कविताः अब नरोऊ आमा

छोराको वियोगमा कति आँशु बगाउँछौं आमा
तिम्रो आँशुको पीडाले मलाई पोलिरहन्छ हरपल
बरु मलाई बिजयको आशिर्वाद देऊ, आमा
किनकि म यो संसारको विजेता बन्न चाहान्छु ।

समयको चक्र मसँग अलग हुन खोज्दैछ आमा
म भाग्यको खोजीमा यताउता भौतारिरहेको छु
मेरो आत्मा सुखको खोजीमा भौतारिरहेछ क्षितिज पारी
तिम्रा आँखाले बोलिरहेका भावहरु पढ्दैछु
तिमीले दिएको वात्साल्यको शक्तिले अघि बढ्दैछु आमा ।

मेरो विदाईमा किन विलाप गर्दै आँशु झार्छाै
गुलाबले त सकेन सुन्दर फुलहरु आफूसँग राख्न
म त यो संसार जित्ने तिम्रो सिपाईं हुँ आमा
तिम्रो शक्तिले त यो पृथ्वी पनि काम्दो रहेछ
तिम्रो हात मेरो माथमा पर्दा साच्चै भाग्यमानी भएको छु आमा ।

तिमी कति पनि चिन्ता नगर ल
म तिम्रो हृदयका सपना अवश्य पुरा गर्नेछु
र सधै रहनेछु आमा तिम्रै सेवाको लागि
बरु मलाई साहस देउ आमा
किनकि म भीडहरुको बीचमा एक्लो छु
क्षितिज पारीको त्यो सुनौलो गन्तब्यवाट
ती चम्किला ताराहरुले मलाई बोलाइरहेछन्, आमा ।

त्यसैले त तिम्रो माया साँचेको मुटु यही छोडेर जाँदैछु
तर यो सत्य यहि हो आमा मैले यो संसार जित्नुपर्छ
आकासको जुन जस्तै तिम्रो हृदयमा चम्किरहनेछु
म फुल बन्छु आमा यो पुरै संसारलाई बासना छर्न
तिमीले बिहानको हरेक श्वासमा मलाई पाउनेछौं
आमा तिम्रा ओठहरु सधै मुस्कुराईरहेको देख्न पाउ
क्षितिज पारीको विरानो एक्लो देशमा तारा बनेर चम्किरहँदा ।

शुक्रबार, ०९ असोज, २०७७, बिहानको ०७:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर