समस्याका कारण धेरै विद्यार्थीहरूको परीक्षा बिग्रेको र सोचे भन्दा फरक भएको र परीक्षा हलमा पशु जनावर जस्तै गरी एउटै हलमा क्षमता भन्दा दुई तीन गुणा बढी विद्यार्थी राख्ने, रातिको १२ बजे र विहानको समय १ बजे २ बजे ३ बजे सम्म परीक्षा लिने कार्य गरिएको निवेदनमा उल्लेख छ । यस्तो विषम र तनावपूर्ण परिस्थितिमा परीक्षा दिन बाध्य पारिएका कारण विद्यार्थीहरूले आफ्नो स्वाभाविक क्षमता प्रदर्शन गर्न नसकेको दाबी गरिएको छ ।

प्राविधिक पक्षमा पनि व्यापक भद्रगोल र गोपनीयताको उल्लंघन भएको उनीहरुको दाबी छ । परीक्षाका क्रममा ‘परीक्षा सञ्चालनका क्रममा सर्भर बारम्बार डाउन हुने’ र ‘परीक्षा सबमिट नहुने समस्या’ देखिएको उनीहरुको आरोप छ । यसका साथै सबैभन्दा गम्भीर लापरबाही नतिजा प्रकाशन र व्यक्तिगत विवरणको सुरक्षामा देखिएको छ ।

एक व्यक्तिको नतिजा अर्कै व्यक्तिको नाममा देखिनु तथा पुरुष उम्मेदवारको लगइनमा महिला उम्मेदवारको विवरण तथा प्रमाणपत्र देखिनु र महिला उम्मेदवारको खातामा पुरुष उम्मेदवारको विवरण वा नतिजा देखिनु जस्ता त्रुटिहरू भएको विद्यार्थीहरु बताउँछन् । यसले परीक्षार्थीहरूको व्यक्तिगत विवरणको गोपनीयता र सुरक्षामाथि गम्भीर प्रश्न उठाएको उनीहरुको दाबी छ ।

नतिजा सार्वजनिक गर्ने प्रक्रिया आफैंमा शंकास्पद र अपारदर्शी रहेको परीक्षार्थीहरूको गुनासो छ । सामान्यतया परीक्षाको नतिजा आधिकारिक वेबसाइटमा सबैले सहजै हेर्न मिल्ने गरी राख्नुपर्नेमा त्यसो नगरिएको पाइएको छ । परीक्षार्थीहरूले बुझाएको निवेदनमा परीक्षा प्रणालीमा चरम सार्पवाही, आफ्नो परीक्षा नतिजा परीक्षार्थीले सिआइआइएनको वेभसाइटमा चेक गर्दा नदेखाउने तर सोही नतिजा सिआइआइएनले अचानक एसएमएस मार्फत लिङ्क पठाई सोही लिङ्कमा क्लिक गर्दा रिजल्ट देखाउने कुरा निकै शंकास्पद रहेको उल्लेख छ ।

परीक्षा र छनोट प्रक्रिया स्वच्छ नभएको र यसमा आर्थिक चलखेल समेत भएको हुन सक्ने आशंका ज्ञापनपत्रमा गरिएको छ । ‘विभिन्न माध्यमबाट परीक्षा तथा छनोट प्रक्रियामा आर्थिक प्रभाव, पहुँच वा चलखेलसम्बन्धी चर्चा तथा आशंकाहरू सार्वजनिक रूपमा उठिरहेका छन्,’ ज्ञापनपत्रमा उल्लेख छ । यसका साथै बजारमा केयरगिभर कन्सल्टेन्सीहरूको मिलेमतोमा प्रमाणपत्रहरूको अवैध खरिदबिक्री भइरहेको हुनसक्ने भन्दै छानबिन गरिनुपर्ने र साथै सर्टिफिकेट किनबेच भए नभएको अनुसन्ध्धान गर्न समेत माग गरिएको छ ।

विगतका वर्षहरूमा ब्रिटिश काउन्सिलले परीक्षा लिँदा यस्ता कुनै पनि समस्या नआएको स्मरण गराउँदै परीक्षार्थीहरूले सीआईआईएनको परीक्षा प्रणालीलाई पूर्ण रूपमा खारेज गर्न माग गरेका छन् । ‘विगतका दिनहरुमा ब्रिटिश काउन्सिलले इजरायलका लागि एफइटी माध्यमबाट परीक्षा लिँदा कुनै समस्या नभएको तर, सिआइआइएनद्वारा परीक्षा लिने क्रममा समस्या नै समस्या भएको त्रुटि र लापरबाही प्रति सम्पूर्ण विद्यार्थीहरुको घोर विरोध छ’, ज्ञापनपभत्रमा भनिएको छ । आफ्नो हक र न्यायका लागि शान्तिपूर्ण विरोधमा उत्रिँदा प्रहरी प्रशासनले दमन गरेको र परीक्षार्थीहरूलाई विनाकारण हिरासतमा लिएको आरोप समेत लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।