लोड हुँदैछ...

मेनु

गोली चलाउनुपर्ने स्थिति थिएन, १० जनालाई ताकेरै गोली हानियो, थप हताहतीको आशंका–सांसद थापा

गोली चलाउनुपर्ने स्थिति थिएन, १० जनालाई ताकेरै गोली हानियो, थप हताहतीको आशंका–सांसद थापा

विराटनगर । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद लालविक्रम थापाले सुनसरीको देवानगञ्जमा प्रहरीले चलाएको गोलीबाट भएको मृत्यु र घाइतेको घटनालाई ुनिर्मम र दुःखदु भन्दै भर्त्सना गरेका छन् । आइतबार रातिदेखि नै घटनास्थलमा सक्रिय सांसद थापाले उक्त परिस्थितिमा कुनै पनि हालतमा गोली चलाउनुपर्ने अवस्था नरहेको दाबी गरे ।

झडपपछि उत्पन्न तनावग्रस्त क्षेत्र कप्तानगञ्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद थापाले प्रहरीले १० जनालाई नै ताकेर गोली हानेको आरोप लगाए । ‘मैले घटनास्थल र घाइतेहरूको अवस्था हेर्दा कसैको छातीमा त कसैको अन्य अङ्गमा ताकेरै गोली प्रहार गरिएको देखिन्छ,’ थापाले भने, ‘दुई समूहबीचको सामान्य विवादलाई साम्य पार्नुको सट्टा सिधै गोली चलाउनु अत्यन्तै खेदजनक छ ।’

थप हताहतीको आशंका
सांसद थापाले प्रहरीले व्यापक रूपमा गोली चलाएको उल्लेख गर्दै घटनास्थल आसपासका खाल्डाखुल्डी र झाडीहरूमा थप मानिसहरू हताहत भएको हुन सक्ने आशंका व्यक्त गरे । ‘गोली लागेर मानिसहरू कता भागे वा कतै ढलेका छन् कि भन्ने डर छ’, उनले भने, ‘मैले प्रहरीलाई पनि भनेको छु, एकपटक राम्रोसँग सर्च गरौँ, कतै हाम्रा नागरिकहरू खाल्डातिर त परेका छैनन् ?’

सत्तारुढ दलकै सांसद भए पनि थापाले जिल्लाको सुरक्षा नेतृत्वको भूमिकाप्रति कडा असन्तुष्टि जनाए । उनले घटनाबारे बुझ्न खोज्दा प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले जिम्मेवार जवाफ नदिएको बताए । ‘मैले सिडिओ साबलाई सोध्दा मलाई थाहा छैन भन्नुहुन्छ, एसपी साबले फोन उठाउनुहुन्न,’ थापाले आक्रोश पोख्दै भने, ूम हिजो साँझ साढे ८ बजेदेखि यहीँ छु, तल्लो तहका प्रहरीसँग समन्वय गरिरहेको छु तर माथिल्लो निकाय गम्भीर देखिएन ।’

सांसद थापाले घाइतेहरूको उपचारका लागि पहल गरिरहेको र गम्भीर अवस्थाका घाइतेलाई थप उपचारका लागि काठमाडौँ लैजानुपर्ने भएमा पनि आफूले समन्वय गर्ने प्रतिबद्धता जनाए । प्रहरीको गोलीबाट ज्यान गुमाएका २४ वर्षीय ओमप्रकाश मेहताको विषयमा निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने उनको माग छ ।

आइतबार राति बोलबम यात्री र अर्को समूहबीच डिजे बजाउने विषयमा भएको विवादले उग्र रूप लिएपछि प्रहरीले गोली चलाएको थियो । सो घटनामा एकको मृत्यु र ८ जना घाइते भएका छन् । हाल सो क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds