विराटनगर । सुनसरीको देवानगन्जस्थित कप्तानगन्जमा दुई पक्षीय विवाद नियन्त्रणमा लिन सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ भने अन्य ९ जनाको शरीरका विभिन्न भागमा गोली (बुलेट) लागेको पाइएको छ ।
आइतबार राति भएको हिंसात्मक झडपमा परी गम्भीर घाइते भएका १० जनामध्ये २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको हो भने शरीरमा गोली बोकेर अस्पताल भर्ना भएका ९ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
सुनसरी प्रहरीका अनुसार झडप नियन्त्रणका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका देवानगन्ज–३ का मेहतालाई आइतबार राति ११ : २५ बजे विराटनगरस्थित न्युरो अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । झडपमा ९ सर्वसाधारण र १३ सुरक्षाकर्मी गरी २२ जना घाइते भएका छन् ।
विराटनगरको न्युरो अस्पतालमा भर्ना भएकामध्ये जयप्रकाश मेहताको पेटमा लागेको गोली शल्यक्रिया गरिएको छ । उपचारमा संलग्न सर्जन डा. सुदिप खनियाका अनुसार एक जनाको शरीरबाट बुलेट लागेका विरामीको शल्यक्रिया गरिएको र अन्य घाइतेहरूको चोटको प्रकृति हेर्दा पनि गोली नै लागेको देखिन्छ । ‘यहाँ उपचाररत अन्य घाइतेहरूको चोट हेर्दा पनि बुलेट जस्तै देखिन्छ, विस्तृत रिपोर्ट आएपछि थप प्रष्ट हुनेछ,’ डा. खनियाले भने ।
न्युरोमा उपचाररत मिथलेश मेहताको पेटको बायाँ भागमा, हरेराम यादवको देब्रे तिघ्रामा र अमलेश मेहताको ढाड तथा गर्दनमा गोली लागेको छ । घाइतेमध्येका मिथलेश स्थानीय अमरसिंह माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । उनका बुबा दिलीप मेहताका अनुसार मिथलेश परिवारको एक्लो छोरा हुन् ।

यस्तै, विराट नर्सिङ होममा उपचाररत रविन्द्र मेहताको देब्रे तिघ्रामा गोली लागेका कारण उनलाई आईसीयूमा राखिएको छ । सोही अस्पतालमा अमित कुमार यादव कम्मरमुनि, सुनिल कुमार मेहता बायाँ पाखुरा र सुनिल मेहता देब्रे पिडुलाको उपचार भइरहेको छ ।
नोबेल अस्पतालमा उपचाररत अमित यादवको पेट र देब्रे हातमा गोली लागेका कारण उनलाई आईसीयूमा राखिएको छ ।
साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै हिँडेको समूहलाई अर्को पक्षले अवरोध गरेपछि आइतबार राति करिब ९ बजे कप्तानगन्जमा तनाव सुरु भएको थियो । सामान्य विवादले उग्र रूप लिँदा दुवै पक्षबीच लाठी, ढुंगा र भाला प्रहार भएको थियो । स्थिति नियन्त्रण बाहिर गएर स्थानीयका घर, पसल र सवारीसाधनमा तोडफोड तथा आगजनीको प्रयास भएपछि सुरक्षाकर्मीले बल प्रयोग गरेको थियो ।
सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार भिडले सुरक्षाकर्मीमाथि नै आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले ३ र सशस्त्र प्रहरीले २२ राउन्ड हवाई फायर गरेका थिए । झडपमा इलाका प्रहरी कार्यालय देवानगन्जका इन्स्पेक्टर राकेश राईको टाउकोमा गम्भीर चोट लागेको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।