कविताः बीउ

हुरीले घर हल्लाएपछि
मैले बलियो खाँबो गाड्न सिकेको हुँ ।
धुरीमा चोया थप्न
छानोमा छोरखर हाल्न
त्यसैपछि जानेको नै हुँ ।
घर बलियो भएपछि
मन पनि बलियो हुनेरहेछ ।
मलाई ढुङ्गामाथि पनि हरियो देखेर
एकफेर बजारमा खुब हल्ला चलेछ
जरा काँडा फूल पातसम्म
घन्टौं पौडिएछ
एउटा कमसल लेन्स र रिमोटबिनाको ड्रोन
बस्ती माथी–माथी
मलाई गर्वै थियो
तिनीहरूसँग, जसले यति धेरै पछ्याइरहे
सबैभन्दा धेरै समय मेरै लागि व्यतित गरे
सबैभन्दा धेरै पटक मेरै नाम पुकारा गरे
मलाई उनीहरु दुश्मन जस्तो नै लाग्दैन अचेल ।
तपाईं पत्याउनुहुन्छ ?
एकदिन उनीहरुले मलाई
मिनी सेमिनारमा बोलाए
एकैछिन अनपेक्षित प्रेम आतिथ्य दिए
उनीहरु बोलिरहे बोलिरहे
मलाई पनि बोल्न लगाए ।
म अविचलित बोलिरहें
जब उनीहरुले सत्यको आवाज रोक्न सकेनन्
छिनमै नजिकैको भूइँ खोस्रिएर
मलाई माटोमा पुर्न खोजे
पटक–पटक माटैले छोप्न खोजे ।
अन्तिम पटक मैले उनीहरुलाई भनिदिएँ–
म बीउ हुँ
माटोमा झन् छिटो उम्रन्छु र
अझै सहस्र फैलिन्छु ।

(पराजुली मोरङको बेलबारी नगरपालिकाकी उपप्रमुख हुन्)

शुक्रबार, ०९ असोज, २०७७, बिहानको ०८:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर