लोड हुँदैछ...

मेनु

सरकार छोड्न काँग्रेस, मुख्यमन्त्री फेर्न नेकपा तयार नभएपछि कोशीमा सत्ता सहमति कार्यान्वयनमा सकस

सरकार छोड्न काँग्रेस, मुख्यमन्त्री फेर्न नेकपा तयार नभएपछि कोशीमा सत्ता सहमति कार्यान्वयनमा सकस

विराटनगर । प्रदेश सरकारमा सत्ता साझेदारी गर्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएपछि कोशी प्रदेशमा पनि सरकार परिवर्तनको चर्चा सुरु भएको छ । सहमति अनुसार कोशी प्रदेश सरकारको नेतृत्व नेकपा एमाले नै गर्ने छ । यो प्रदेशमा अहिले पनि नेकपा एमालेकै नेतृत्व रहेका कारण वर्तमान मुख्यमन्त्रीलाई नै निरन्तरता दिने वा नयाँ मुख्यमन्त्री नियुक्त हुने भन्ने विषय स्पष्ट भइसकेको छैन ।

यहि अस्पष्टताका बीच वर्तमान सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री उद्धव थापाले तत्काल सरकारबाट नबाहिरिने सन्देश दिएका छन् । उनले भने, ‘मुख्यमन्त्रीको टुंगो भएपछि मात्र कांग्रेसका मन्त्रीहरुले राजीनामा दिनुहुन्छ ।’

नेता थापाको यो भनाइले तत्काल कोशी प्रदेशमा केन्द्रमा भएको सहमति अनुसार सरकारमा अर्को दलसँग साझेदारी भइहाल्ने सम्भावना न्यून देखिएको छ । कांग्रेस संसदीय दलका नेता थापाको भनाइसँग मिल्दोजुल्दो प्रतिक्रिया मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि दिएका छन् । उनले प्रदेशहरुमा नेपाली कम्युनिष्ट पार्टीसँग साझेदारी गरेर जाने सहमति भएको र कसरी अगाडि बढ्ने भन्ने विषयमा एक दुई दिनमा बस्ने पार्टीको सचिवालय बैठकपछि मात्र स्पष्ट हुने बताए ।

नेकपा एमालेभित्र वर्तमान मुख्यमन्त्री कार्कीकै नेतृत्वमा नयाँ सहमति कार्यान्वयन गरेर अगाडि बढ्ने र पार्टी भित्रैबाट नयाँ मुख्यमन्त्री बनाउनु पर्ने दुई फरक धारणाहरु सार्वजनिक भइरहेका छन् । यद्यपि यस विषयमा आधिकारिक दृष्टिकोण भने सार्वजनिक भएको छैन । मुख्यमन्त्री कार्कीले भने, ‘हाम्रो पार्टी प्रदेशमा तीन वटै दल मिलाएर सरकार चलाउने पक्षमा थियो तर विविध कारणले त्यो अवस्था बन्न सकेन, अब परिस्थिति हेर्दा कांग्रेस सरकारबाट बाहिर जाने अवस्था देखिन्छ, सायद उहाँहरुले कुनै निर्णय गर्नुहोला ।’ मुख्यमन्त्री कार्की तत्काल सरकारमा रहेका कांग्रेसका मन्त्रीहरुलाई फिर्ता गरिहाल्ने पक्षमा नरहेको उनको भावभंगीबाट बुझ्न सकिन्थ्यो ।

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीको नेतृत्वमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार बनेको हो । दुई दलबीच भएको सहमति अनुसार अगाडि बढाउने हो भने अब कांग्रेसका मन्त्रीहरुलाई राजीनामा गराएर नयाँ सहमति अनुसार नेकपालाई सरकारमा सामेल गराउने एउटा विकल्प देखिन्छ भने मुख्यमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनको अर्को विकल्प छ । तेस्रो विकल्प केन्द्रमा भएको सहमति अस्वीकार गरेर अगाडि बढ्ने हुनसक्छ । मुख्यमन्त्री कार्की तत्काल पदबाट राजीनामा दिने पक्षमा देखिदैनन् । उनले भने, ‘नयाँ मुख्यमन्त्री बन्ने बाटोमा यो सहमति अगाडि बढ्छ भन्ने मलाई लाग्दैन, एक दुई दिनपछि पार्टीको बैठक बस्छ र कसरी अगाडि जाने हो स्पष्ट हुन्छ । अहिले सरकार फेरबदल आदि विषय जनताले पनि त्यति रुचाइरहेको देखिदैन त्यसैले सहज रुपमै अगाडि बढ्छ होला ।’

यता नेपाली कम्युनिष्ट पार्टीका कोशी प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले पनि वर्तमान सरकारबाट काँग्रेस बाहिरिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने र नेकपाले विश्वासको मत दिने अवस्था नै सहज हुने बताएका छन् । त्यस बाहेकको अन्य अवस्था त्यति सहज नहुने उनको बुझाइ छ । तर नेपाली कांग्रेसले सत्ता गठबन्धनका लागि छलफललाई निरन्तरता दिने भन्ने निर्णय गरेका कारण कोशी प्रदेशमा तत्काल गठबन्धनमा फेरबदल आइहाल्ने अवस्था देखिदैन ।

स्रोतका अनुसार नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली कोशी प्रदेशमा पार्टी भित्रैबाट नयाँ मुख्यमन्त्री बनाएर दुई दलबीचको सहमती कार्यान्वयन गर्ने पक्षमा छन् । तर पार्टी केन्द्रीय समितिका सचिवसमेत रहेका मुख्यमन्त्रीलाई हटाएर पार्टी भित्रैबाट अर्को मुख्यमन्त्री बनाउनु पर्ने उपयुक्त कारण सचिवालय बैठकमा अन्य नेताहरुले माग गर्ने उच्च सम्भावना छ । यस्तो अवस्थामा कोशी प्रदेशमा दुई दलबीचको सहमति कार्यान्वयन सहजै भइहाल्ने अवस्था नहुन सक्छ ।

यसैबीच नेकपा एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले मुख्यमन्त्री फेर्ने विषयमा कुनै निर्णय भइनसकेको र कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको प्रतिक्रिया दिएका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नजिक माएिका कोशीका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य रेवतिरमण भण्डारीले पार्टीको आधिकारिक निर्णय बिना अध्यक्ष वा अरु कसैको मौखिक निर्णयका आधारमा मुख्यमन्त्रीले राजीनामा नदिने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds