धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरक्षेत्रका कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भीर भएर आइसियुमा भर्ना भई उपचार गर्नुपरेमा उपचार खर्च सहयोग गर्ने भएको छ ।
नगर कार्यपालिकाको गत बुधबार बसेको बैठकले आइसियुमा उपचार गराउनुपर्ने गम्भीर अवस्थाका संक्रमितलाई उपचार खर्चबापत प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
धनकुटा अस्पतालमासमेत आइसियु नहुँदा जिल्लाका बिरामीहरुलाई आइसियुमा राख्नुपरेमा सुनसरी, मोरङका ठूला अस्पतालमा पु¥याउने गरिएको छ । आइसियुको उपचार खर्चिलो हुने भएकाले नगरबासीको ज्यान बचाउन उपचारमा केही मात्रामा भए पनि सहयोग गर्न लागिएको नगर प्रमुख पर्शुराम नेपालले जानकारी दिनुभयो ।
महालक्ष्मी नगरले लक्षणयुक्त नगरबासीहरुको पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएमा परीक्षण शुल्कमा ५० प्रतिशत रकम सहयोग गर्ने भएको छ । संक्रमण पुष्टि भएमा पिसिआर ल्याबमा परीक्षणबापत लाग्ने शुल्कको आधा रकम नगरपालिकाले बेहोर्ने निर्णय भएको प्रमुख कार्यकारी अधिकृत सूर्य सुवेदीले जानकारी दिनुभयो ।
अहिले सरकारले पिसिआर परीक्षणबापत २ हजार रुपैयाँ शुल्क तोकेको छ । नगरले आधा रकम बेहोर्ने भएकाले संक्रमण पुष्टि हुने महालक्ष्मी नगरबासीले परीक्षणमा १ हजार मात्र खर्चिनुपर्ने भएको हो ।
नगरबासीको कोरोना परीक्षणका लागि स्वाब संकलन किट व्यवस्था पनि नगरपालिकाले नै मिलाउने छ । धनकुटामा पिसिआर ल्याब नभएकाले तराईका जिल्लाका ल्याबमा स्वाब पु¥याउँदा लाग्ने ढुवानी खर्च पनि नगरले नै बेहोर्ने जनाएको छ । त्यस्तै संक्रमण पुष्टि भएका संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने र संक्रमितको मृत्यु भएमा शववाहन खर्चसमेत नगरपालिकाले नै बेहोर्ने नगर प्रमुख नेपालले जानकारी दिनुभयो ।