विराटनगर । स्रोत खुलाउन नसकेको ४ लाख ५० हजार रुपैयाँ नगदसहित विराटनगरमा एक जना पक्राउ परेका छन्। बरामद रकम अवैध हुण्डी कारोबारसँग सम्बन्धित हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ का ३४ वर्षीय श्यामप्रसाद साह छन्। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार साहलाई आइतबार दिउँसो करिब २ बजे नेपाल–भारत सीमावर्ती क्षेत्र विराटनगर–१७ मटेरुवाबाट पक्राउ गरिएको हो।
भारतबाट नेपालतर्फ ई–साइकलमा आउँदै गरेका साहमाथि शंका लागेपछि अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको टोलीले चेकजाँच गरेको थियो। जाँचका क्रममा उनको साथबाट १ हजार दरका ४ सय ५० थान नेपाली नोट गरी ४ लाख ५० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
डीएसपी मिश्रका अनुसार साहले उक्त रकमको वैध स्रोत खुलाउन नसकेपछि नगद र ई–साइकलसहित नियन्त्रणमा लिइएको हो।
उनीविरुद्धको अनुसन्धानका लागि साहलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। इन्स्पेक्टर प्रवीण घिमिरेको नेतृत्वमा प्रहरीले रकमको स्रोत, नेपाल ल्याउनुको उद्देश्य तथा सम्भावित अवैध आर्थिक कारोबारसँगको सम्बन्धबारे अनुसन्धान गरिरहेको जनाएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।