धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्स, हेल्थ एड र हेल्परहरुले प्रतिष्ठानका उपकुलपति कार्यालय अगाडि बुधबार पनि धर्ना दिएका छन् ।
न्युनतम् सुरक्षा सामाग्री पनि नपाएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । तीन दिनअघि विभिन्न १६ बुँदे माग राखेका उनीहरुले आफ्ना मागको सुनुवाई नभएको भन्दै उपकुलपति डा.ज्ञानेन्द्र गिरीको कार्यलय परिसरमा धर्ना दिएका हुन् ।
बाहिर धर्ना कार्यक्रम जारी रहँदा कार्यलयभित्र भने वार्ता पनि जारी छ । उपकुलपति डा.गिरीसहित अन्य पदाधिकारीहरुले नर्सिङ स्टाफका प्रतिनिधिहरुसँग मागको बिषयमा छलफल गरिरहेका छन् । वार्तामा १० जना प्रतिनिधि गएका छन् ।
संक्रमित विरामीको उपचारमा संलग्नहरुलाई क्वारेन्टिन राख्नुपर्ने, जोखिम भत्ता दिनुपर्ने, पिपिईको व्यवस्था गर्नुपर्ने, बढेको तलब तत्काल दिइनुपर्ने, मास्क र पञ्जा पर्याप्त दिइनुपर्ने, कोरोना विमा गरिनुपर्नेलगायत माग राखेर नर्स, हेल्पर, हेल्थ एडहरु आन्दोलनमा छन् ।
आफुहरु उपचारमा खटिए पनि पिपिई नहुँदा आफूसँगै परिवारमा पनि संक्रमणको जोखिम भएको नर्सहरुले गुनासो गरेका छन् । उनीहरुले चाडो पिपिई उपलब्ध गराउन र विमा गर्न पनि माग गर्दै आएका छन् ।
प्रतिष्ठानका मेट्रोन उपेन्द्र यादवले वार्डको लागि सर्जिकल मास्क र ग्लोब्स भएपनि पिपिईको अभाब रहेको बताउनुभयो । ल्याब र आइसोलेसनमा मात्र फुल पिपिई दिइरहेको उहाँको भनाइ छ ।