विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति भएको झडपका क्रममा प्रहरीले बल प्रयोग गरेको विरोधमा जिल्लाका विभिन्न स्थानमा प्रदर्शन भएको छ।
दुई समूहबीचको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको भएको थियो भने अन्य नौ जना घाइतेको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि जिल्लाका पाँच स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो। कर्फ्यु उल्लंघन गर्र्दै सोमबार बिहानैदेखि नै विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।
प्रदर्शनका कारण कप्तानगन्ज क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ। सुनसरी सदरमुकाम इनरुवा बजार र लौकही क्षेत्रमा समेत प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले इनरुवा बजार बन्द गराउँदै पूर्व–पश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनका कारण राजमार्गको सुनसरी खण्डमा सवारी आवागमन अवरुद्ध भएको छ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार प्रदर्शनकारीले राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । झडप र प्रहरी कारबाहीका क्रममा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन्। स्थिति थप तनावग्रस्त हुन नदिन कप्तानगन्ज क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिएको छ।
स्थानीय प्रशासनले सर्वसाधारणलाई घरबाहिर ननिस्कन तथा सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ। तर, त्यसलाई अस्वीकार गर्दै युवाहरु प्रदर्शनमा छन् ।
आइतबार रातिको हिंसात्मक झडपपछि लगाइएको कर्फ्यु प्रभावहीन बन्दै गएको छ । कर्फ्यु आदेशको उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएको भिडले स्थानीयका पसलमा तोडफोड र आगजनी सुरु गरेको छ । कर्फ्यु आदेशलाई चुनौती दिँदै चारदेखि पाँच सय जनाको समूह सडकमा उत्रिएको स्थानीयले बताएकाक छन् ।
तत्काल स्थिति नियन्त्रणमा लिन नसकिए थप हिंसात्मक घटना हुन सक्ने जोखिम बढेको सुरक्षा अधिकारीहरूको भनाइ छ । आइतबार रातिकाके घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगन्ज तथा देवानगन्ज बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
कोशी प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी मनीष थापाका अनुसार अवस्था नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली परिचालन गरिएको छ । कोशी प्रदेशका विभिन्न जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा दंगा नियन्त्रणका टोलीहरूलाई पनि कप्तानगन्जतर्फ पठाइएको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।