लोड हुँदैछ...

मेनु

बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा क्याफे सञ्चालकसहित ५ जना पक्राउ

बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा क्याफे सञ्चालकसहित ५ जना पक्राउ

विराटनगर । मोरङको रंगेलीमा एक बालिकालाई दुई दिनसम्म लगातार विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी र सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मोरङ रंगेली–३ का १८ वर्षीय मोहम्मद अरमान, सुनवर्षी–९ बस्ने २१ वर्षीय सुमन कुमार साह (क्याफे सञ्चालक), रंगेली–७ का २० वर्षीय करण मण्डल, सोही ठाउँका १८ वर्षीय प्रियान्सु साह र रंगेली–६ का १८ वर्षीय रितिक यादव रहेका छन् ।

दुई दिनसम्म दुई फरक क्याफेमा बलात्कार
प्रहरीका अनुसार घटनाको सिलसिला साउन ३ गतेबाट सुरु भएको थियो । साउन ३ गते बिहान ९ बजेतिर मोहम्मद अरमानले सुनवर्षीकी ती बालिकालाई फकाई–फुल्याई रंगेली–७ स्थित युमी क्याफे मा पुर्‍याएका थिए । त्यहाँ अरमान र सोही क्याफेका सञ्चालक सुमन कुमार साहले बालिकालाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

त्यसको भोलिपल्ट अर्थात् साउन ४ गते राति ९ बजेतिर पुनः करण मण्डलले ती बालिकालाई रंगेली–७ स्थित संसारी मन्दिर छेउमा रहेको क्याफेमा पुर्‍याएका थिए । त्यहाँ करण मण्डल, प्रियान्सु साह र रितिक यादवले मिलेर बालिकालाई सामूहिक बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

बालिकामाथि लगातार बलात्कार भएको उजुरी परेपछि जिल्ला र इलाका प्रहरीको संयुक्त टोलीले खोजी कार्य तीव्र पारेको थियो । प्रहरीले साउन १० गते अपराह्न ४ ः१० बजे घटनामा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिन सफल भएको हो ।
मोरङ प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्र कुमार मिश्रका अनुसार पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर थप अनुसन्धान भइरहेको छ । प्रहरीले घटनामा प्रयोग गरिएका स्थान र संलग्न व्यक्तिहरूको सम्बन्धमा अन्य सूक्ष्म प्रमाणहरू पनि संकलन गरिरहेको जनाएको छ ।
बालिकाको स्वास्थ्य परीक्षण र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds