विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएपछि स्थानीय प्रशासनले पाँचवटा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको झडपका क्रममा प्रहरीको गोली लागेर स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो । सोही क्रममा अन्य आठ जना प्रदर्शनकारी घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको सुरक्षा निकायले जनाएको छ ।
घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाको दक्षिण क्षेत्रमा पर्ने पाँचवटा प्रमुख बजारमा कर्फ्यु लगाउनुभएको हो । कर्फ्यु जारी भएको समयमा सर्वसाधारणलाई हिँडडुल गर्न, भेला हुन, जुलुस निकाल्न तथा कुनै पनि प्रकारका सभा-सम्मेलन गर्न पूर्ण रोक लगाइएको छ ।
साउने सोमबारको अवसरमा बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशीतर्फ जान लागेको एक समूहलाई अर्को समूहले रातिको समयमा होहल्ला भएको भन्दै अवरोध गरेपछि विवाद सुरु भएको थियो । उक्त विवादले उग्र रूप लिँदै हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको स्थानीय प्रशासनको भनाइ छ ।
झडपपछि आइतबार राति अबेर बसेको जिल्ला सुरक्षा समितिको बैठकले थप मानवीय क्षति र सम्भावित दुर्घटना रोक्न हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु लगाउने निर्णय गरेको थियो । प्रशासनले यी बजारहरूका निश्चित सीमानाहरू तोकेर निषेधाज्ञा र कर्फ्युलाई कडाइका साथ लागू गरेको छ ।
हाल कप्तानगञ्ज लगायतका क्षेत्रको अवस्था सामान्य रहे पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता उच्च पारिएको र व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको प्रशासनले जनाएको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।